चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित

Image
भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) ५० हजार रुपैयाँले विक्री भएकाले किसान उत्साहित बनेका हुन् । यस वर्ष चिराइतो विक्रीबाट १८ लाख रुपैयाँ आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताए । शुरूमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी १० हजार रुपैयाँका दरले १० केजी बीउ बेच्न सफल भएको उनको भनाइ थियोे । ‘यो वर्ष चिराइतोले राम्रो मूल्य पाएको अवस्था छ,’ राउतले भने, ‘चिराइतो र यसको बीउ गरेर रु १८ लाखको विक्री गरें । शुरूमा मैले प्रतिमन ४४ हजार रुपैयाँमा बेचें, अहिले प्रतिमन ५० हजार रुपैयाँमा गाउँबाटै चिराइतो विक्री भइरहेको छ ।’ यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताए । ‘यस वर्ष चिराइतोको मूल्य बढेको अवस्था छ,’ उनले, ‘जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।’ टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र १ करोड ६५ लाख रुपैयाँको चिराइतो उठाएको उको भनाइ थियो । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी राईले जानकारी दिए । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो संकलन गरेर बाहिर पठाएको उनको भनाइ छ । अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताए । रासस
Tags: