ओशोधाराको ध्यान योग कार्यक्रम सम्पन्न

Image

काठमाडौं– ओशोधारा नेपालले आयोजना गरेको ३ दिने ध्यान योग कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । पुस २७ देखि २९ गते सञ्चालित उक्त कार्यक्रममा ३० जनाभन्दा बढी नयाँ साधकले नवसंन्यासमा दीक्षा लिएको बताइएको छ । कार्यक्रमको अन्तिम दिन आइतवार विभिन्न योगको अभ्यास गर्दै सहभागी नवसंन्यासीले कार्यक्रमको बारेमा आफ्नो अनुभव सुनाउँदै ओशोधारा नेपाल र आचार्यहरू प्रति आभार व्यक्त गरेका थिए । सहभागीले ओशोधारा नेपालको यस कार्यक्रमलाई निरन्तर दिन र अझै धेरै क्षेत्रमा यसको विस्तारमा लाग्न सुझाव दिएका थिए । साथै सहभागी मध्ये नवसंन्यासी स्वामी प्रेम दीपले भने, ‘यस पूर्व विभिन्न ठाउँमा योग, प्राणायाम ध्यानको बारेमा केही जानकारी र अभ्यास गरेको थिएँ । यस प्रकारको बृहत कार्यक्रममा पहिलो पटक उपस्थित भएको हुँ । यस कार्यक्रमबाट सम्यक दृष्टी, जागृति, योग, ध्यान, समाधीको ज्ञान र अभ्यासमा बढोत्तरी भएको छ । ध्यानबाट आत्मसन्तुष्टी र जीवनलाई सफल बनाउने कला र शीप प्राप्त गरेको छु ।’कार्यक्रममा सहभागी स्वामी प्रेम गगनले ध्यान र प्रज्ञाको अभ्यास गर्नु अगाडिको आफू र यो ३ दिनको कार्यक्रम पछिको आफूमा विकास भएको सकारात्मक ऊर्जा आएको बताए । ‘सबैलाई अनुरोध गर्छु कि यो ध्यान योग कार्यक्रम जुनसुकै तह र तप्काका, जुनसुकै उमेर समूहका व्यक्तिलाई आवश्यक छ,’ उनले भने । कार्यक्रमका अर्का सहभागी मा आनन्द सुमिरनले ३ दिनमा यति धेरै सकारात्मक र जीवन नै नयाँ अनुभूति होला भनेर त मैले कल्पना पनि नगरेको बताइन्। ‘ध्यान, प्रज्ञा र सुमिरनको शक्ति गजबको शक्ति रहेछ, मा करूणा शक्तिले बताइन्, ‘गुरुबाट जुन नाम पाएको छु त्यसअनुसार अध्यात्मलाई अगाडि बढाउन र करूणा र परोपकारलाई फैलाउन ओशोधारा मार्फत म लाग्नेछु।’ त्यसैगरी स्वामी चैतन्य सुमिरनले ध्यान र प्रज्ञाका सूत्रविना जीवनमा आनन्द र सन्तोष नमिल्ने बताए । स्वामी दिव्य प्रेमले जीवनमा यति राम्रो र लाभदायक कार्यक्रम गर्ने अवसर पाएको बताए । ‘पेशाले एक व्यापारी भएपनि जीवनलाई सन्तुलनमा राख्ने जोर बा दि बुद्धको सूत्र मैले भेटें,’ उनले भने । त्यसैगरी स्वामी प्रेम शक्तिले सम्यक स्वीकार र सम्यक ध्यानको कला सिकेको बताए । ‘अब म जीवनलाई सहज र सरल बनाउदै भौतिक र आध्यात्मिक दुबै रूपमा जागृत हुनेछु, ’ उनले भने । साथै अन्य सहभागीले ओशोधारा नेपालको विस्तार र यसले प्रदान गर्ने ध्यान र योगकामलाई सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका थिए। ओशोधारा नेपालका आचार्य सूर्यजीले प्रत्येक शनिवार हुने निशुल्क ध्यान सत्संगमा भक्तपुर ध्यान केन्द्र राधेराधे, चन्द्रागिरी ध्यानकेन्द्र सतुंगल र काठमाडौँ ध्यान केन्द्र ग्राण्डी टावर टोखामा उपस्थित हुन साथै प्रत्येक विहान ओशोधारा नेपालको जुममार्फत हुने अनलाइन ध्यान सत्संगमा जोडिन सबैलाई अनुरोध गरे। उक्त तीन दिवसीय ध्यान योग कार्यक्रममा आचार्य प्रद्युम्न जी, आचार्य जी नम्रता जी, आचार्य पूजारीजीले विभिन्न योग, ध्यान, प्रवचन सहित साधना कला प्रदान गरेका थिए । ओशोधारा नेपालले विगत २३ वर्षदेखि ध्यान, योग, प्रज्ञा मार्फत भौतिक क्षेत्रमा सफल हुने र आध्यात्मिक आनन्द प्राप्त गर्नेगरी विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Tags: