भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन सम्पन्न

Image
चितवन – भरतपुर महानगरपालिकाको १४ औँ नगर अधिवेशन पर्यटकीय नगरी गोलाघाटमा समपन्न भएको छ । नगरसभाको अर्धवार्षिक कार्य प्रगतिको समीक्षा एंव पुरक बजेट र केही ऐन संशोधन लगायतका प्रस्ताव सहित अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले क्षेत्रगत कार्यक्रम मध्येबाट ४५ वटा योजनालाई संशोधन गरेर बजेट रकामन्तर गरेको छ । रकामान्तरण भएका योजना मध्ये सडक, ढल, धार्मिक मठ मन्दिर, चोक सुधार कार्यक्रम, मानव सेवा लगायतका शिर्षक रहेका छन् । नगरसभाले सार्वजनिक निजि साझेदारी अवधारणलाई संशोधन गरेको छ । ९ करोड ३ लाख रुपैयाँको पूरक बजेट पारित गरेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । अधिवेशनले भरतपुर भ्रमण नयाँ मिति समेत पारित गरेको छ । अधिवेशनलाई यसअघिको भ्रमण वर्ष सर्नुका कारण बारे महानगर प्रमुख दाहालले नगरसभामा जानकारी गराएकी थिइन् । उनले नारायणगढ मुग्लिनको सडक, भरतपुरको मुख्य राजमार्गका कारण भ्रमण वर्षको समय सार्नुपरेको बताइन् । ‘गोन्द्राङ–नारायणगढ सडक निर्माण भइरहेको छ । भरतपुरको प्रवेश द्वारमा नै धुलो भएपछि स्थगित गर्नुपरेको हो,’ उनले भनिन्। ‘निर्माण कम्पनीसँग फागुन १८ गतेसम्म सडक निर्माण गर्ने सहमति भएपछि नयाँ मिति तोकिएको हो ।’ मेघौलीको गोलाघाट भरतपुरको प्रमुख पर्यटकीय नगरी भएकाले यसलाई थप प्रचार गर्ने उद्देश्यले अधिवेशन गोलाघाटमा राखको उनले जानकारी दिइन् । नगर सभालाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरको विकासमा दीर्घकालीन महत्व राख्ने आयोजनाहरू–महानगरीय रिङ रोड र लिङ्क रोड सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, पुल्चोक गोन्द्राङ ६ लेनको सडक, बाइपास रोड र हुलाकी मार्ग विस्तार, शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा र चौकीडाँडा खानेपानी आयोजना लगायतका महत्त्वपूर्ण पूर्वाधार विकासका आयोजनाहरूमध्ये केही सम्पन्न भइसकेको बताइन् । यसका अतिरिक्त नारायणी तटलाई सि–बिच मोडलमा विकास, नारायणी नदीको तटबन्ध, नारायणी नदी नियन्त्रण आयोजना, भरतपुर विमानस्थलको विस्तार तथा मेघौली विमानस्थलको स्तरोन्नति, नारायणी नदीमा सिग्नेचर ब्रिज निर्माण, ज्ञानेश्वर सामुदायिक वन परिसरमा ओपन जु तथा वडा नं. ६ मा वन्यजन्तु उद्दार केन्द्र निर्माण जस्ता दूरगामी महत्व र बृहत लगानीका आयोजना अगाडि बढिरहेका जानकारी दिइन् । संघ, प्रदेश र हाम्रो लगानीमा महानगरको प्रशासनिक भवनको निर्माण कार्य पनि द्रुत गतिले अगाडि बढिरहेको छ भने नेपाल ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक दियालो बंगलालाई भरतपुर भ्रमण वर्षको सन्दर्भ पारी पर्यटनका लागी अवलोकनका व्यवस्था मिलाइएको उनले बताइन् । उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनिमास्ट बत्ती गरी ८० किमि सडकमा जडान भैसकेको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा दोस्रो प्याकेजको सम्झौता भई कार्य प्रारम्भ हुने चरणमा रहेको उनले उल्लेख गरिन् । ‘हरित उर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीति अनुरुप नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा थप चार्जिङ स्टेशनका लागि जग्गा व्यवस्थापन गरिएको र महानगरले विद्युतीय सवारी साधन खरिद गर्ने नीति अवलम्बन गर्दै इ(स्कुटर खरिद गर्ने प्रक्रियालाई अगाडि बढाइएको छ । महानगरभित्र विद्युतीय बस सहित गुणस्तरीय र सुरक्षित यातायात सेवाको लागि प्रारम्भिक अध्ययन भइरहेको प्रमुख दाहालले बताइन्। उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए । उनले चालू आर्थिक वर्षको लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको स्पष्ट पारे । बजेट शीर्षक तथा उपशीर्षक अन्तर्गत श्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाई राष्ट्रको विकासमा टेवा पु¥याउन,साधन–स्रोत, अवसर र क्षमताको विकास तथा उच्चतम उपयोग गरी समृद्ध महानगर बनाउन, सेवा प्रवाहलाइ सरल तथा प्रभावकारी बनाउन, र वित्त विश्लेषणमार्फत जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पूरक बजेट ल्याइएको अधिकारीले बताए । महानगरले आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो। जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजार हजारमा पुस मसान्तसम्ममा ७९ करोड १ लाख १९ हजार(३० प्रतिशत) खर्च भएको छ । पूँजिगत खर्चतर्फ विनियोजित रु ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पौष मसान्तसम्म रु ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्व ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म रु ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन भएको छ । आ.व. २०७९/८० बाट आ.व. २०८०/८१ मा अल्या गरेर ल्याएको रकम रु १ अर्ब २६ करोड ४४ लाख सञ्चितकोषमा रहेको छ । आ.व. ८०/८१ मा भुक्तानी दिन बाँकी तथा क्रमागत एवं अधुरो योजना समेतको लागि एकमुष्ट रु १ अर्ब ६५ करोड आ.व. २०७९/८० मा बैंक मौज्दात रहेको रकमबाट खर्च हुने प्रक्षेपण गरिएको थियो । तर आ.व. २०८०/८१ मा वास्तविक भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न रु १ अर्ब २४ करोड ४४ लाख देखिएकोले रु २ करोड भुक्तानी बाँकी तथा क्रमागत योजना बजेट उपशीर्षकमा मौज्दात रहने देखिन्छ ।
Tags: