सिबिफिनमा विधान संशोधनसँगै रिक्त भएका पदमा पदाधिकारी सर्वसम्मत चयन

Image
काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएकोे छ । चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट स्वीकृत संस्थाको विधानअनुसार कार्यसमितिमा रिक्त भएका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएकोे हो । विधानबमोजिम कार्यसमितिको दुईवर्षे कार्यकाल रहेकोमा एक वर्ष पूरा भइसकेको र एक वर्ष बाँकी रहेको अवस्थामा अधिकांश पदाधिकारी पदहरु रिक्त भएको र यसबाट संस्थागत कामकारबाहीमा कुनै किसिमको बाधा अड्चन हुन नपाओस् भन्ने विषयलाई गम्भीरताका साथ लिँदै कार्यसमिति बैठकले पदाधिकारी मनोनीत गरेको संस्थाले जानकारी दिएको छ । कार्यसमितिको पौष १९ गते सम्पन्न १३औँ बैंठकले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा मनोनयन गरेको छ । विधान संशोधनपूर्व उपाध्याय उपाध्यक्ष, मल्ली सचिव, श्रेष्ठ सहकोषाध्यक्ष, ढकाल र प्रधान कार्यकारी सदस्य पदको जिम्मेवारीमा रहेका थिए । बैठकले मनोनयन गरेसँगै अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीहरुको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरे। शपथग्रहणपछि वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलगायत पदाधिकारीले आफूप्रति विश्वास र भरोसा गरी सर्वसम्मत मनोनयन गरेकोमा अध्यक्ष तथा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्दै सिबिफिनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिहरुलाई अक्षुण्ण राख्दै थप उचाइमा पु¥याउन हरदम सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। यस्तै, बैठकले सिबिफिनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ । संशोधित विधानअनुसार सिबिफिनको १७ सदस्यीय कार्यसमितिमा नेपाल पूर्वाधार विकास बैंक र क वर्गको वित्तीय संस्थाहरुको समूहबाट अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित १० जना, ख वर्गको वित्तीय संस्थाहरुको समूहबाट वरिष्ठ उपाध्यक्ष र सचिवसहित चारजना र ग वर्गको वित्तीय संस्थाहरुको समूहबाट उपाध्यक्ष र सहकोषाध्यक्षसहित तीनजना पदाधिकारी तथा सदस्य रहनेछन् । नेपालमा संचालित वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको छाता संस्थाको रुपमा स्थापित सिबिफिनले बैंक तथा वित्तीय संस्थाका संस्थापक÷सर्वसाधारण लगानीकर्ता एवं सरोकारवालाहरुको हकहितको संरक्षण एवं सम्बद्र्धन गर्दै गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवाको विकास एवं विस्तार गर्दै आर्थिक तथा बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरुको समुचित निकासका लागि अध्ययन–अनुसन्धानसहित उपयुक्त नीतिगत व्यवस्था र वातावरणका लागि निरन्तर रुपमा पहल गर्दै आएको छ ।
Tags: