महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति हुने

Image
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं ७ मा रहेको महानगरीय प्रहरी प्रभाग काँडाघारीको स्तरोन्नति गर्न स्थानीयवासीले माग गरेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पात्राचार गरेको छ । नगरपालिकाको एक लाख ३३ हजार जनसङ्ख्यामध्ये आधा जनसङ्ख्या रहेको वडा नं ७, ८ र ९ को शान्ति सुरक्षा हेर्ने प्रभागमा जनशक्ति कम हुँदा शान्ति सुरक्षामा प्रभाव परेको भन्दै तत्कालीन नगरप्रमुख कृष्णहरि थापाले गृहमन्त्रालयलाई पत्र लेख्दै यस्तो माग गरेका थिए । मागबमोजिम मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रभाग स्तरोन्नतिको आवश्यक व्यवस्था गर्न पत्राचार गरेको हो । नगरपालिकासँगै नागेश्वर वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाशगम्भीरसिंह रायमाझीले गृहमन्त्री लाई लेखेको पत्रमा प्रहरी निरीक्षकको नेतृत्वमा जनशक्ति बढाउन माग गरिएको थियो । घना र अव्यवस्थित बस्ती भएकाले सीमित जनशक्तिले गस्तीसमेत गर्न नसक्दा शान्ति सुरक्षामा समस्या भएको स्थानीयवासी एवं समाजसेवी रायमाझीले बताए । रायमाझीको नेतृत्वमा यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम गराउने उद्देश्यले प्रहरी प्रभाग स्थापना भएको थियो । यस स्थलमा प्राचीन सम्पदाका रूपमा नागेश्वर मन्दिरको स्थापना भएपछि त्यसको सुरक्षाका लागि पुरातत्व विभागको समेत समन्वयमा प्रहरी प्रभाग स्थापना भएको हो । मन्दिरमा सोमबार, शनिबार एवं विभिन्न पर्वका अवसरमा भक्तजनको भीड लाग्ने गर्छ । कार्यान्वयनगर्न ढिला भएपछि सो सन्दर्भमा रायमाझीले अर्थमन्त्रालयमा समेत अनुरोध गरेको र आगामी आर्थिक वर्षबाट अर्थमन्त्रालयले स्तर उन्नतिको सहमति दिने जानकारी आएको बताए। उनले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई पनि भेटेर प्रक्रिया अगाडि बढाउन विलम्ब नगर्न अनुरोध गरिएको बताए । सो भेटमा प्रहरी महानिरीक्षकले आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने वचन पाएको समाजसेवी रायमाझीले जानकारी दिए।    
Tags: