सम्भाव्यता आन्तरिक उत्पादन र व्यापारको

Image

–यामकुमारी खतिवडा | कुनै पनि देशको भौगोलिक सीमाभित्र कच्चा पदार्थ, अर्धप्रशोधित अथवा पूर्णप्रशोधित उत्पादित वस्तु तथा सेवाको एक स्थानबाट अर्काे स्थानमा वा सोही स्थानमै किनबेच गर्ने र आन्तरिक खपत गर्ने विषय आन्तरिक व्यापार हो । राष्ट्रिय सीमाबाहिर दुई वा दुईभन्दा बढी देशहरुबिच हुने व्यापार चाहिँ अन्तर्राष्ट्रिय व्यापार हो । आन्तरिक व्यापारमा भन्सार, कर नलाग्ने कानुनी व्यवस्था हुन्छ । विशेषतः व्यापारसँग नाफाको उद्देश्य जोडिएको हुन्छ । कुनै पनि देशको आर्थिक विकासका लागि व्यापार अत्यन्तै महङ्खवपूर्ण औजार हो । त्यसमा पनि नेपाल जस्तो अल्पविकसित मुलुक जसलाई निकट भविष्यमा नै कम विकसित मुलुकबाट स्तरोन्तति हुन र सन् २०३० सम्मका दिगो विकासका लक्ष्य हासिल गर्न लगानी र व्यापारको अभिवृद्धिविना असम्भव प्रायः देखिन्छ । परम्परागत रुपमा उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग वस्तु विनिमय र उत्पादनको आदान प्रदान वा आफूसँग भएका वस्तु तथा सामग्री साटासाट गर्दै सुरु भएको नेपालको अन्तर्राष्ट्रिय व्यापार मुद्राको कारोबार हुन थालेसँगै क्रमशः व्यवस्थित हुँदै अन्य मुलुकहरुसँग विस्तार हुँदै गएको देखिन्छ । आर्थिक उदारीकरण र विश्वव्यापीकरणको वर्तमान अवस्थामा सूचना प्रविधि र यातायातको सञ्जालमा भएको तीव्र विकासले विश्वको अर्थतन्त्रलाई एकीकृत गराइदिएको छ । वस्तु तथा सेवा, श्रम, पुँजी र प्रविधिको अन्तर्राष्ट्रियस्तरमा निर्वाध र स्वतन्त्र रुपमा हुने गतिविधिले विश्वलाई एउटै व्यापारिक सञ्जालमा आवद्ध गराएको छ । नेपालमा सन् १९९० पछिको आर्थिक उदारीकरण र निजीकरणपछि अन्तर्राष्ट्रिय व्यापारले मूर्तरूप पाउन थालेको हो । साथै, सन् २००४ देखि नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य भइ विश्वव्यापीकरणमा प्रवेश गरेसँगै अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी व्यापारमा होमिएको छ । हाम्रा तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको अन्तर्राष्ट्रियस्तरमा पहुँच बढाइ विश्व व्यापारमा प्रतिस्पर्धी हुन नेपाल प्रयासरत छ । विश्वव्यापीकरणको प्रवेशसँगै व्यापारको दायरा, क्षेत्र र अवसरमा वृद्धि भए तापनि नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता बढाइ अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन नसक्दा नेपालले बर्सेनी ठूलो व्यापार घाटा बेहोर्नुपरेको छ । आर्थिक वर्ष २०७९/८० को व्यापार घाटा नै साढे चौध खर्बभन्दा माथि छ । अघिल्लो वर्षभन्दा यो कम देखिए पनि खाडल धेरै ठूलो छ । आन्तरिक उत्पादन वृद्धि गर्न नसक्दा आन्तरिक व्यापारमा समेत अन्तर्राष्ट्रिय व्यापारको प्रभुत्व रहेको छ । आन्तरिक उत्पादन अत्यन्तै कमजोर रहेकोले देशभित्र रोजगारी सिर्जना गर्न नसक्दा कामको खोजीमा बर्सेनी ठूलो संख्यामा नेपाली जनशक्ति वैदेशिक रोजगारीका लागि पलायन हुँदा देशको अर्थतन्त्र आयात र रेमिट्यान्समा निर्भर हुँदै गएको छ । यसरी एकातिर आन्तरिक उत्पादन बढाउन सकिएको छैन भने अर्काेतर्फ आयातित वस्तु तथा सेवाको पनि न्यायोचित वितरण गराउन सकिएको छैन । आयातको व्यवस्थापन र नियमन गर्न नसक्दा जनतालाई आवश्यक आधारभूत वस्तु तथा सेवा अभाव हुने, कालाबजारी, एकाधिकार र कार्टेलिङको अवस्था सिर्जना भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकासले व्यापारलाई अत्यन्तै सहज बनाएको भए तापनि सूचना प्रविधि र डिजिटल डिभाइडले गर्दा यसको अधिकतम लाभ लिन सकिएको छैन । आन्तरिक उत्पादन बढाउनु, आयात व्यवस्थापन गर्नु, तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका वस्तु तथा सेवाको पहिचान गरी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउनु, उपलब्ध वस्तु तथा सेवाको न्यायोचित वितरण हुनु, व्यापारलाई लगानीसँग जोड्नु, उत्पादित वस्तुको गुणस्तर निर्धारण गर्नु, लगानी र व्यापार मैत्री वातावरण सिर्जना गर्नु आदि उद्योग तथा व्यापार क्षेत्रमा देखिएका चुनौती हुन् । आन्तरिक उत्पादनको सम्भाव्यता र आत्मनिर्भर हुने अवस्था आजको विश्वव्यापीकरणको युगमा कुनै पनि देश पूर्णरुपमा आत्मनिर्भर हुन असम्भव प्रायः देखिन्छ । व्यापारमा तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता हेरिने हुँदा यस्ता वस्तु तथा सेवाको सम्भावनासम्बन्धी थप अध्ययन, अनुसन्धान गर्नु जरुरी छ । कुनै पनि उत्पादनका सम्भाव्यता नभएका कतिपय देशमा समेत लगानी र व्यापारका सम्भावना पहिचान गरी आर्थिक विकास भइरहेका उदाहरण छन् । नेपालमा पनि तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका प्रशस्तै सम्भावना छन् । नेपाल कृषिप्रधान मुलुक भएकाले यहाँको मुख्य सम्भावना नै कृषिमा छ । जग्गा व्यवस्थापन र प्रविधिको प्रयोग गरी एकीकृत खेती प्रणाली, कृषि उत्पादनको विस्तृतीकरण गरी कृषिलाई आधुनिकीकरण गर्दै निर्वाहमुखीबाट व्यावसायिक कृषिमा परिणत गर्नुपर्ने हुन्छ । कृषिमा आधारित उत्पादनको प्रशोधनबाट उद्योगको विकासमा जोड दिनुपर्दछ । भौगोलिक र हावापानीको विविधता भएकाले नेपालमा स्थान अनुसारका कृषिजन्य मुख्य बाली जस्तै धान, मकै, गहुँ, कोदो लगायतका बालीसँगै अदुवा, अलैँची, उखु, चिया, कफी, तोरी, रुद्राक्ष, बोधिचित्त आदि जस्ता नगदे बाली उत्पादन हुने गरेका छन् । यस्ता उत्पादनले आन्तरिक मागलाई सम्बोधन गर्दै निर्यातमा समेत सहयोग पु¥याएका छन् । यस्ता वस्तुको व्यावसायीकरणका लागि वस्तुको उत्पादन, गुणस्तर निर्धारण, बजारीकरणसम्म अग्र र पृष्ठ सम्बन्ध कायम गर्न र उत्पादनमा अनुदान, उत्पादित वस्तुको गुणस्तर निर्धारणका लागि ग्रेडिङ, ब्रान्डिङ, टेस्टिङ, प्याकेजिङ, लेबलिङ जस्ता विषयमा सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । यस्ता उत्पादनलाई प्रशोधन गरी स्थानीयस्तरमा लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा सहयोग पुग्दै स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने देखिन्छ । उदाहरणका लागि विभिन्न किसिमका फलफूल प्रशोधन गरी जुस, टमाटरबाट सस, आलुबाट आलु चिप्स आदि लगायतको उत्पादनमार्फत स्वदेशी माग धान्ने आन्तरिक उत्पादन र व्यापार हुन सक्छ । अर्काे सम्भावना भएको क्षेत्र जडिबुटी र औषधीजन्य पदार्थको हो । नेपालमा कुल भूक्षेत्रको ४३ प्रतिशतभन्दा बढी वन छ । भौगोलिक अवस्थाले पनि उच्च हिमाली र पहाडी क्षेत्रमा पाइने जडिबुटी र औषधीजन्य वनस्पती हाम्रो सम्भावनाको क्षेत्र हो । वनजन्य उद्योगमा जडिबुटीसँगै फर्निचर पनि सम्भावनाको क्षेत्र हो । त्यसैगरी खनिज र खानीजन्य पदार्थ नेपालको अर्काे सम्भावनाको क्षेत्र हो । जस्तै सिमेन्टमा हामी आत्मनिर्भर बन्दै गएका छौँ । आफ्नै गुणस्तरीय चुनढुङ्गाबाट उत्पादित क्लिङ्करमा आधारित गुणस्तरीय सिमेन्ट उत्पादन हुन थालेको छ । त्यसैगरी पेट्रोलियम, युरेनियम लगायत किमती र अर्धकिमती पत्थर पनि नेपालमा उपलब्ध छ भन्ने अध्ययन, अनुसन्धानले देखाएको छ । यस्ता कम तौल र बढी मूल्य भएका खनिजजन्य पदार्थबारे थप अध्ययन, अनुसन्धान गरी प्रशोधनमा जोड दिनुपर्ने देखिन्छ । आन्तरिक उत्पादनको सम्भावना देखिएका वस्तुको कच्चा पदार्थ उपलब्धता, प्रविधिको प्रयोग, वित्तीय तथा गैरवित्तीय सहुलियत उपलब्ध गराई लगानीलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । अर्काे सम्भावनाको क्षेत्र ऊर्जा हो, जसको खपतसँगै निर्यातको पर्याप्तै सम्भावना छ । त्यसैगरी होटल तथा पर्यटन क्षेत्र र सूचना प्रविधिमा आधारित उद्योग अर्काे ठूलो सम्भावनाको क्षेत्र हो । नेपालमा फुटवेयर पनि सस्तो र बलियो उत्पादन हुन थालेको छ भने नेपालको फुटवेयर निर्यातसमेत हुने गरेको छ । स्थानीय कच्चा पदार्थ, सीप, प्रविधि, पुँजी प्रयोग गर्दै नेपालमा रोजगारी सिर्जना गर्ने साना उद्योगबाट उत्पादित उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । सम्भावना भएका क्षेत्रहरुमा आन्तरिक उत्पादन बढाउन व्यापारलाई आन्तरिक उत्पादनसँग जोड्नु पर्दछ जसका लागि आन्तरिक र बाह्य लगानीमा जोड दिनु पर्दछ । हामीलाई आवश्यक नपर्ने कतिपय वस्तुसमेत आयात भइरहेका सन्दर्भमा आयातित वस्तुको पुनरावलोकन गर्नुपर्ने देखिन्छ । आयात गर्नुपर्ने अति आवश्यक, आवश्यक र विलासिताका वस्तु वर्गीकरण गर्दै अनावश्यक वस्तु र नेपालमा उत्पादन र प्रबल सम्भावना भएका वस्तुको आन्तरिक उत्पादन बढाउँदै आयात क्रमशः कम गर्दै जानुपर्ने देखिन्छ । व्यापारमा लगानीमैत्री नीति व्यापार र लगानी एक अर्कामा परिपूरक हुन् । लगानी र उत्पादनविना व्यापार सम्भव नहुने र व्यापार र बजारको सम्भावनाविना उत्पादनको अर्थ नहुने हुँदा व्यापार र लगानीलाई एकसाथ लैजानुपर्ने देखिन्छ । उद्योग र व्यापार क्षेत्रमा निजी क्षेत्रको दख्खल रहने र लगानी नाफामा आधारित हुने भएकोले व्यापार, व्यवसाय र लगानी गर्ने लागत घटाउनेतर्फ जोड दिनुपर्ने हुन्छ । लगानीकर्तालाई विनाझन्झट सहज किसिमले व्यवसाय दर्ता, सञ्चालन र बहिर्गमनको व्यवस्था मिलाउनु पर्दछ । निजी क्षेत्रका समस्या र गुनासा सुनी सम्बोधनका लागि सरकार र निजी क्षेत्रको नियमित संवादको स्थायी संरचनालाई सक्रिय बनाउनु पर्दछ । समय अनुकूल आर्थिक नीतिहरुमा आवश्यक परिमार्जन गर्ने तथा छिमेकी मुलुक र अन्तर्राष्ट्रियस्तरमा लगानी र व्यापार अभिवृद्धिका लागि भएका प्रयासको अध्ययन, अनुसन्धान गरी नेपालमा पनि यस्ता सहजीकरण र सहुलियतका लागि आवश्यक नीतिगत संरचनागत एवं प्रक्रियागत सुधार गरी लगानीमैत्री वातावरण सिर्जना गर्दै व्यावसायिक लागत घटाउन जोड दिनु पर्दछ । आन्तरिक व्यापारको बजार थोरै मात्रामा उत्पादन, पुरानो प्रविधिको प्रयोग, कमसल गुणस्तर आदिका कारण अधिकांश स्वदेशी उत्पादनको उत्पादन लागत बढी हुने हुँदा स्वदेशी उत्पादनले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा तुलनात्मकरुपमा स्वदेशी वस्तुको मूल्य बढी भएकाले बजार नपाएको अवस्था छ । आधुनिक र उपयुक्त प्रविधिको प्रयोग गरेर व्यवस्थित तवरले ठूलो मात्रामा गुणस्तरीय सामान उत्पादनमा जानुपर्ने देखिन्छ । सस्तोमा गुणस्तरीय सामान उत्पादन गर्न सकिएमा आन्तरिक खपत र छिमेकी ठूला बजार चीन र भारतसम्म पु¥याउन पनि सकिन्छ । उत्पादन र व्यापारका लागि न्यूनतम आधारभूत पूर्वाधार जस्तो कि सुविधासम्पन्न औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, वस्तु विशेष औद्योगिक क्षेत्र स्थापना र सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ । यस्ता क्षेत्रबिचको आपसी सम्बन्ध कायम गरी उपकरारको माध्यमबाट बजार विस्तारीकरण र मूल्यशृङ्खला कायम गरिनु पर्दछ । त्यसैगरी आन्तरिक व्यापार विस्तारका लागि स्थानीय तहहरुबिच र प्रदेश तहहरुबिच व्यापार प्रवद्र्धनमा जोड दिनु पर्दछ । उद्योग व्यवसायको दर्ता, सञ्चालन, नवीकरण र बहिर्गमनको प्रक्रियालाई सरलीकृत गर्दै प्रत्यक्ष विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने देखिन्छ । लगानी सम्बन्धी सेवा तथा सुविधा एकै स्थानबाट उपलब्ध गराउने गरी एकलविन्दु सेवा केन्द्रलाई पूर्णरुपमा विद्युतीय प्रणालीमा आबद्ध गरी सञ्चालन गर्नु पर्दछ । लगानी र व्यापारिक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी लाभान्वित हुन जरुरी छ । त्यसैगरी विश्वव्यापीकरणमा प्रवेश गरेसँगै नेपाललाई अति कम विकसित राष्ट्रको हैसियतमा प्राप्त हुने अवसरलाई पूर्णरुपमा उपयोग गरी हाम्रा वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन पहल गर्नुपर्ने देखिन्छ । देशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदानमध्ये लघु, घरेलु तथा साना उद्योगको योगदान ९० प्रतिशतभन्दा बढी रहेको सन्दर्भमा यस्ता साना उद्योगलाई प्रवद्र्धनका लागि सहुलियतपूर्ण ऋण, प्रविधि सहयोग गरिनुका साथै छरिएर रहेको पुँजीलाई एकीकृत गरी लगानी गर्न राष्ट्रिय ‘स्टार्टअप नीति’ तर्जुमा गर्नुपर्ने देखिन्छ । स्थानीय तह, संघ, प्रदेशका सार्वजनिक क्षेत्रका कार्यालय स्वदेशी वस्तु उपयोगको धेरै ठूलो बजार हो । सार्वजनिक खरिद ऐन परिमार्जन गरी स्वदेशी वस्तु खरिद प्रक्रियालाई प्रवद्र्धन गरिदिनु पर्दछ । फर्निचर, हाते कागज, स्टेसनरी, स्कुल, कलेज, सेना प्रहरी, कर्मचारीले लगाउने पोसाक लगायतका नेपाली उत्पादनको प्रयोगलाई व्यवस्थित र नियमन गर्न सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी निर्देशिका परिमार्जन गरी तत्काल कार्यान्वयन गर्नुपर्ने देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत अन्य ठूला विमानस्थल र प्रदेशस्तरीय नेपाली उत्पादनका कोशेली घर स्थापना गरी प्रदेशस्तरीय सामानको बजारीकरणको प्रबन्ध गर्नु पर्दछ । राजमार्गका बस बिसौनीमा जिल्ला जिल्लामा उत्पादित स्थानीय उत्पादन किन्नसक्ने व्यवस्था गर्न सकिन्छ । त्यसैगरी विदेशीलाई पूर्णरुपमा नेपाली सामानको उपहार, विदेशीले किन्न सक्ने गरी महङ्खवपूर्ण पर्यटकीय क्षेत्रमा स्वदेशी उत्पादन अर्थात् मेड इन नेपाल नामक उत्पादनका ठूला बिक्री कक्ष, मेड इन नेपाल सेन्टर जस्ता पूर्वाधार निर्माण र सञ्चालन गर्नु पर्दछ । सङ्क्षेपमा भन्दा नेपालमा तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको थप अध्ययन गरी यस्ता वस्तुको उत्पादन र बजारीकरणमा जोड दिनुपर्ने देखिन्छ । स्वदेशी तथा विदेशी लगानी अभिवृद्धि गर्न लगानीमैत्री वातावरण सिर्जना गर्दै ‘डुइङ बिजनेस कस्ट’ घटाउन आवश्यक नीतिगत, संस्थागत र प्रक्रियागत सुधार एवं सरलीकरण गरी उत्पादन वृद्धिमा जोड दिनु पर्दछ । आयात व्यवस्थापनका लागि आयातित वस्तुको पुनरवलोकन गर्दै अनावश्यक वस्तुको सूची हटाउने, नेपालमै उत्पादन हुनसक्ने वस्तुको आन्तरिक उत्पादनमा जोड दिँदै यस्ता वस्तुको आयात क्रमशः कम गर्दै जानु पर्दछ । स्वदेशी वस्तुको उत्पादनमा प्रवद्र्धन गर्न उत्पादकलाई मौद्रिक, वित्तीय, तथा गैरवित्तीय सहुलियत प्रदान गर्नुका साथै यस्ता वस्तुका कच्चापदार्थ, आयातको भन्सार महसुल लगायत उत्पादित वस्तुको करमा पनि सहुलियतपूर्ण व्यवस्था गरिनु पर्दछ । उद्योग ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रको सञ्चालन र आपसी लिङ्केजको व्यवस्था गरी अगाडि बढाउनु पर्दछ । औद्योगिक, व्यापारिक पूर्वाधार निर्माण, लगानी र व्यापारका सबै अवरोध हटाउन राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रयास, द्विपक्षीय र बहुपक्षीय सम्झौता, आपसी छलफल एवं वार्तामा जोड दिनुपर्ने देखिन्छ । – खतिवडा नेपाल सरकारका पूर्वसचिव हुन् । (नेपाल आर्थिक पत्रकार समाज–सेजनको स्मारिका ‘अर्थनीति’बाट)    

Tags: