नेपाल टेलिकमले रुकुम पूर्वमा समेत एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने तयारी

Image
काठमाडौं - नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउने भएको छ । आइतवादे देखि उक्त स्थानमा परीक्षण सेवा प्रारम्भ भएको टेलिकमले जानकारी दिएको छ । अन्तिम प्राविधिक परीक्षणपश्चात् छिट्टै ग्राहकमा समेत सेवा उपलब्ध गराइने प्रवक्ता शोभन अधिकारीले बताए । यसका लागि रुकुमकोटमा दुई वटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत १०२४ लाइन क्षमताको नेटवर्क तयार गरिएको उनको भनाइ छ । यस सेवामार्फत तीव्र गतिको डाटा, भ्वाइस र आईपीटीभी सेवा उपलब्ध गराउन सकिने बताइएको छ । यससँगै एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर उपलब्ध भएका जिल्लाको संख्या ७४ पुगेको छ । अब डोल्पा, मुगु र हुम्लामा मात्र यो सेवा पुग्न बाँकी छ । यी जिल्लामा पनि क्रमशः सेवा विस्तार गर्ने कम्पनीको योजना छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवा प्रदान गर्न सकिने भएकोले ग्राहकका लागि यो सेवा प्रभावकारी र उपयोगी छ । कम्पनीले यो सेवालाई ‘एनटी फाइबर’ को नाममा ब्रान्डिङ गरेको छ । नेपाल टेलिकमले एनटी फाइबर अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका लागि विभिन्न प्याकेज समेत उपलब्ध गराइरहेको छ ।
Tags: