स्वास्थ्य सेवा सुधारमार्फत अर्थतन्त्रको पुनरुत्थान

Image
डा. भगवान कोइराला | तीन दशकअघिको र अहिलेको स्वास्थ्य क्षेत्रको स्थिति तुलना गर्दा यसमा नेपालले निकै प्रगति गरेको देखिन्छ । विशेषगरी औसत आयु वृद्धि, शिशुको जीवनरक्षा, मातृ स्वास्थ्य सुधार र संक्रामक रोग नियन्त्रणको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ । मातृ मृत्युदर सन् १९९६ मा प्रतिलाख जीवित जन्ममा ५३९ रहेकामा सन् २०२२ मा आइपुग्दा घटेर १५१ कायम भएको छ । नवजात शिशु मृत्युदर सन् २०११ को ३३ प्रतिहजार जीवित जन्मबाट घटेर सन् २०२२ मा २१ कायम भएको छ । नवजात शिशु मृत्युदर सन् २०११ को तुलनामा घटेको देखिए पनि सन् २०१६ यता यही दर कायम रहेबाट पछिल्ला ८ वर्षमा यस क्षेत्रमा कुनै प्रगति गर्न नसकिएको अप्रिय वास्तविकता पनि हाम्रा सामु छ । पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाएर ५४ प्रतिहजार जीवित जन्म कायम गराउने लक्ष्य भने निर्धारित समयसीमा २०१५ अगाडि नै हासिल गरेर नेपालले जनस्वास्थ्यको क्षेत्रमा सकारात्मक सन्देश दिएको छ । पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको दर पनि सन् १९९६ को तुलनामा आधाभन्दा तल आइसकेको छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको सकारात्मक कुरा गरिरहँदा नसर्ने रोगको प्रकोप ह्वात्तै बढेर ठूलो चुनौतीका रुपमा देखापरिसकेको वास्तविकता पनि नेपालमा छ । मूलमूत रुपमा हामीकहाँ रोग लाग्ने कारकतत्त्व नै बढी छन् । रोग लाग्नुमा सामाजिक र आर्थिक पक्षको ठूलो भूमिका हुन्छ । त्यसलाई हामी स्वास्थ्यका सामाजिक निर्धारक (सोसियल डिटरमिनेन्ट्स अफ हेल्थ) का रुपमा चित्रण गर्दछौं । गरिबी, सफा पिउने पानीको अभाव, अपर्याप्त सरसफाइलगायतलाई रोगका सामाजिक कारण मानिन्छ । अचेल जलवायु परिवर्तनले पनि अनेक थरी रोग निम्त्याउन थालेको छ । जस्तै, पहिलेपहिले डेंगी तराईमा मात्र हुन्थ्यो, अहिले पहाडमा समेत यसले सताउन थालेको छ । तराईको डेंगी पहाड उक्लनुमा जलवायु परिवर्तनको हात छ । अरू नदेखिने रोग पनि आएका छन् । पुराना रोग फेरि बल्झिन थालेको देखिन्छ । क्षयरोग ठीक भइसकेको थियो । मलेरिया गइसकेको थियो । यी रोग फेरि बल्झिन थालेका छन् । झाडापखाला, टाइफाइड जस्ता सर्ने रोग पनि प्रशस्त मात्रामा छन् । यस्ता रोगबाट हाम्रो देशमा बर्सेनि हजारौंको संख्यामा मानिस मरिरहेका छन् । यी समस्यासँग जुधिरहेका बेला नसर्ने खालका रोगको प्रकोप नेपालमा ह्वात्तै बढेको देखिन्छ । १५÷२० वर्ष अगाडिदेखि यस्ता नयाँ प्रकृतिका रोगले सताउन थालेको हो । यसमा नसर्ने तर रोग लागेपछि जीर्ण भएर बसिरहने हुन्छ । नसर्ने रोगको वर्गमा पर्ने मिर्गौलाको समस्या, मधुमेह, उच्च रक्तचाप, दम, हृदयाघात, अरू वंशाणुगत रोग र चोटपटक ह्वात्तै बढेर गएको छ । नेपाल सर्ने रोग निमिट्यान्न पार्न नपाउँदै नसर्ने रोगको चपेटामा परेको अवस्था छ । यस हिसाबले हामी दोहोरो मारमा छौं । यसलाई कसरी जवाफ दिने, कसरी निराकरण गर्ने भनेर विचार गर्दा हामीले तीन तहमा काम गर्नुपर्ने देखिन्छ ।पहिलो तहमा स्वास्थ्यका सोसियल डिटरमिनेन्ट्सहरुमा काम गर्नु जरुरी देखिन्छ । यसनिम्ति स्वास्थ्यका लागि आवश्यक जीवनका पूर्वाधारहरु उपयुक्त बनाउनुपर्छ । जस्तो खाना ठीक हुनुप¥यो । पानी सफा हुनुप¥यो । सफासुग्घर भएर बस्नुप¥यो, बस्न पाउनुप¥यो, बस्न सक्ने वातावरण हुनुप¥यो । विभिन्न खालका प्रदूषण बढेका छन् । यसलाई चाँडोभन्दा चाँडो नियन्त्रण गर्नुप¥यो । त्यसपछि रोगबाट बच्ने उपायहरुमा जानुपर्छ । अर्थात् रोग लाग्नै नदिने । लागिहालेको खण्डमा त्यसको जटिलता न्यूनीकरण गर्ने उपायमा काम गर्नुपर्छ । यसअन्तर्गत खोप लगाउने जस्ता काम पर्छन् । खोपमा हामीले सन्तोषजनक प्रगति गरेका पनि छौं । तेस्रो रोकथाम । रोकथाम चरणमा जटिलता बढ्न नदिनेमा केन्द्रित हुनुपर्छ । जस्तो रक्तचाप देखिइहाल्यो भने त्यसलाई बढ्न नदिने उपाय गर्नुपर्छ । बेलैमा यसको उपचार गरिएन भने हृदयाघात हुन सक्छ । आँखा बिग्रन सक्छ । मिर्गौलामा समस्या आउन सक्छ । कोलेस्ट्रोल भयो भने त्यस्तै समस्या आउँछ । मधुमेहको उपचार भएन भने पनि अनेकौं समस्या आउँछन् । यी रोगको रोकथामका लागि तिनका लक्षणलाई नियन्त्रणमा राख्नुपर्छ । जस्तो रक्तचाप ठीक राख्ने, चिनीको मात्रा नियन्त्रण गर्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, शारीरिक व्यायाम, मोटोपन घटाउने जस्ता रोकथामका कुरामा जानुपर्छ । रोकथामपछि उपचारको कुरा आउँछ । घर बसेर अथवा पूजापाठ गरेर रोग निको हुँदैन । स्वास्थ्योपचारको प्रभावकारिताका लागि प्राथमिकदेखि माथिल्लो तहसम्मै सशक्त स्वास्थ्य सेवा प्रणाली विकास गर्नु जरुरी छ । सर्ने र नसर्ने दुवै खाले रोगको उपचार सबै प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र प्रदेश स्तरको अस्पतालमा हुन सक्ने बनाउनुपर्छ । जिल्ला र प्रदेश स्तरका अस्पताललाई अलि जटिल खालका रोगको पनि उपचार गर्न सक्ने गरी सुविधासम्पन्न बनाउनुपर्छ । त्यति गर्दा पनि नसकिने ठूला रोग र जटिल प्रविधिका कुरा छन् भने तिनलाई केन्द्रीय स्तरबाट सम्बोधन गर्नुपर्छ । यो सबका लागि प्रविधि, दक्ष जनशक्ति र बलियो पूर्वाधार चाहिन्छ । पर्याप्त उपकरण र व्यवस्थापकीय क्षमताको पनि यसमा अहम् भूमिका हुन्छ । तसर्थ हामीले हाम्रो स्वास्थ्य सेवा प्रणालीको व्यवस्थापकीय क्षमता अभिवृद्धिलाई प्राथमिकता दिएर काम गर्नुपर्छ । समयमै सामान आपूर्ति हुन सकेन भने लक्षित उपलब्धि हासिल हुन सक्दैन । यति भइसकेपछि यी सबै कुराको स्वामित्व जनताले लिनुपर्छ । प्रभावकारी सेवा सञ्चालनका लागि आवश्यक यी आधारभूत कुरा सबै उपचारको तहमा हुनुपर्छ । तर यो पक्ष सबैतिर कमजोर देखिन्छ । उल्लिखित काम गर्न स्रोत चाहियो । स्वास्थ्य क्षेत्रका लागि आवश्यक पर्ने वित्तीय स्रोतको जोहो कसरी गर्ने ? सरकारले कहाँबाट कसरी पैसा ल्याएर आफ्ना अस्पतालहरुमा उपकरण, जनशक्तिको व्यवस्था मिलाउने ? जनताले कति पैसा तिर्ने ? निक्र्योल हुनुपर्छ । कतिपय नसर्ने रोगको उपचार पूरा गर्दा बिरामीको घरखेत नै जाने अवस्था छ । कतिको त घरखेत बेचेर खर्च गर्दा पनि पुग्दैन । र उपचार नै गर्न नसक्ने स्थिति हुन्छ । कैयौं नागरिक चर्को स्वास्थ्योपचार खर्च धान्न नसकेर टाट उल्टने स्थिति छ । त्यसैले राज्यले सबै किसिमका रोगको उपचार विधि बनाएर तिनलाई सबै तह र तप्कामा पु¥याउने गरी काम गर्नुपर्छ । उपचार विधि र दक्ष जनशक्ति देशभर पु¥याउन पैसा चाहिन्छ । हामीकहाँ त्यो पैसा कसरी जुटाउने भन्ने समस्या छ । स्वास्थ्य क्षेत्रको ध्याउन्न भनेको जनताको आयु लम्ब्याउने र सर्वसाधारणले रोगबाट पाउने दुःख सके निमिट्यान्न पार्ने हो, त्यसो गर्न नसके न्यूनीकरण गर्नुपर्छ । संसारभरि नै स्वास्थ्य सेवाको उद्देश्य दुई हुन्छन्— एउटा रोगबाट हुने पीडा न्यूनीकरण र अर्को आयु वृद्धि । छोटकरीमा यही हो । यसलाई प्रभावकारी बनाउन हामीले धेरै सिस्टम बसाल्नु जरुरी देखिन्छ । अहिले चुनौतीमध्येको प्रमुख पैसा नै हो । सरकारसँग पैसा छैन, राजस्व उठ्दैन, विदेशबाट पनि भने जति भनेको ठाउँमा आउँदैन । स्वदेशमा करदाताको संख्या उत्साहजनक तरिकाले बढिरहेको छैन, उत्पादन–उपभोग दुवै घटेको अवस्था छ । वित्तीय क्षमता घटिरहेका बेला स्रोतको आवश्यकता बढ्दो छ । यस मानेमा हामी चेपुवामा परेका छौं । त्यसैले हामीले सबै किसिमका रोगबाट बचावट र रोकथाममा ध्यान दिनुपर्छ । यसो गर्दा उपचारमा गर्नुपर्ने खर्च जोगिन्छ । रोग लागिहाल्यो भने पनि अनावश्यक खर्च नगरीकन प्रभावकारी उपचार गर्न सक्ने कार्यमूलक संरचना तयार गर्नुपर्छ । स्वास्थ्य क्षेत्रका लागि राज्यले छुट्टै वित्तीय मोडल तयार गर्नुपर्छ । सरकारको ढुकुटीमा पैसा जम्मा हुनुपर्छ । स्वास्थ्य क्षेत्रकै लागि समर्पित कर लगाउने विकल्प पनि छ । स्वास्थ्य बिमालाई देशव्यापी बनाउनुपर्ने खाँचो छ । अहिलेको जस्तो स्वास्थ्यको नाममा कर उठाउने, खर्च चाहिँ अन्तै गर्ने परिपाटी हुनुहुँदैन । स्वास्थ्यका लागि भनेर जनताबाट कर संकलन गरिन्छ भने त्यसलाई स्वास्थ्य क्षेत्रमै उपयोग गर्न सकियो भने मात्र लक्षित उपलब्धि हासिल गर्न सम्भव हुन्छ । अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापकीय विधि हो । संरचना बनाइयो, प्रविधि ल्याइयो, पैसा खोजियो, उपकरणको बन्दोवस्त गरियो, मान्छे ल्याइयो भने पनि शासन पद्धति अथवा यसको सञ्चालन विधि चुस्त–दुरुस्त, स्वच्छ, पारदर्शी भएन भने सारा स्रोतसाधन र मिहिनेत खेर जान्छ । त्यसैले सञ्चालन विधि कार्यदक्ष र इमानदार हुनुपर्छ । माथिदेखि तलसम्मको व्यवस्थापकीय समूह इमानदार हुनुपर्छ । त्यसो भयो भने हाम्रा धेरै स्वास्थ्य समस्या न्यूनीकरण गर्न सकिन्छ, दुःख घटाउन सकिन्छ, आयु लम्ब्याउन सकिन्छ । सबै क्षेत्रमा सुधार गर्ने मूलभूत तरिका भनेको सञ्चालन विधि नै हो । हामीकहाँ स्वास्थ्य क्षेत्रका लागि नीतिगत वा कानुनी समस्या अथवा कानुनको अभाव छैन । केही कानुन प्रदेश र संघमा बाझिएका छन् । तर यो मूलभूत समस्या होइन । स्वास्थ्य क्षेत्रमा ऐन कानुनको अभावले काम नै नहुने अवस्था पनि छैन । स्वास्थ्य नीतिहरु राम्रा हुँदैमा तिनीहरु आफैं आएर काम गर्ने होइनन् । त्यसको कार्यान्वयन गर्न जनशक्ति र साधन स्रोत उपलब्ध हुनुपर्छ । स्वास्थ्य क्षेत्रमा थप बजेट विनियोजन गर्ने संस्कार बस्न सक्यो भने लक्ष्य हासिल होला । हामीकहाँ मुख्य समस्या फाइनान्स र गभर्नेन्समा छ । यी दुई कुरा भएनन् भने प्रभावकारी स्वास्थ्य सेवा जनतामा पु¥याउन सकिँदैन । यसका लागि राष्ट्रिय प्रतिबद्धता पनि चाहिन्छ । राज्यको जिम्मेवार तहले स्वास्थ्य क्षेत्रको महत्त्व बुझ्यो भने उसले राम्रो काम गर्न सक्छ । स्वास्थ्य क्षेत्रका प्राविधिकको गुणस्तर, जाँगर, सेवा सुविधा, वृत्ति विकासका अवसरहरुले कार्यसम्पादन र नतिजामा प्रभाव पार्छ । तसर्थ समायोजन, वृत्ति विकास, जागिरको सुनिश्चितता जस्ता विषयमा विद्यमान गुनासाको पनि सम्बोधन गर्नुपर्छ । यो सबै नमिलाई काम चुस्त–दुरुस्त बनाउन गाह्रो हुन्छ । यसका लागि नियमनकारी निकाय र स्वास्थ्य मन्त्रालयले सुशासन, थप आर्थिक लगानी र जनशक्तिमा विशेष जोड दिनुपर्छ । अहिले बाल स्वास्थ्यमा मात्रै विशेष जोड दिन सकियो भने पनि १० वर्षपछि देशको चौतर्फी उन्नतिका लागि आवश्यक स्वस्थ, सिर्जनशील र जाँगरिलो युवाशक्ति ठूलो संख्यामा तयार हुन्छ । – डा. कोइराला मुटुरोग विशेषज्ञ हुन् । (नेपाल आर्थिक पत्रकार समाज–सेजनको स्मारिका ‘अर्थनीति’बाट)  
Tags: