सानो उमेरमै व्यावसायिक सफलता – ‘स्टार्टअप’ हाँक्दै सुनिता
–दीपा रेग्मी | काठमाडौं – एकदिन श्रीमानसँग ठाकठुक परेको बेला उनले भने, ‘तिमी आफ्नो बाउको पैसाले मात्तिएकी हौं, तिमीले केही पनि गर्न सक्दैनौ।’ सुनितालाई त्यही कुराले नराम्ररी बिझायो । उनले रातभर सोंचिन्। मोबाइल स्क्रोल गर्दै धेरै भ्याकेन्सी हेरिन्, पुतली सडकको ‘सुवेदी फाउण्डेसन’ले डकुमेन्टेसन अफिसर खोजेको रहेछ, अर्को दिन बुझ्न गइन् र एकै पटक सेलेक्ट भइन् । यो सन्दर्भ झण्डै ८ वर्ष अगाडिको हो । श्रीमानको त्यही बिझ्ने कुरालाई आदर्श ठानेर अगाडि बढेकी सुनिता पाण्डेय अहिले पुतलीसडकमै ‘स्टार्टअप एजुकेशन कन्सलटेन्सी’ सफलतापूर्वक सञ्चालन गरेर बसेकी छिन् । उमेरले भ्रखर ३० वर्षमात्र पुगेकी सुनिता नेपालगञ्जमा जन्मे हुर्केकी हुन्। नेपालगञ्ज खजुरामा विद्यालय र प्लस टुको अध्ययन सकाएकी उनी सानै देखि चन्चले र आज्ञाकारी स्वाभावको भएको सम्झन्छिन् । ‘घरका अधिकांश अभिभावक सदस्य भारतीय सेनामा भएको कारण परिवारमा साह्रै आज्ञाकारी खालको बच्चा थिएँ, आफन्तले साह्रै संस्कारी बच्चा भनेर उदाहरण दिने खालको थिएँ, ’ उनी भन्छिन्, ‘तर विद्यालयमा एकदमै चन्चले प्रकृतिको थिएँ । अहिले पनि चन्चले नै छु । मलाई आफू बसे वरपरको वातावरण एकदमै राम्रो बनाउन मन पर्छ र खुसी रहन मनपर्छ।’ प्लस टु सिद्धिइसके पछि उनी काठमाडौं आइन् । बाबा व्यवसाय गर्ने भएकोले बाबा ममी पहिले देखि नै काठमाडौं मै बस्दै आएका थिए । उनी नेपालमै पढ्ने भन्दा पनि अमेरिका जाने सपना थियो । ‘म काठमाडौंमा यूएसमा जाने योजनाका साथ आएको थिएँ, तर भिजा लागेन । त्यसपछि म नेपालमै ब्याच्लर्स पढ्न भर्ना भएँ।’ उनले ब्याच्लर्स ग्रामिण विकासमा गरिन्। पछि तीन महिना जति कार्टर सेन्टरमा इन्टर्नसीप गरिन्। त्यसबीचमै उनको बिहे भइसकेको थियो । बिहेको उनको अर्कै किस्सा छ । एसएलसीपछि नै उनको घरमा बिहेको कुरा चलाइएको थियो । बुबाले बेलायतमा रहेको साथीको छोरासँग बिहे गर्ने भन्दै कुरा गर्दै आएका थिए । तर उनी ब्याच्लर्स पढ्दै गर्दा प्रकाश खड्कासँग उनको भेट भयो । काठमाडौंका सफ्टवेयर इञ्जिनियर प्रकाशसँग सुनिताको मन मिल्यो । उनी भन्छिन्, ‘पहिलो माया भने जस्तै भयो, उता ३–४ वर्षदेखि कुरिरहनु भएको थियो तर मैले माइती तिरको असहमतिमै १९ वर्षमा बिहे गरें । घरमा पछि मात्र स्वीकार्नुभयो ।’ अहिले सुनिताका छोरा पनि जन्मिइसकेका छन्। श्रीमान् अमेरिकन सफ्टव्यर कम्पनीमा काम गर्छन्। सुनिता बच्चै देखि साह्रै माया र सुखमा हुकेर्की हुन् । ‘म बच्चादेखि नै परिवारमा माया पाएर हुर्किएँ । यतिसम्मकी म ब्याच्लर्स पढ्दा सामान्य पेन्सिलसम्म पनि नेपालगञ्जबाट आउँथ्यो,’ उनी सम्झन्छिन् । त्यही मायामा पपुल्पुलिएकी सुनितालाई श्रीमानले ड्यास दिएका थिए। त्यसैले उनलाई सुवेदी फाउण्डेसनमा पुर्यायो । डकुमेन्टेसन अफिसरको रुपमा दुई महिना काम गरेर उनी बाहिरिइन् । अर्को कन्सल्टेन्सीमा सिनियर काउन्सिलरको रूपमा काम गरिन्, त्यसमा ६ महिना काम गरेकी उनी ग्लोबल एजुकेशनमा म्यानेजरको रूपमा काम गरिन्, चन्चले सुनिता म्यानेजर नै भए पनि अडिन सकिनन् , अन्तत त्यसको एक वर्षमा आफ्नै कन्सल्ट्न्सी खोलिन्, ‘स्टार्टअप एजुकेशन कन्सल्टेन्सी’ उनले कन्सल्टेन्सी व्यवसाय सन् २०१७ मा शुरू गरेकी हुन् । त्यो बेला उनको अफिस सामाखुसीमा तियो । यो व्यवसाय उनलाई चुनौतीपूर्ण लाग्छ । ‘मैले सिक्दै अगाडि बढ्दै गरें, विद्यार्थीको फि को इस्यू, एनओसीको समस्या त छ नै त्यो भन्दा यो क्षेत्रसँग जोडिएकाहरुबाट असहयोग भयो,’ उनी भन्छिन्, ‘नभएका आक्षेप लगाउने काम भए, पुतलीसडकसँग त मेरो कनेक्सन नै थिएन तर त्यतिबेला पनि मेरो यहाँ कुरा हुन्थ्यो रे जबकी मैले कसैलाई चिनेको पनि थिएन ।’ सामाखुसीमा अफिस हुँदा व्यवसायले राम्रो गति लियो । ‘त्यहीबाट ६०० भन्दा बढी विद्यार्थी उडाइसकेको थिएँ, पछि मेरो साथी अमित ढुंगानाले अष्ट्रेलियाको लागि काम गर्ने प्रस्ताव ल्याउनुभयो, ’ उनी सामाखुसी मिस गछिन्, ‘त्यसपछि सन् २०२० मा मात्र म पुतलीसडकमा आएको हुँ। सामाखुसीमा दैनिक ३०० सम्म विद्यार्थीले अध्ययन गर्थे, त्यसको तुलनामा त यो केही पनि होइन।’ व्यवसाय शुरू गर्दा उनले श्रीमानको साथ त पाइन तर घरमा अन्य सदस्यले विश्वास गरेका थिएनन् तर उनले घर र व्यवसाय दुवै सन्तुलनमा राखेर काम गरिन् । ‘मैले बिहान घरको काम सकाएर अफिस हेरेर साँझ फेरि घरको काम सम्हाल्न पुग्थें,’ उनी भन्छिन् । उनको कन्सल्टेन्सीले शुरूमा युरोपीयन मुलुकमा हामीले धेरै विद्यार्थी पठाउँदै आएको थियो । ‘यूएस, क्यानाडा पनि अगाडि हेरिरहेका थियौं, अहिले अष्ट्रेलिया, यूके र क्यानडामा फोकस भएर काम गरिरहेका छौं,’ उनी भन्छिन्, ‘हामीले काउन्सिलिङको अतिरिक्त आईएलटीएस, पीटीई, जापानी भाषा कक्षा सञ्चालन गर्दै आएका छौं।’ व्यावसायिक सफलतासँगै उनमा परिपक्वता पनि बढ्दै गएको छ । उनलाई विद्यार्थीहरूको सफलतामा धेरै खुसी लाग्छ । जब विद्यार्थीहरु भिसा सक्सेस भएर उहाँ पुगेर सम्झन्छन्, उनलाई त्यस बेला त्यसले धेरै छुन्छ। ‘धेरैले विद्यार्थी प्रति गुनासो गरेको सुन्छु तर मलाई विद्यार्थीहरू माया गर्छन्, अपवाद बाहेक मलाई कुनै पनि विद्यार्थी प्रति त्यस्तो गुनासो गर्ने काम गरेका छैनन्,’ उनी भन्छिन्, ‘विद्यार्थीहरु लामो समयसम्म पनि सम्पर्कमा छन्, आफू आउँदा मात्र होइन, कोही साथीहरू नेपाल आउँदा समेत के पठाउँ भनेर सोध्छन्, पठाउने नपठाउने महत्वपूर्ण कुरा होइन, उनीहरुले मेरा लागि दिएको सम्मान नै ठूलो कुरा हो।’ अहिले वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरू पढ्नेभन्दा पनि कसरी कमाउने र उतै सेटल्मेन्ट हुने भन्ने कुरामा बढी ध्यान दिने कुरालाई उनले कमजोरी ठान्छिन्। ‘विद्यार्थीहरूले त्यति धेरै ट्युसन फि को लागि खर्चिएका हुन्छन्, तर पढाईमा ध्यान दिएका हुन्नन्, कम्तीमा केही दुःख सहेर भविश्य सम्झेर राम्रोसँग अध्ययन गर्ने हो भने भविश्य कति उज्ज्वल हुन्छ, म विद्यार्थीलाई यो कुरा भन्दै पनि आएको छु,’ उनले भनिन्। उनले विद्यार्थीलाई सेटल्मेन्टलाई प्राथमिकता दिन नहुने बताउँछिन्, विदेशको डिग्रीले नेपालमै उत्तिकै प्राथमिकता पाउने उनी बताउँछिन्। ‘क्यानडाको कुरा गर्दा क्यानडा यस्तो मुलुक हो, जहाँ भविश्यमा पिआर, वर्किङ मोडल सबै कुरा त्यही छ, सबैकुरा विस्तारै हुँदै जान्छ तर विद्यार्थीले सबैभन्दा पहिले आफ्नो अध्ययनलाई प्राथमिकता दिनुपर्यो। यूके, क्यानडाको डिग्री होल्डर भने पनि नेपालमै पनि प्रशस्त अवसर छन्, त्यहाँको अनुभवको यहाँ आफ्नै महत्व छ,’ उनले भनिन्। उनका अनुसार स्टार्टअपले यूके र क्यानडा पठाएका विद्यार्थीको बसाई र जागिरमा पनि सहजीकरण गर्दै आएको छ। उनले भनिन्, ‘किनकी अहिले बसाई र जागिरका केही इस्यु आएका छ ।’ अन्यत्रको तुलनामा यूकेमा भिजा आउने सम्भावना सहज भएको बताउँछिन्। ‘यूकेको भिजा सतप्रतिशत जस्तै हो, डकुमेन्टेसनको खासै इस्यू बन्दैन तर क्यानडाको लागि केही गाह्रो छ तर पनि हामीले सहजीकरण गर्दै आएका छौं, विद्यार्थीले स्थानीय तहको आधिकारिक कागज ल्याए मात्र पुग्छ,’ उनी भन्छिन्, ‘विद्यार्थीले प्लस टु अथवा ब्याच्लर्सको प्रमाणपत्र लिएर आएपछि हामीले आईएलटीएस, पीटीई, फर्दर डकुमेन्टेसन, भिजा एप्लाई, बैंकको प्रोसेसिङ देखि उता पुगे पछि जब र बसाईमा सहजीकरण गर्छौं।’ क्यानडाका ५० वर्ष, ३० वर्ष पूराना सरकारी विश्वविद्यालय र क्यानडाका धेरै कलेजमा स्टार्टटपको सम्पर्क रहेको उनको भनाइ छ। उनका अनुसार स्टार्टअपको क्यानडामा ९० प्रतिशत र यूकेमा सत प्रतिशत सक्सेस रेट छ । काठमाडौंमा हेड अफिस रहेको स्टार्टअपको दाङ र हेटौडामा शाखा छन्। उनी जब गर्दा होस् या आफ्नो व्यवसायमा काम गर्दा होस्, इमान्दार भएर काम गरेको उनी सम्झिन्छिन् । ‘मैले एउटा टार्गेट बनाएपछि त्यसलाई पूरा गरेर मात्र छाडें, जसले मलाई आज यहाँसम्म ल्याएको छ,’ उनी भन्छिन् । उनी आफ्नो सफलतामा सन्तुष्ट छिन्, कति समय उनले नगरेको कामको आरोप पनि खेप्नु परेको छ तर घर परिवार, विशेष गरी आमाले दिने साथले उनलाई बलियो बनाउँछ र जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँछिन्। उनी आफू व्यवसायिक नैतिकतामा सचेत रहेको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो लागि इज्जत सबैभन्दा ठूलो कुरा हो, मैले अनैतिक काम गर्दैन, केही वर्ष अगाडि मलाई डिपेन्डेन्टको कागज बनाउँछ भन्ने गम्भीर आरोप लाग्यो, जबकी त्यो काम गर्न न के म सोंच्न पनि सक्दैन, यस्तो आक्षेपले मलाई केही कमजोर बनायो पनि तर सबैको साथले सम्हालिएर अगाडि बढें ।’ उनी आफ्नो आमालाई आदर्श मान्छिन् । ‘मलाई ममीले जस्तो सुकै अफ्यारोमा पनि बलियो हुनुपर्छ भनेर सिकाउनु भएको छ, व्यवसायमा लाखौंको क्षति हुँदा पनि उहाँले ढाडस दिएर सम्हाल्नु भएको छ,’ उनी भन्छिन्, ‘ममी आफूले पनि धेरै अफ्ठ्यारा भोग्नु भएको छ तर मैले अहिलेसम्म उहाँ रोएको देखेको छैन, सायद उहाँ आफैमा बलियो भएर पनि हो ।’ यो उनले संयोगले रोजेको क्षेत्र हो तर अध्ययनको क्षेत्र होइन, उनी अध्ययनसँग जोडिएको सामाजिक क्षेत्रमा रहेर काम गर्दै पनि आएको बताउँछिन् । जीवनमा आफूले सोचे जस्तो भयो भने पछि बालआश्रम खोल्ने उनको योजना छ ।