एउटै वडामा तीन करोडको सुन्तला उत्पादन

Image
तनहुँ । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब ३ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको नौ ओटा टोलमा व्यावसायिकरूपले सुन्तलाखेती भइरहेको छ । गत वर्ष पनि ३ करोड रुपैयाँ बराबरको सुन्तला विक्री गरेका यहाँका कृषकले अहिले पनि सोही हाराहारीमा सुन्तला विक्री गर्ने तयारी गरेको सुन्तला उत्पादक कृषक भीमबहादुर थापाले जानकारी दिए । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको उनको भनाइ थियो । यस वर्ष ५५ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गरेका थापाले भने, ‘धेरै वर्ष पहिला अधियाँ गरेर खानुपर्ने बाध्यता रहेकामा अहिले सुन्तलाले आत्मनिर्भर बनाएको छ ।’ उनका अनुसार शुरूका दिनमा थोरै ऋण माग्दा पनि कसरी तिर्ला भन्ने अहिले आम्दानी देखेर दङ्ग छन् । सुन्तला खेतीले कृषकको जीवनस्तर बदलिएको छ । यो वडाको लुङ्ग्रिङ, छिपछिपे, छापस्वारा, दगरालगायत ठाउँका कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गरिरहेका छन् । सुन्तला उत्पादनमा जिल्लाकै पकेट क्षेत्रका रुपमा देवघाट परिचित छ । थापाले भने, ‘विगतमा केही पनि अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता रहेका यहाँका कृषकले यतिबेला सुन्तला बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । लुङ्ग्रिङमा एउटै घरबाट २० लाख रुपैयाँभन्दा बढीको सुन्तला विक्री भएको छ ।’ स्थानीय विष्णुकुमार श्रेष्ठले विदेश वा अन्यत्र गएकाहरु पनि गाउँ फर्किएर सुन्तलाखेतीमा लागेको जानकारी दिए । उनले भने, ‘सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि बाहिर भएकाहरु गाउँ फर्किए ।’ छापस्वाँराका डिलकुमार श्रेष्ठले सुन्तलासँगै बाख्रापालनलाई अगाडि बढाएका छन् । यस वर्ष २ लाख ५० हजार रुपैयाँको सुन्तला बेचिसकेको उल्लेख गर्दै उनले भने, ‘५० वटा बाख्रा पालेको छु । सुन्तला र बाख्रा नै आम्दानीको स्रोत हो ।’ गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट सुन्तला उत्पादनमा पकेट क्षेत्रका रूपमा विकास भएको बताए । रासस  
Tags: