धरशायी हुँदै नेपाली मिडिया
प्रतीक प्रधान | आजको दिन कुनैपनि पत्रिका उठाएर हेर्नुभयो भने तपाईंलाई माया लाग्छ । मूलधारका र ठूलो आर्थिक हैसियत बनाएका ठूला मिडियाको अवस्था यस्तो दयनीय छ कि यहाँ नाम नलिँदै सबैले त्यस्ता पत्रिकाको मरन्च्यासेस्वरूपको कल्पना गर्न सक्छन् । सबैजसो दैनिकमा कार्यरत पत्रकारले निरन्तर तलब पाउनु आश्चर्यको कुरा भइसकेको छ । तलब दिनेले पनि या त मान्छे घटाएका छन् या अरू सेवा र सुविधा । राम्रो कुरा के हो भने छापा माध्यममा अब थप लगानीकर्ता भने डुब्ने अवस्था छैन किनभने यो माध्यममा नयाँ लगानी आउने क्रम बन्दजस्तै भएको छ । यस्तो अवस्थामा सरकारी पत्रिका गोरखापत्रले भने आर्थिक रुपमा राम्रै गरेको देखिन्छ । टेलिभिजनको अवस्थाको धेरै बयान गर्नु पर्दैन । यसै पनि धेरैजसो टेलिभिजन च्यानलहरुले स्थापना कालदेखि नै आर्थिक सङ्कटको सामना गर्दै आएका थिए । सरकारी र अरू एक, दुई च्यानलबाहेक अरू सबै स्टेसनलाई हरेक महिना पत्रकार र कर्मचारीको तलबको जोहो गर्न हम्मे हम्मे पर्दै आएको थियो, अहिले अवस्था थप नाजुक बनेको छ । स्याटेलाइटको पैसा तिर्न नसकेर प्रसारण बन्द हुने अन्तिम बिन्दुमा पुग्दै, सकी नसकी उठ्दै टेलिभिजन च्यानल सञ्चालन भइरहेका छन् । यति हुँदा पनि अहिले करिब २०० टेलिभिजन च्यानल दर्ता छन् र १०० भन्दा बढीले केही न केही कार्यक्रम प्रसारण पनि गरिरहेका छन् । यस्तो अवस्थामा पनि नयाँ च्यानल खोल्ने, केही महिना चलाउने र त्यसपछि फत्रक–फत्रक परेर बाँच्ने चलन चलिनै रहेको छ । एक अनुमान अनुसार टेलिभिजन च्यानलका बाहेक काठमाडौँमा मात्रै अहिले करिब तीन÷चार सय नयाँ स्टुडियो बनेका छन् र तिनले क्यामरा, मिक्स्चरदेखि अनेक उपकरणमा अर्बौं रूपैयाँ बराबरको देशको विदेशी मुद्रा बाहिर पु¥याएका छन् । यो सबै खर्च युट्युबमा भिडियो बनाएर पैसा कमाइन्छ भन्ने अपरिपक्व ज्ञानका कारण भइरहेको छ । यो क्रम अझै पनि रोकिएको छैन । रेडियो यति बग्रेल्ती भए कि कसैलाई पनि कुनै पनि रेडियो स्टेसनको ब्यान्ड थाहा हुन छाडिसक्यो । इन्टरनेटमा एप मार्फत सबै रेडियो सबैतिर बज्नसक्ने अवस्था भएपछि रेडियोको संख्या पनि बढेर गयो । केही पत्रकारले जागिर पनि पाए । तर, अहिले धेरै रेडियोको अवस्था एउटा स्टुडियो, एउटा मेनेजर, एउटा पत्रकार, एउटा टेक्निसियन र एउटा पियन बन्न पुगेको छ । तर, प्रायः सबै स्टेसनका मालिक भने अनगन्ती छन् । सबैले रेडियोमा पैसा लगायो भने मिडिया मालिक बनिन्छ प्रहरी र प्रशासनलाई थर्काउन पाइन्छ, आफ्नो अन्य पेसालाई सहयोग हुन्छ भन्ने बुझेर पैसा लगाए । अहिलेको अवस्थामा सबैको लगानी डुबेको छ, फाइदा केही पनि पाएका छैनन् । उल्लेखित समाचार माध्यमलाई पुराना, परम्परागत मिडिया मान्दै आफूलाई नयाँ प्रविधिको नयाँ माध्यम भन्दै करिब एक दशकदेखि डिजिटल प्लेटफर्म प्रयोग गर्ने डट कम मिडिया च्याउसरी उम्रिए । सूचना विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन मिडियाको संख्या चार हजार नाघिसकेको छ । कोरोनाको समस्याअघि यो मिडियामा लागेका केही दर्जन संस्थाले आर्थिक रुपमा राम्रै गर्दै गएका थिए । तर, करिब एक डेढ वर्षदेखि डिजिटल माध्यमबाट मात्र पत्रकारिता गर्ने संस्था सबैमा ग्रहण लागेको छ । समग्रमा भन्दा अहिले नेपाली पत्रकारिता क्षेत्र नराम्ररी आर्थिक समस्याको भुमरीमा फँसेको छ र यसबाट बाहिर निस्कने निकट सम्भावना देखिएको छैन । सङ्कटका कारण पत्रकारितालाई पेसा बनाएर मिडिया उद्योगमा लागेका छापा, रेडियो, टेलिभिजन र डिजिटल माध्यम सबै यसरी एकै पटक धरासायी हुने अवस्थामा पुग्नुका पछाडि धेरै कारण छन् । यी कारणलाई मुख्यतः बाह्य र आन्तरिक कारणका रुपमा छुट्याएर समीक्षा गर्न सकिन्छ । बाह्य कारणको मूल कारक सूचना प्रविधिको विकास नै हो । तीन–चार सय वर्षदेखि चल्दै आएको छापा माध्यमको व्यापकतालाई ११० वर्षअघि सुरु भएको रेडियो प्रविधिले खासै विस्थापन गर्न सकेन । यी दुई माध्यमलाई सन् १९४० देखि सुरु भएको टेलिभिजन समाचारले विस्थापन गर्छ भन्ने धेरैलाई लागेको थियो तर त्यो पनि भएन । गएको आधा शतक छापा, रेडियो र टेलिभिजन तीनै थरीका समाचार सम्प्रेषणका माध्यम आपसमा सहयोग र प्रतिस्पर्धा गर्दै चले । तर, इन्टरनेटको व्यापकता र डिजिटल माध्यमबाट अक्षर, स्वर र भिडियो सबै एकैसाथ पढिने÷देखिने÷सद्रनिने भएपछि पारम्परिक मिडियालाई असर पार्ने अवस्था आएको भनिएको थियो । त्यही ढङ्गमा प्रभाव नपारे पनि अहिले सबै प्रकारको मिडिया नराम्ररी प्रभावित भएका छन् । सन् १९८० देखि अनलाइन न्युजपेपरको जन्म भयो । यस माध्यमले व्यापकता पाउँदै गर्दा पनि बिसौं शताब्दीको अन्त्यसम्म डिजिटल माध्यमका समाचार माध्यमले यसका पूर्वज माध्यमलाई विस्थापन गर्छ भन्ने देखिएको थिएन । तर, स्मार्ट फोनको व्यापकता र त्यस्ता फोनमा सामाजिक सञ्जालको बढ्दो प्रयोगले भने मिडिया उद्योगको मूलभूत ढाँचामा नै प्रहार ग¥यो । जुन डिजिटल समाचार माध्यमले पारम्परिक माध्यमलाई विस्थापन गर्छ भन्ने विषयमा छलफल हुँदै थियो त्यो अवस्थामा नै अचानक ठूलो परिवर्तन आयो । सामाजिक सञ्जालको व्यापकताले डिजिटल माध्यमका समाचार संस्थाहरुलाई नै पारम्पारिक मिडियाको श्रेणीमा धकेलिदियो । सामाजिक सञ्जालको व्यापकताले हरेक व्यक्ति आफैमा समाचार संस्थासरह भयो । व्यक्तिका मनमा लागेको कुरा उसले फेसबुक, एक्स (पहिलेको ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटक जस्ता माध्यमबाट प्रभावशाली ढङ्गले अभिव्यक्त गर्न सकेको खण्डमा एकैपल्ट लाखौँ व्यक्तिसम्म पुग्नसक्ने भयो, भाइरल हुने भयो । प्रविधिको विकासले गर्दा अब समाचार सङ्कलन गर्न संवाददाता नचाहिने भयो । कुनै पनि सूचनामा पहुँच भएको व्यक्ति सामाजिक सञ्जाल मार्फत आफै सूचना उपभोक्तासम्म पुग्नसक्ने भयो । उसले कुनै पत्रकार खोजिरहनु परेन । उसको सूचना कतिसम्म सम्प्रेषण गर्ने कति नगर्ने भन्ने सम्पादकीय विवेकको कुनै स्थान रहेन । उपभोक्ता आफैले कुन सूचना ग्रहण गर्ने, कुन नगर्ने र आफूलाई इच्छा लागेको कुन समाचारलाई फैलाउने भन्ने निर्णय गर्नसक्ने भयो । अर्थात्, समाचार उत्पादनकर्ताबाट सिधै उपभोक्तासम्म पुग्यो । अनि उपभोक्ता फेरि आफै त्यो सामग्रीको सहायक उत्पादनकर्तासरह अरू उपभोक्ताकोमा पु¥याउन सक्ने भयो । अहिलेका पाठकलाई के समाचार, के विचार र के विश्वसनीय समाचार के अविश्वसनीय केही फरक थाहा हुन छाड्यो । आफूले हे¥यो, चित्त बुझे विश्वास ग¥यो, नबुझे नग¥यो । पत्रकारले गर्ने समाचारको चयन र सम्पादकले प्रयोग गर्ने विवेकको समाचार उत्पादन र सम्प्रेषणमा कुनै स्थान नै रहेन । यस्तो अवस्थामा पनि पत्रकारिता, संवाददाताको समाचार चयनको कुशलता र सम्पादकको समाचारलाई कति महङ्खव दिने, कस्तो शीर्षक राख्ने र कुन आयतनमा सम्प्रेषण गर्ने भन्ने क्षमताको महङ्खव छ र रहनेछ । किनभने जसरी कुनै पनि भीडलाई कुन बाटोमा लग्ने, कति उग्र बनाउने वा कति प्रभावकारी बनाउने भन्ने निर्णय कुनै सक्षम नेताले गर्नसक्छ त्यसैगरी सूचना, विचार र समाचारलाई पनि सम्बद्ध विज्ञले दिएको महत्ताले प्रभाव पार्नसक्छ । तर, यहाँनिर आइदियो आर्थिक कारण वा भनौँ विज्ञापन । विज्ञापनको विषय आन्तरिक र बाह्य दुवै कारणका रुपमा व्याख्या गर्न सकिन्छ । यस विषयमा बृहत् छलफल चाहिन्छ । लेखको अन्त्यतिर यस विषयमा केही विचार पस्कने गरी अहिले अन्य आन्तरिक कारणको समीक्षा गरौँ । आन्तरिक कमजोरी नभई बाह्य कारणले मात्र नेपालको मिडिया आजको अवस्थामा पुग्ने थिएन । त्यसैले आन्तरिक कारणको समीक्षाले पनि किन धराशायी हुँदैछन् नेपाली मिडिया भन्ने प्रश्नलाई सम्बोधन गर्नसक्छ । नेपाली पत्रकारिताले आफ्नो विश्वसनीयता गुमाउँदै जानु नै यस उद्योगको सबैभन्दा प्रमुख कमजोरी हुन पुग्यो । विश्वसनीयता गुमाउनुमा दुई अवगुण प्रमुख रहेको देखिन्छ । पहिलो, पत्रकारले आफ्नो पेसालाई आफैमा साध्यका रुपमा नहेरी नयाँ–पुराना, सिनियर–जुनियर सबैले साधनको रुपमा मात्र हेरे । दोस्रो, पत्रकारितालाई आर्थिक उपार्जनको साधन र सामाजिक प्रतिष्ठा तथा अन्य व्यवसायको ढालका रुपमा हेर्नेको प्रवेश । पत्रकारिता आफैमा साध्य हो कि केवल कुनै लक्ष्यमा पुग्ने साधन मात्र ? कुनै पनि व्यक्ति पत्रकारितामा लाग्दा उसले पत्रकारिताका माध्यमबाट समाज परिवर्तनको सपना देख्छ कि यस क्षेत्रमा नाम कमाएर राजनीतिमा लाग्ने, अन्तर्राष्ट्रिय संस्थामा जागीर खाने, आफ्नो व्यापार गर्ने सोच राख्छ ? पत्रकारमा राजनीतिक अभीष्ट हुनु नै अहिले पत्रकारिताको दुर्गतिको प्रमुख कारण हो । हुनत विसं २०४७ सालको आन्दोलनअघि पत्रकारहरु राजनीतिक रुपमा सचेत नभएका भए हामीले प्रजातन्त्र देख्नै नपाउने हुनसक्थ्यो । त्यस्तै, विसं २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र मासेर एकतन्त्रीय शासनको सुरुवात गर्दैगर्दा पत्रकारहरु निष्पक्ष भएर बस्नुपर्छ भनेको भए २०६२÷६३ सालको आन्दोलन र लोकतन्त्र सफल नहुन सक्थ्यो । नेपाली पत्रकारले लोकतान्त्रिक समाजको निर्माण, विधिको शासन, समावेशी, संघीयता आदिको पक्षमा कलम नचलाएको भए २०७२ सालमा जनताको संविधान आउन सम्भव नहुन सक्थ्यो । तर, त्यति भन्दै गर्दा उल्लेखित विषयको समर्थनमा कलम चलाउनु आफै राजनीतिमा लागेको भन्ने होइन । लोकतान्त्रिक अधिकार, जनताका आर्थिक–सामाजिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रताका विषयमा कलम चलाउनु पत्रकारको व्यावसायिक धर्म हो । तर, राजनीतिक अभीष्ट पाल्नु र कुनै राजनीतिक दलको भातृ संस्था खोलेर आफूलाई पत्रकार हुँ भन्नु चाहिँ निश्चित रुपमा पत्रकारको व्यावसायिक धर्म विपरीत कार्य हो । यस विषयमा योभन्दा बढी लेखिराख्नु पर्दैन, बुझ्नेलाई इसारा नै काफी । पत्रकारिताको राजनीतिकरण नेपाली पत्रकार र पत्रकारिता क्षेत्रले विश्वसनीयता गुमाउनुको प्रमुख कारण हो तर सम्पूर्ण कारण भने होइन । यो पेसामा लागेर जसरी पनि आर्थिक रुपमा सफल हुनका लागि भयदोहन (ब्ल्याकमेल) गर्नु अर्को प्रमुख कारण हो । डिजिटल माध्यममा कुनै पनि पत्रिका खोल्नु र चलाउनु सहज बनेर गएपछि पत्रकार आफै मालिक हुन खोज्नु अस्वभाविक होइन तर संस्था चलाउन नसकेपछि राम्रो पत्रकार वा सम्पादक पनि व्यापारीलाई धम्क्याउने, तर्साउने वा फकाउने काममा लाग्न थाले । छापा, रेडियो र टेलिभिजन माध्यमले उकुसमुकुस पारेको अवस्थामा डिजिटल माध्यमको प्रवेशपछि धेरै पाठकमा नेपाली मिडियाप्रतिको आस्था झनै द्रुत गतिमा सकिएर गयो । व्यापारीको स्वार्थका लागि जे सुकै लेखिदिने मात्र नभई उसको प्रतिस्पर्धीको विषयमा बिनाप्रमाण जेसुकै लेख्न पनि नेपाली पत्रकार उद्यत देखिए । यस्ता कार्यले नेपाली पत्रकारिताको विश्वसनीयतालाई भिरबाट खसाल्ने काम भयो । पत्रकारहरु विदेशी दूतावासका निकट पात्र हुने, दूतावासबाट नियमित रुपमा आर्थिक सहयोग लिने, नेपालको हितभन्दा मित्रराष्ट्रहरुको हित पक्षपोषण गरेर फाइदा लिने परिपाटीले पनि पत्रकारिताको आवाज सशक्त, विश्वसनीय र जनमुखी हुन सकेन । धेरै भुइँफुट्टा पत्रकार नेपालको प्रधानमन्त्रीसँग भेट्दाभन्दा कुनै विदेशी राजदूतसँग पाँच मिनेट गफ गर्दा आफूलाई विशेष व्यक्ति सम्झन्छन् । यसले यिनको मानसिकताको परिचय आफै दिन्छ । तर, तिनले यो व्यवसायलाई पारेको दुष्प्रभाव भने बढेर गयो, जसको निराकरण सहज छैन । ठूला मिडिया हाउसले कुनै पनि उद्योग–व्यवासयलाई धम्क्याएरै गोल्डेन सेयर लिने, आर्थिक पत्रकारले सेयर बजारलाई उँचनिच पार्ने प्रकारका भ्रामक समाचार प्रकाशित गरेर आफै ठूलो लगानीकर्ता बन्ने आदि अनेक कारण छन् नेपाली मिडिया अहिलेको अवस्था पुग्नका लागि । राजनीतिक दलले पनि नेपालको पत्रकारितालाई कहिल्यै निरपेक्ष रुपमा नहेर्नु यस उद्योगका लागि समस्या भयो । हरेक राजनीतिक दल र त्यसका हरेक नेताले सबै पत्रकार र समाचार संस्थालाई कुनै न कुनै रुपमा आफ्नो वा अर्काको भनेर निकट वा परको व्यवहार गर्छन् । आफूलाई वा आफ्नो कार्यशैली आलोचना गरेको विषयलाई कुनै पनि नेताले स्वस्थ रुपमा ग्रहण गर्दैनन् । त्यस मिडियालाई आनो प्रतिस्पर्धीले पैसा खुवाएर लेखायो भन्ने आरोप लगाएर आनो कमजोरी लुकाउँछन् । तर, त्यस्तो प्रतिक्रियाले नेपाली पत्रकारिताप्रति जनता र कार्यकर्तामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा रत्तिभर वास्ता गरेको देखिँदैन ।पत्रकार सबै कसै न कसैको एजेन्ट हुन् भनेर सोच्नमा नयाँ पुस्ताका नेता एक कदम अगाडि देखिएका छन् । यसका दुई उदाहरण काठमाडौं महानगरका मेयर बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने हुन् । मेयर बालेन शाह कुनै पनि पत्रकार वा पत्रिकालाई विश्वास गर्दैनन् । आफ्नो एक एजेन्ट डिजिटल मिडियाबाहेक पत्रकारलाई महङ्खव दिनुपर्छ र समाजलाई सही बाटोमा डो¥याउन पत्रकारिताको जरुरत हुन्छ भन्ने विषयमा यिनलाई विश्वास पनि छैन र यिनको त्यति ज्ञान पनि पुग्दैन । पत्रकारिता नै गरेर राजनीतिमा प्रवेश गरेका रास्वपाका अध्यक्ष रवि लामिछानेले त आफूले पत्रकारिता छोड्दै गर्दा यो पेसालाई नै निकृष्ट देखाएर गए । उनको नागरिकताको विषयमा पत्रकारले प्रश्न उठाएको रिसमा पुरै पत्रकारितामाथि लामिछानेले जुन प्रकारको विष बमन गरे त्यसको व्यावसायिक र निष्पक्ष पत्रकारिताले निकै ठूलो घाटा बेहोर्नु परेको छ । सङ्कटमोचन पत्रकारिता क्षेत्रमा अहिले देखिएको समस्याको निराकरण खोज्नु पहिले नेता, उद्यमी, व्यवसायी, कर्मचारी र सर्व साधारण जनताले के बुझ्नु पर्छ भने जसरी हरेक क्षेत्रमा राम्रो र नराम्रो दुवै थरीका मानिस हुन्छन् त्यस्तै पत्रकारितामा पनि दुवै थरिका पत्रकार छन् । हामीले गलत प्रवृत्तिका व्यक्तिलाई निरुत्साहित गर्दै सही प्रवृत्तिलाई सहयोग र समर्थन गर्न नसक्ने हो भने देशमा के सही र के गलत भनेर बोल्नसक्ने जमात सकिन्छ । पत्रकारितालाई गुण र दोषको आधारमा मूल्याङ्कन गर्ने र सही पत्रकारिता गर्ने संस्था वा व्यक्तिलाई शासनको चौथो अङ्गको रुपमा सशक्त बनाउने कार्य सहजै र तुरुन्तै प्राप्त गर्न सकिने उद्देश्य होइन । अहिले धराशायी हुँदै गरेको मिडियालाई बचाउने हो भने यो पेसा बचाउने सबैभन्दा मुख्य आधार विज्ञापनलाई कसरी बाहिरिन नदिने भन्ने विषयमा सोच्न जरुरी देखिएको छ । नेपाली मिडियामा जाने धेरै विज्ञापन अहिले सामाजिक सञ्जाल र गुगलमा गइरहेको छ । यो अवस्था कायमै रहेको खण्डमा चाँडै नै नेपालमा स्वतन्त्र र व्यावसायिक मिडियाको उपस्थिति शून्यप्रायः हुने अवस्था छ । यसका लागि सरकारले तुरुन्तै सशक्त कदम चाल्नु पर्दछ । केही समय अघिसम्म पनि कसैले पनि सामाजिक सञ्जालमा विज्ञापन गराउनु परेको अवस्थामा बढीमा ५०० डलरसम्म सटही सुविधा पाउने व्यवस्था थियो । अहिले सो व्यवस्था कायम छँदै छ, अझ केही विज्ञापन एजेन्सीलाई सामाजिक सञ्जालमा विज्ञापन पठाउन १५ प्रतिशत कर र १५ प्रतिशत अतिरिक्त शुल्क लगाएर जति पनि डलर सटही सुविधा दिने काम सरकारको निर्देशनमा नेपाल राष्ट्र बैंकले गरिरहेको छ । यो व्यवस्थामा यथोचित सुधार नगर्ने हो भने नेपालको विज्ञापन बजारमा यही आर्थिक वर्षभित्र खडेरीको अवस्था देखिने आँकलन गरिएको छ । सामाजिक सञ्जालमा विज्ञापन जानै हुँदैन भन्ने ढिपी अहिलेको अवस्थामा तर्क सङ्गत हुँदैन । तर, नेपालीले विदेशमा कति मेहनत गरेर कमाएको विदेशी मुद्रालाई सहजै विदेशिन दिनु पनि हुँदैन, त्यो पनि नेपालका विज्ञापन एजेन्सी, पत्रकार र पत्रकारितामा संलग्न धेरैको रोजगारीलाई धरापमा पारेर । त्यसैले यसरी जाने विज्ञापनमा १५ प्रतिशत करका अतिरिक्त कम्तीमा ५० प्रतिशत शुल्क लगाइएमा केही विज्ञापन नेपालका पत्र–पत्रिकाका लागि सुरक्षित हुनसक्थे । त्यसबाहेक, नेपालका ठूला विज्ञापनदाता र उद्योगलाई विदेशी मिडियामा गरेको विज्ञापनलाई कर प्रयोजनको खर्चमा नमान्ने नियम लागु गरेमा पनि नेपाली मिडियाका लागि सरकारले ठूलो गुण लगाउँथ्यो । मिडिया उद्योगमा लगानी गर्नका लागि पनि केही सर्त लगाउनु अनिवार्य जस्तो देखिन्छ । यस विषयमा सरकारले अध्ययन टोली नै गठन गरेर मिडिया क्षेत्रमा लगानी गर्नका लागि कस्तो सर्त राख्ने भन्ने विषयमा छिट्टै नियम र कानुन बनाउनुपर्ने देखिएको छ । अहिले, अनलाइन मिडियाबाहेक अन्य मिडियामा धेरै लगानी नहुने अवस्थालाई ध्यानमा राख्दै यस्तो मिडियामा प्रवेशलाई नियमन गरिनु अत्यावश्यक छ । सरकारले स्वरोजगार मिडिया भनेर पाँच जनासम्मको संस्थालाई सहजै दर्ता गर्ने र प्रेस पास दिने नियम बनाएको छ । स्वरोजगार मिडिया सञ्चालन गर्न चाहने संस्थाको कम्तीमा तीनजनाको पत्रकारितामा दश वर्षको अनुभव हुनुपर्ने व्यवस्था गर्ने हो भने पनि अन्य पेसाबाट केवल प्रेस पास प्राप्त गर्न र कर्मचारीलाई धम्क्याउनका लागि पत्रिका खोल्नेको भिड कम हुनसक्थ्यो । पत्रकारितालाई स्वच्छ र निष्पक्ष बनाउन प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा केही विभेद छन् भन्ने विषय सर्वसाधारणलाई बुझाउन पनि अत्यन्त जरुरी भइसकेको छ । सबैको हात हातमा सामाजिक सञ्जाल मार्फत समाचार फैलाउने क्षमता भएको यस युगमा कस्तो समाचार व्यक्तिले दिन पाउने र के नपाउने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनु पर्दछ । नेपालको संविधानले अभिव्यक्ति स्वतत्रताको प्रत्याभूति गरेको छ । तर, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता एउटै कुरो होइन । आफूलाई परेको मर्का, समस्या वा विचार अभिव्यक्ति गर्न पाउनु संवैधानिक स्वतन्त्रता अन्तर्गत पर्छ होला तर अरूको विषयमा टिप्पणी, कुनै घटनाको समाचार वा समाजलाई असर पार्ने विषय अभिव्यक्ति स्वतन्त्रतामा नपर्न सक्छ । अभिव्यक्ति स्वतन्त्रताले नसमेटेको सूचना र समाचार सम्प्रेषण गर्न प्रेस वा पत्रकारले मात्र पाउँछन् भन्ने व्यवस्था स्पष्ट हुनुपर्दछ । अहिले यस विषयलाई केवल विद्युतीय कारोबार ऐन २०६४ ले मात्र सम्बोधन गरेको देखिन्छ । यो कानुनमा समयानुकूल परिमार्जन आवश्यक छ । अन्त्यमा, नेपालको पत्रकारिता क्षेत्रमा परेको सङ्कटको निराकरण गैरजिम्मेवार पत्रकारिता, व्यावसायिक घरानाको चाटुकारिता वा अझ उद्दण्ड भयदोहन होइन । पत्रकार आफैले अझ जिम्मेवार, निडर, निष्पक्षता र लोभरहित पत्रकारिता नगरी सरकारले अनुकूलका नियम र कानुन बनाइदिए तापनि तिनको सहारामा मात्र पत्रकारिता अड्न सक्दैन । – प्रधान नेपाल आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष हुन् , यो सामग्री समाजको स्मारिका ‘अर्थनीति’ बाट लिइएको हो ।