भरतपुर महानगरपालिका प्रमुख दाहाल र श्रीलंकाली राजदूतबीच भेटवार्ता

Image
चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलवार महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न सकिने सहकार्यबारे छलफल भएको थियो । महानगरपालिका प्रमुख दाहालले मित्र राष्ट्र श्रीलंका र नेपालबीच लामो समयदेखि कुटनीतिक सम्बन्ध कायम रहेको उल्लेख गरिन् । प्रमुख दाहालले दक्षिण एसियाली सहयोग संगठन सार्कको दुई सदस्य राष्ट्र रहेको स्मरण गर्नुभयो । भरतपुरले थालेको भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाको रचनात्मक सुझाव र सहयोगको अपेक्षा गरेको बताइन् । भेटवार्तामा नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाले भरतपुर र श्रीलंककाको कोलोम्बु सहरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सकारात्मक रहेको र यसका लागि पहल थाल्ने बताए। राजदूत पाथिरानाले भरतपुर र श्रीलंकाले शिक्षा, स्वास्थ्यलगायतका विषयमा दुई देशबीच सहकार्य गरी अगाडि बढ्न सकिने उल्लेख गरे । भरतपुरमा निर्माणधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा आवश्यक प्राविधि सहयोगका लागि श्रीलंका इच्छुक रहेको राजदूत पाथिरानाले बताए। राजदूत पाथिराना सोमवार नै रंगशालाको अवलोकन गरेका थिए । रंगशाला निर्माणका लागि राजदूत पाथिरानाले अलि बढी चासो देखाएका थिए। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन श्रीलंकाबाट पर्यटकलाई भरतपुर पठाउन सक्दो सहयोग गर्ने उनको भनाइ थियो। कार्यक्रममा श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्र, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, उपसचिव उपेन्द्र पौडेल, उपनिर्देशक जगन्नाथ अर्यालको उपस्थिति थियो ।  
Tags: