पोखरामा तीनदिने कृषि यान्त्रीकरण प्रदर्शनी

Image
पोखरा – ‘कृषि यान्त्रिकरणको अवलम्बन, कृषिकार्यमा परिवर्तन’नारा सहित पोखरामा प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी – २०८० शुरू भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)को आयोजनामा आज शुक्रबारबाट पोखरा नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा शुरू भएको हो । मेला आइतवारसम्म चल्नेछ । प्रर्दशनीमा १० भन्दा बढी मुलुकका एक हजार भन्दा बढी प्रकारका कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहेका छन् । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका कृषि तथा भूमी व्यवस्थापन मन्त्री महेन्द्रधोज जीसीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जीसीले भौगोलिक स्थिति अनुसार कृषि यान्त्रिकरणको योजना तयार गरिनुपर्ने बताए । कृषि यान्त्रिकरणको नाममा मसिनहरू अनुदानमा दिइने भएपनि त्यसको उपयोग भने हुननसकेको उनले बताए । ‘मेसिनहरू विक्री भइरहेका छन् तर विक्री भइसकेपछिको सेवामा पनि हामीले ध्यान दिनुपर्ने आवश्यक छ,’ उनले भने । पहाडमा किसानहरूले मेसिन बिग्रिएको खण्डमा मर्मत गर्ने सुविधा नपाएको भन्दै यसको समस्या समाधानका लागि नीजि क्षेत्रले पनि पहल गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए । सरकारले दिने कृषि अनुदानमा पनि धेरै राजनीतिकरण भएको उनले स्वीकार्दै तीनै सरकारले दिने कृषि अनुदानमा राजनीतिकरण भएको भन्दै नीतिगत रुपमा कृषि क्षेत्रमा परिवर्तन ल्याउनुपर्ने विषयमा जोड दिए । ‘देशको कृषि क्षेत्र अहिले संकटमा छ । सरकारले दिने अनुदान समेतमा राजनीतिकरण हुँदा किसानहरू मारमा परेका हुन्,’ उनले बताए, ’तर यो स्थिति अब लामो समय रहने छैन । तीनै तहको सरकारले मिलेर नीतिगत परिवर्तन ल्याउन काम गरिरहेको छ ।’ साथै कृषि क्षेत्रको लागि विनियोजन हुने बजेट पनि राम्रोसँग उपयोग हुननसकेको पनि उनले स्वीकारे । यो अवस्थालाई परिवर्तन गर्न प्रदेशको दोस्रो पञ्चबर्षिय योजनामा कृषिलाई प्राथमिकता दिने उनले बताए । अबको पञ्चवर्षीय योजनामा प्रदेश सरकारले उत्पादन, भण्डारण र बजारीकरणमा केन्द्रित नीति बनाउने तयारी भइरहेको पनि उनले बताएका थिए । कार्यक्रममा शुभकामना तथा धन्यवाद ज्ञापन गर्दै नामियाका अध्यक्ष कृष्ण शर्माले नीजि क्षेत्रले मात्र नभइ मेसिन प्रयोग तथा मर्मतको विषयलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने बताए । ‘देशमा यस्ता मेसिनको प्रयोग तथा मर्मतको विषयमा कृषक लगायत अन्य सरोकारवालालाई तालिम दिने उद्देश्य सहितको राष्ट्रिय तालिम केन्द्रको स्थापना गर्नु आवश्यक छ,’ उनले भने, ’सरकारकै पहलमा मेसिनहरू अनुदानमा वितरण भइरहेका छन् । विक्रीपछि मेसिनको मर्मतका लागि पनि नीजि क्षेत्र मात्र नभइ सरकारले पनि सहकार्य गर्नु आवश्यक छ ।’ कार्यक्रममा बोल्दै नामियाका अध्यक्ष जीसीले कृषि क्षेत्रमा सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको गुनासो गरेका थिए । ’सरकारले विनियोजन गर्ने बजेट कृषि क्षेत्रकै लागि त पर्याप्त छैन । सोही बजेटबाट आउने यान्त्रिकरणको बजेट कसरी पर्याप्त हुनसक्छ,’ उनले भने, ‘सरकारले यो क्षेत्रको लागि बजेटको आकार बढाउनु आवश्यक छ ।’ साथै स्वदेशमा ने उत्पादन तथा विक्री हुने मसिनरीहरूका लागि सरकारले कर नीति सहज बनाउनु पर्ने उनको जोड थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नामियाका महासचिव अर्जुनप्रसाद लुइटेलले कृषि यान्त्रिकरणको विषयमा नेपाल १० वर्ष पछि पुगेको बताए ।त्यस्तै गण्डकी प्रदेशको कृषि तथा भूमी व्यवस्थापन मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मीले पहाडी क्षेत्रलाई लक्षित गरि फरक किसिमको मेसिनरी उत्पादन गरिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेशका पहाडी जिल्लाहरूलाई सुहाउदो मसिनरी उत्पादन तथा प्रयोग हुनुपर्ने बताएका थिए । ’गण्डकी प्रदेश जस्तो पहाडी क्षेत्रमा फरक किसिमका प्रविधिहरू आवश्यक छन्, उनले भने, ’स्थान विशेष मात्र नभइ हामीले महिलामैत्री प्रविधिमा पनि ध्यान दिनु उत्तिकै आवश्यक छ । पहाडी क्षेत्रका महिलाहरूलाई ध्यानमा राखेर कृषि मसिनहरू उत्पादन गरिनुपर्छ ।’ साथ उनले गण्डकी प्रदेशको रैथाने बाली प्रबर्दनमा पनि जोड दिएका थिए । पोखरा महानगरपालिकाका कृषि प्रमुख मनोहर कडरियाले पनि प्रदेशमा धेरै टुक्रे जमीन र भिरालो जमीन भएका कारण सोही प्रकारको मसिनको आवश्यक भएको बताए । सोही कार्यक्रममा उनले प्रदर्शनीमा राखिएका ६० ओटा कम्पनीको कुनै पनि मसिन किसानले खरिद गर्दा महानगरपालिकालेअ्नुदान उपलब्ध गराउने घोषणा पनि गरेका छन् । प्रदर्शनीमा ६० ओटा नेपाल र भारतका विभिन्न कम्पनीहरूले उपलब्ध गराएका स्वदेशी तथा विदेशी सामग्री खरिद गर्दा किसानलाई अनुदान स्वरुप ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ महिला उद्यमी संघ कास्कीकी अध्यक्ष शारदा बरालले महिलाको नाममा आएको यान्त्रिकरण अनुदान आवश्यक किसानले भन्दा पनि अन्य पहुँचवालाहरूले प्राप्त गरेको गुनासो गरिन् । त्यस्तै नामियाका निवर्तमान अध्यक्ष खोजराज कटुवालले स्वेदशमै उत्पादित कृषि मसिनरी सामग्रीहरूले बजार नपाउँदा कृषि मसनरी उद्योगहरू संकटमा परेको बताए । महँगो भन्सार तिरेर कच्चा पदार्थ ल्याइ देशमा नै उत्पादन गरेको सामग्रीले भन्दा कम भन्सार करमा आयात गरेको सामग्रीले सस्तोमा बजार पाउँदा स्वदेशी उत्पादन मारमा परेको उनको जिकिर थियो । कृषि यन्त्रको उत्पादन तथा विक्रीका लागि सरकारले लचिलो नीति तयार गर्नुपर्नेमा उनले जोड दिए । शुभकामना मन्तव्य दिने क्रममा नै नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले कृषि यान्त्रिकरण विकासलाई सरकार तथा नीजि क्षेत्र दुवैले संञ्चार माध्यमसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताइन् । जनतामाझ कृषि यान्त्रीकरणको सचेतना फैलाउनका लागि सञ्चार माध्यमले ठूलो भूमिका खेल्नसक्ने उनले बताइन् । यस्तै कृषक समूह महासंघ कास्कीका प्रतिनिधि चित्रनाथ पौडेलले कृषि क्षेत्रमा पुरुषको तुलनामा महिलाको सक्रियता धेरै हुने भएका कारण महिलालाई लक्षित गरेर नै प्रविधिहरू तयार गरिनुपर्ने विषयमा जोड दिएका थिए । साथै खेतियोग्य जमीनहरू बाझै भएको र काम गर्ने जनशक्ति विदेश पलायन भइसकेका कारण पनि मेसिनरीको विकासको आवश्यकता रहेको उनको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कृषि यान्त्रीकरण थप व्यवस्थित हुनुपर्ने बताए । त्यसैगरी पोखरा महानगरपालिकाका दोर्ण बहादुर कार्कीले कृषि क्षेत्रको प्रवर्दन तथा विकासका लागि महानगरले गरिरहेको गतिविधिहरूमा प्रकाश पारेका थिए भने पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ले मेसिनरी कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले यान्त्रिकरणको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषि क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट पर्याप्त नभएको कुरा महासंघले उठाउँदै आएको जानकारी दिए । ’नेपाल सरकारले कृषि क्षेत्रका लागि ४ प्रतिशत बजेट मात्र विनियोजन गर्ने गरेको छ । कृषिमा बजेट बढाउनका लागि विभिन्न फोरममा आवाज उठाउनुका साथै सरकारको विभिन्न निकायलाई लिखित प्रस्ताव पनि राख्दै आएको छ ,’उनले भने, ’कृषिका लागि भनेर मात्रै संघिय तथा प्रदेश दुवै सरकारले कम्तिमा पनि १० प्रतिशत बजेट विनियोजन गर्नु आवश्यक छ ।’ नेपाल आर्थिक रुपमा आत्मनिर्भर हुन रेमिट्यान्सको भर गर्ने भन्दा पनि कृषि, पर्यटन र जलस्रोतको क्षेत्रलाई उपयोग गर्नु आवश्यक गरेको उनले बताए । मध्य पहाडी क्षेत्रका धेरैजसो युवाहरू रोजगारको खोजीमा विदेशिने गरेको भन्दै हाल बन्दै गरेको मध्यपहाडी लोकमार्ग कम्तिमा पनि ४ लेनको बनाएर बिच–बिचमा बस्ती बसालेर युवाहरूलाई यहि नै रोजगार उपलब्ध गराउन सकिने उनले बताए । ’यान्त्रिकरणको विकास भएर मात्र पनि हुँदैन । किसानसम्म त्यो उपकरण पुग्नुपर्छ । यसको लागि सरकार र अन्य सरोकारवाला सबै मिलेर छलफल गर्नु आवश्यक छ ।’ साथै उनले मसिन मर्मतका तालिमहरू पनि उपलब्ध गराउने पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाइले सरकाले कृषि क्षेत्रमा युवापुस्तालाई आकर्षित गर्न असफल भएको स्वीकारे । वितेको एक दशकमा देशमा कृषि उत्पादनको आयात प्रत्येक वर्ष बढ्दै गएको भन्दै युवालाई कृषिमा आकर्षित गरि उत्पादन बृद्धिमा जोड दिइनुपर्ने उनले बताए । कृषि उत्पादनसँगै उपकरणहरू पनि विदेशबाट नै आयात गर्नुपर्ने स्थिति रहेको भन्दै स्वदेशी सामग्री उत्पादन तथा प्रबद्धनमा उनले जोड दिएका थिए । यस्तै कृषि विभागका महानिर्देशक हरि बहादुर केसीले बाझों खेत र व्यावसायिक अवसरबिचको खाडल पुर्नुपर्ने जिकिर गरे । ’एकातिर हाम्रा खेतबारीहरु बाझैँ छन् अर्कोतिर हामीले कृषि उपकरणहरूको सदुपयोग गरेर व्यावसायिक कृषिमा भएका अवसरहरूको फाइदा उठाउन गर्न सकिरहेका छैनौं,’ उनले भने, ’यी दुईविचको खाडल पुर्नका लागि कृषि यान्त्रीकरणले ठूलो भूमिका खेल्न सक्छ । यसको लागि नीजी क्षेत्रले नवप्रवर्तनका लागि पहल गर्नु आवश्यक छ । यस्ता पहललाई सरकारले पनि सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’ नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउविजन, आधुनिक सिंचाई लगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहेको छ । तीन दिन चल्ने यस मेलाको ६० हजार भन्दा बढीले अवललोकन गर्ने अनुमान गरिएको छ। अनुमानित कारोबार भने ५ करोड भन्दा माथि रहेको छ ।
Tags: