जलवायु परिवर्तनको असर न्यूनिकरणमा सार्कलाई क्रियाशील बनाउन राष्ट्रपतिको जोड

Image
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको सो शिष्टाचार भेटवार्तामा राष्ट्रपति पौडेलले सार्कको मुख्य उद्येश्यसँगै अहिले देखापरेको जलवायु परिवर्तनका असरका कारण हिन्दकुश हिमालय पर्वत क्षेत्रमा हिमाल बचाउनुपर्ने र पानीको स्रोत जोगाउनुपर्ने नयाँ चुनौती थपिएको उल्लेख गर्दै यो चुनौती सामना गर्न सार्क क्रियाशील हुन जरुरी रहेको धारणा व्यक्त गरे । उनले यस क्षेत्रमा एक दशमलव नौ अर्व भन्दा बढी जनता बसोबास गर्ने भएकाले तीनको जनजीवन सहज तुल्याउन सार्क मुलुकहरुले साझा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन न्यूनिकरणका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनले नेपाल सार्क वडापत्रमा अन्तरनिहित सिद्धान्त एवम् लक्ष्यप्रति सदैव प्रतिवद्ध रहँदै आएको तथा दक्षिण एशियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति एवम् सांस्कृतिक विकासलाई तिव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गरेका थिए । उनले अवरुद्ध सार्क शिखर सम्मेलन आयोजना गर्न छिट्टै सहमति जुटने आशा पनि व्यक्त गरेका थिए । सार्क महासचिवले सरवारले जलवायु परिवर्तनको नयाँ चुनौती सामना गर्न सार्क सदस्यहरुबीच एक आपसमा सहयोग आदानाप्रदानका लागि सचिवालय क्रियाशील रहने उल्लेख गरेका थिए ।
Tags: