होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

Image
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघअन्तरर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित)को नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी उक्त माग गरेको हो । होटल व्यवसायले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पु¥याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गराउन आग्रह गरेको हो । यस्तै महासंघले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी ब्राण्डले रोयल्टीवापत कूल विक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी शुल्क लैजान नपाउने व्यवस्था भएको भन्दै त्यसमा समेत सहजीकरण गरिदिन माग गरेको छ । हाल ऐनमा विदेशी ब्राण्डले रोयल्टीवापत कूल विक्रीको ५ प्रतिशतभन्दा बढी नहुने गरी मात्र रोयल्टी लैजान पाउने प्रावधानले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन रहेको महासंघको ठहर छ । साथै अन्तरराष्ट्रिय ब्राण्डका होटलले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा विदेशी लगानी नेपाल भित्रिन तयार नरहने र हाल सञ्चालनमा रहेका होटलबाट पनि बाहिरिने अवस्था सृजना भएको महासंघको ठहर छ । समितिका सभापति वस्नेतले होटल व्यवसायसम्बन्धी विभिन्न संघ संस्थाबाट आएको सुझावका आधारमा प्रतिवेदन तयार पारेर यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाइएको बताए । सोही अनुरुप उद्योग मन्त्रालयले कात्तिक अन्तिम साता मन्त्रीस्तरीय निर्णय गर्दै रोयल्टीमा देखिएको समस्या समाधानका लागि समेत ऐन परिमार्जन गर्ने निर्णय गरिसकेको छ । उद्योग मन्त्रालयले अर्थ मन्त्रालयलाई पुस १ गते पत्र लेख्दै तारे होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगमा समावेश गर्नेगरी औद्योगिक व्यवसाय ऐनमा थप गर्न राय माग गरेको छ । भेटमा अर्थमन्त्री डा.महतले उद्योग व्यवसाय सञ्चालनमा सरकारले आवश्यक सहयोग गर्ने भन्दै व्यवसायीको मागका सम्बन्धमा आफूले अध्ययन गरेर सकारात्मक नतीजा दिने प्रतिवद्धता व्यक्त गरे । अर्थमन्त्रीसँगको भेटमा उपाध्यक्ष ढकाल, समितिका सभापति वस्नेत, होटल व्यवसायी शशिकान्त अग्रवाल, होटल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहलगायतका उद्योगी व्यवसायीको सहभागिता थियो ।  
Tags: