उद्यमशीलताप्रति उत्साह र आवश्यकता

Image

–मनिष झा | बाल्यकालमा बुवाले भन्ने गर्नुहुन्थ्यो, बाबु मान्छेमा कम्तीमा चार सीप हुनुपर्छ है । ती थिए ः १) खाना पकाउने, २) सवारी साधन चलाउने, ३) पौडिन सक्ने र ४) आफ्नो सुरक्षाका लागि लडाइँ गर्न सक्ने । बुवा सार्वजनिक संस्थानमा काम गर्नुहुन्थ्यो र आमा सिलाइ बुनाइको सीप सिकाउने तालिम केन्द्र सञ्चालन गर्नुहुन्थ्यो । हामीलाई खाना पकाउने सिप सिकाउनु भएको हुनाले बुवा–आमा काममा व्यस्त हुँदा हामी आफै पकाएर खाने र बुवा–आमाका लागि पनि तयार गर्ने काम गथ्र्यौं । अहिले म भने मेरो छोराबाट त्यो अपेक्षा गर्दिनँ, किनकि प्राथमिकता परिवर्तन भएका छन् । जसरी मेरा हजुरबुवाको जे जति सिप थियो मेरा बुवाको बेलामा त्यति मात्र पर्याप्त रहेन र मेरो बेला मेरो बुवाको जे जति सिप र सम्पर्क थियो त्यत्तिले नै पुग्दैन थियो । मेरो सन्तानका बेला त्यतिले नपुग्ला । आज मैले मेरा सन्तानलाई थप नयाँ सिप र सम्बन्धको तालिम दिनुपर्छ । व्यक्तिगत जीवनमा व्यक्तिगत सिप र सम्पर्क पुस्ता फरक परे झैँ फरक देशको अर्थतन्त्रमा पनि योगदान गर्ने नयाँ क्षेत्र र नयाँ साझेदार आवश्यक पर्छ । त्यसरी नै देशको अर्थतन्त्रमा पनि नयाँ क्षमता र नयाँ साझेदार आवश्यक पर्छ । तर नेपालको अर्थतन्त्रमा नयाँ क्षमता र नयाँ साझेदार नआएको धेरै भयो । कृषि प्रधान देश भन्छौँ, ६०% जनशक्ति यसमा संलग्न छ भन्ने सुन्छौँ तर कुल ग्रार्हस्थ उत्पादनमा यसको योगदान २४% मात्र छ । हाम्रो कुल ग्राहस्थ आम्दानीमा केवल रेमिटेन्स क्षेत्रको योगदान बढिरहेको छ, अरू सबै क्षेत्रको योगदान घटिरहेको छ । उद्योग तथा कल कारखानाको योगदान लगभग ९% पुग्न लागेको थियो, जुन अहिले लगभग ४% मा झरेको छ । यो किन हुन्छ ? माथि पृष्ठभूमिमा भनिएको झैँ, जसरी व्यक्तित्व विकासका लागि पुस्तै पिच्छे व्यक्तिगत क्षमता र सम्पर्कमा परिवर्तन आवश्यक हुन्छ, त्यसरी नै अर्थतन्त्रमा पनि नयाँ क्षेत्र र नयाँ साझेदारको आवश्यकता हुन्छ । त्यो भएन । केही उदाहरण विभिन्न अध्ययन अनुसार जुन देशमा नवप्रवर्तन (इन्नोभेसन) (नयाँ वा उल्लेखनीय रुपमा सुधारिएको उत्पादन, प्रक्रिया वा विधिको परिचय) को महङ्खव हुन्छ, जहाँ नयाँ अविष्कारको राज्य र समाजले सम्मान र सुरक्षा गर्छ त्यस देशमा अर्थतन्त्रमा नयाँ नयाँ आयाम आउँछ र नयाँ साझेदार पनि हुन्छन् । अहिले चीन सबैभन्दा धेरै वार्षिक प्याटेन्ट दर्ता गर्ने देश हो, त्यस वर्ष मात्र छ लाख ९५ हजार चार सय दर्ता भएका छन् । त्यसपछि अमेरिकामा नयाँ अविष्कारको दर्ता हुन्छ । जापान तेस्रो मुलुकमा पर्छ । नवप्रवर्तन सूचकले विदेशी बासिन्दाको स्वामित्वमा रहेको पेटेन्टको अनुपात र प्रविधि क्षेत्रमा प्रत्येक उद्योगमा प्याटेन्ट आवेदनको संख्या समावेश गर्दछ । आर्थिक सूचकले जिडिपी, कुल राष्ट्रिय आय, श्रम लागत, अनुसन्धान र विकास खर्च, वास्तविक न्यूनतम ज्याला, कर राजस्व, र शिक्षा नामाङ्कन समावेश गर्दछ । स्टेट्स डट ओइसिडी डट आरजीबाट २०० देखि २०१० सम्म सङ्कलन गरिएको ओइसिडी देशहरुको तथ्यांक प्रयोग गरेर विश्लेषण गरिएको छ । नतिजाले कम कुल गार्हस्थ्य उत्पादन भएका देश नवप्रवर्तनका लागि विदेशी सहयोगमा निर्भर भएको देखाएको छ । शिक्षा नामाङ्कनले नवीनतालाई उत्तेजित गर्ने क्षेत्रहरुमध्ये, सरकारी र उच्च शिक्षामा निजी र गैरलाभकारी क्षेत्रहरुभन्दा बढी अनुसन्धान र विकास खर्च रहेको पनि देखाएको छ । हाम्रो कृषि उत्पादनमा निर्भर जनसंख्या र कुल ग्रार्हस्थ उत्पादनमा योगदानको अनुपातमा कृषिमा अनुसन्धान र नयाँ प्रयोग हुन सकिरहेको छैन । हामीले एक बिघामा जति उत्पादन गर्छौं त्योभन्दा धेरै उत्पादन भुटान, भारत र बङ्गलादेशमा हुन्छ तर पनि हामी जानकार मुकदर्शक मात्र छौँ । समाधानका लागि लगानी गरिरहेको छैनौँ । कृषिमा अनुसधानका लागि हाम्रो लगानी कृषि बजेटको ०–१९% मात्र छ ।भारतले सूचना प्रविधिमा, जर्मनीले ठूला मेसिनरीमा, चीनले सानो मेसिनमा, अमेरिकाले सूचना प्रविधिमा, बङ्गलादेशले गार्मेन्टमा जसरी बिस्तारै नयाँ प्रयोग गरे र त्यसको संस्थागत विकास गर्दै गरे हामीसँग त्यसरी नै पर्यटन, सीमित र विशेष कृषि उत्पादन र सफ्टवेयरको विकास एक मौकाको रुपमा देखिएको छ । हामीले गर्ने व्यवसाय दूरी र वजनबाहेकको हुनुपर्ने देखिन्छ । समस्या संस्थागत अभ्यासको नेपालमा हालैको तथ्यांकले दैनिक लगभग ७० वटा कम्पनी दर्ता हुने र ४ वटा बन्द हुने गरेको देखाएकोछ । दर्ता हुने र बन्द हुने तथ्यांक दुबै आफैमा हालसम्मकै उच्च हो तर अहिलेको हाम्रो देशको चुनौती भनेको संस्थाको संख्या होइन, तिनको संस्थागत अभ्यास हो । सन् १९३७ मा भन्नाले आजभन्दा ८४ वर्ष पहिले नेपालमा देशको पहिलो बैंक स्थापना भयो, तर आज पनि हामी बैंकको आधारभूत व्यावहारिक प्रक्रिया र नीतिबारेमा अन्योलमै छौँ । बैंक कसले वा कसका लागि सञ्चालन गर्ने भन्ने कुराको नै इमानदारीपूर्ण अभ्यास छैन । देशको पहिलो विश्वविद्यालय आजभन्दा ६४ वर्ष पहिले सन् १९५९ मा स्थापना भयो तर आज पनि संस्थागत विधि र पद्धति अनुरूप चल्न सकेको छैन । को किन नियुक्तिमा पुग्छ ? पुगेर के गर्छ ? र कसले किन ताला लगाउँछ ? थाहै हुन्न । आजभन्दा १०० वर्ष पहिले नेपालको निजी क्षेत्रको पहिलो संस्था दर्ता भयो र आजभन्दा ८४ वर्ष पहिले नै नेपालमा पहिलो वैदेशिक लगानी भित्रियो, विराटनगर जुट मिलमा । तर आज पनि कुनै विदेशीले नेपालमा लगानी गर्ने विचार गर्दा हामी उत्साह थप्ने विधि र पद्धतिको अभ्यासमा छैनौँ । अर्थतन्त्रको इतिहास हुँदाहुँदै हामीमा विधि र पद्धतिको अभ्यास किन छैन भने, हामीले नवप्रवर्तन र अनुसन्धानमा खर्च नै गर्न जानेनौँ बरु तदर्थवादमा रमाउन थाल्यौँ । आज विश्वका समाजले गम्भीर आर्थिक र सामाजिक चुनौतीको सामना गरिरहेका छन् । विश्वमा सन् २००८–०९ को आर्थिक मन्दीले वृद्धि घट्यो, बेरोजगारी बढ्यो र सार्वजनिक ऋण बढ्यो । पुनः प्राप्ति गर्न, देशहरुले विकासको नयाँ र दिगो स्रोत खोज्नु आवश्यक छ । नवप्रवर्तन आर्थिक वृद्धि र उत्पादकता बढाउने कुञ्जी हो ।अनुसन्धान र विकासका साथमा हुने नवप्रवर्तनको प्रभाव धेरै फराकिलो हुन्छ र कारकहरुको फराकिलो दायराबाट प्रभावित हुन्छ । हाम्रो अर्थतन्त्र पटक पटक मारमा परेको हामीले देखेको छौँ ः १२ वर्षको द्वन्द्व, आन्दोलन, भूकम्प, आर्थिक नाकाबन्दी र कोभिडको महामारी र अहिलेको व्यवस्थाको सन्तुलनमा कमजोरीको मूल्य । तर हरेक पटक हाम्रो कमजोरी के रह्यो भने, हामी फेरि पहिलेकै स्थानमा फर्किन खोज्यौँ, सङ्क्रमणको मौकामा नयाँपनको अभ्यास गर्ने जोखिम लिएनौँ । कोभिड बन्दाबन्दीताका न्युयोर्कका गभर्नर एन्द्रु कुमो दैनिक पत्रकारसँग साक्षात्कार गर्थे । एकदिन एक पत्रकारले सोधे, ‘अब हामी कहिले सामान्य अवस्थामा पुग्छौँ ?’ उनले भने ‘हामी सामान्य अवस्थामा त ढिलो चाँडो पुग्छौ तर त्यो सामान्यताको नयाँ पारीभाषा हुनेछ । यो प्रकृतिको देन हो, परिवर्तन हुन सन्देश दिएको हो ।’ नेपालको हकमा भने हाम्रा लागि सामान्यता भनेको सधैँ सङ्क्रमणभन्दा विगतको झैँ अभ्यास भयो । हामीले नयाँ अभ्यास अवलम्बन गर्ने जोखिम लिएनौँ र सधैँ त्यही अड्कियौँ । जसरी फिनल्यान्डको अर्थतन्त्र निकै कमजोर थियो । दोस्रो विश्वयुद्धले गरेको नोक्सानीलाई पाठ र मौकाका रुपमा प्रयोग गरेर उसले नयाँ पाटो अबलम्बन ग¥यो, पुरानो वा सामान्यतातिर फर्किएन । आज फिनल्यान्ड नवप्रवर्तनका लागि सबैभन्दा राम्रा देशमध्ये पर्छ । सङ्कटमोचनको बाटो नवप्रवर्तनले आर्थिक पुनरुत्थानलाई गति दिन र देशहरुलाई दिगो वृद्धिको बाटोमा लैजान मदत गर्नसक्छ । नवप्रवर्तनले अवसरहरु पत्ता लगाउन सघाउँछ, जुन अवस्थित वा समयमै देखापर्ने सम्भावना छ, विद्यमान व्यापार प्रक्रिया र कार्यकुशलता सुधार गर्ने अभ्यासमा ध्यान केन्द्रित गर्न, सम्भावित ग्राहक खोज्न, घाटा कम गर्न, र नाफा बढाउन सिकाउँछ । नवप्रवर्तन प्रविधि विकास र आर्थिक वृद्धिको प्रमुख चालक हो । यसले वर्तमान बजारको माग र भावी बजारको सम्भावित आवश्यकता पूरा गर्ने माध्यम प्रदान गर्दछ । हालको बजारमा सजिलै उपलब्ध हुने थप प्रभावकारी उत्पादन, प्रक्रिया, सेवा वा प्रविधिद्वारा नवआधार हासिल गरिन्छ । आर्थिक वृद्धिको प्रमुख कारकका रुपमा नवप्रवर्तनबारे राष्ट्रिय नीति निर्मातामा आवश्यक चेतना नरहनु पनि दुःखद कुरा छ । नेपाल जस्तो विकासशील अर्थतन्त्रका लागि नवप्रवर्तनका फरक फरक प्रभाव छन् । हामीले विभिन्न अर्थतन्त्रमा नवीनता मापन गर्न उपकरण विकास गर्नु महङ्खवपूर्ण हुन्छ । वित्तीय, औद्योगिक, आर्थिक र सामाजिक सूचकमा इनोभेसन र अनुसन्धानको आवश्यकता र प्रभाव अपरिहार्य छ । तर फेरि स्मरण रहोस् इनोभेसन भनेको संख्यागत रुपमा संस्था बढाउने होइन, रहेको संस्थामा संस्थागत अभ्यास बढाउने हो । नराइजमा स्वरोजगारी ९५.४% रहेको छ, जुन विश्वको सबैभन्दा धेरै हो तर अर्थतन्त्रको आकार १४ अर्ब अमेरिकी डलरको र प्रति व्यक्ति आय १३०० डलरको छ । कतारमा स्वरोजगार केवल ०.४% छ तर अर्थतन्त्र १७९ अर्ब र प्रति व्यक्ति आय एक लाख चार हजार अमेरिकी डलर छ किनकि नराइजमा स्वरोजगार त छ तर अर्थतन्त्रको नयाँ साझेदार र निर्यात छैन । नेपालमा हालै आइआइडिएसद्वारा गरिएको एक अनुसन्धानले गत वर्ष नेपालले लग्भग ६५ अर्ब बराबरको सफ्टबेर बेचेको प्रतिवेदन सार्वजनिक भएको छ । त्यो के कुराको सूचक पनि हो भने नेपालको अर्थतन्त्रमा यो योगदान गर्ने एक नयाँ क्षेत्र हुनसक्छ । तर यसरी नयाँ सम्भावना बोकेको क्षेत्र आउँदै गर्दा सरकारले के कस्तो पूर्वाधार र नीतिगत सहयोग गर्नसक्छ भन्ने प्रश्न उठ्छ । नियमन गर्न सकिन्न भनेर नेपालमा माइक्रो ब्रुअरी खोल्न दिइएन, नियमन र नियन्त्रण गर्न सकिएन भनेर टिकटक बन्द गर्ने निर्णय भयो, यो भनेको आफ्नो सम्भावनाको आकार घटाउने निर्णय मात्र हो । सन् १९६७ देखि १९७५ सम्म भारत सरकारले भारतमा सूचना प्रविधिले अर्थतन्त्रमा योगदान पु¥याउने सम्भावना देख्यो र टाटा कन्सल्टिङ समूहलगायतको सुरुवात भयो । त्यसको दुई दशकपछि यो भारतको अर्थतन्त्रको प्रमुख अङ्ग हुन पुग्यो । त्यसरी नै बङ्गलादेशले सन् १९८० देखि गार्मेन्ट उद्योगमा लगानी गरेर राजनीतिभन्दा अलग राख्यो । त्यसको २५ वर्षपछि सूचना प्रविधिलाई नयाँ सम्भावनाको क्षेत्रको रुपमा विकास ग¥यो । आज एक सबल राष्ट्रको रुपमा उदाउँदै गरेको टर्किएले पनि सन् १९८० देखि तीन प्रमुख उद्देश्य ः आर्थिक स्थिरता, आयातभन्दा निर्यातमुखी अर्थतन्त्र र बजार केन्द्रित अर्थतन्त्र लिएर आफ्नो अर्थतन्त्र सुधार ग¥यो । जसरी आज नेपाली कामदार खाडी जाँदैछन् त्यसरी नै टर्किएबाट फ्रान्स अस्ट्रिया जान्थे तर सन् १९८० देखिको नयाँ आर्थिक नीतिले वैदेशिक रोजगारिमा रहेको टर्किएका नागरिकलाई त्यहाँको केवल रेमिटेन्स पठाउने मात्र होइन सरकारले व्यापारिक साझेदार झैँ बनाउने थाल्यो । त्यो एक अनौठो र समाबेसी इनोभेसन थियो । आज उद्यमशीलता, इनोभेसन र अनुसधानको माध्यमले अर्थतन्त्रमा योगदान गर्ने नयाँ क्षेत्र र साझेदार बनाउँदै अर्थतन्त्र सुधार गर्दै लगेको सफल उदाहरणमा मलेसिया, टर्किए, बङ्गलादेश पर्छन् । हामीले तीन दशकदेखि अर्थतन्त्रमा योगदान गर्ने नयाँ क्षेत्र र नयाँ सझेदार बनाउन नसक्नु, भएको विधि र पद्धतिलाई समय सापेक्ष अद्यावधिक नगर्नु र तदर्थवादबाट बाहिर निस्कन नखोज्नु नै हाम्रो प्रमुख कमजोरी हो ।हामीले गर्नसक्ने सम्भावना रहेको आर्थिक क्षेत्र यस्तो हुनुपर्छ, जहाँ दूरी र भारको महङ्खव कम होस् । उत्तर र दक्षिणको उदीयमान अर्थतन्त्र हाम्रा लागि अवसर हो तर उत्पादनशीलतामा हामीले प्रतिस्पर्धा गर्न सहज छैन । तसर्थ हामीले यस्तो बाटो रोज्नुपर्छ जुन कुरामा हामीले प्रतिस्पर्धा र प्रगति गर्न सकौँ । जस्तै ः सफ्टबेरको विकास र विक्री, हरित पर्यटन, उच्च पहाडी जिल्लाहरुमा डेटा सेन्टर, हाइ अल्टिच्युड खेलकुद, सीमित तर मूल्यवान् कृषि उत्पादन, अध्यात्म, कला र संस्कृतिसँग सम्बन्धित नवीनतम काम, हिमाल, बुद्ध र जानकीको जन्मभूमि आदि इत्यादि । – झा सांसद् हुन् । (नेपाल आर्थिक समाज–सेजनको स्मारिका ‘अर्थनीति’ बाट)

Tags: