रमाइलो अंग्रेजी नयाँ वर्ष : पोखरामा २५औं संस्करणको ‘सडक महोत्सव’

Image
काठमाडौं – रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा ‘सडक महोत्सव’ गर्ने भएको छ । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सवको आयोजना गर्ने लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सडक महोत्सवको यो २५औं संस्करण हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटकलाई अंग्रेजी नयाँ बर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पुष १२ गते देखि १६ गतेसम्म पोखराको लेकसाइड क्षेत्रको करिव ३ कि.मि. क्षेत्रमा महोत्सव हुने महोत्सवका संयोजक विश्वराज पौडेलले जानकारी दिए । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजना गर्न गइरहेको यस महोत्सवले एउटा गर्विलो इतिहास बोकेको उनको भनाइ छ । परिवर्तित समयसँगै महोत्सवलाई पृथक र थप आकर्षक कसरी बनाउन सकिन्छ भनेर विभिन्न सरोकारवालाको सल्लाह सुझाव लिइएको उनको भनाइ छ । महोत्सवमा विभिन्न जातजातिको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन गरिने बताइएको छ । त्यस्तै रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडकनाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीको विषयमा केद्रीत गरी टक सो कार्यक्रम, स्वदेशमा उत्पादित हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । बालबालिकाको सहभागितामा चित्रकला प्रतियोगिता, पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्ट्री प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडि ल्याई सजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने भट्टराईले जानकारी दिए। २५ औं पोखरा सडक महोत्सव ५ दिनसम्म फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइड सम्म हुनेछ । पर्यटक लोभ्याउने यो मौसममा पनि पर्यटन मैत्री वातावरणमा सभ्य र भव्य रुपमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेको रेवानका महासचिव विकास भट्टराईले जानकारी दिए । नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्याउन सहयोग पुग्ने उद्देश्यले आयोजना हुन गइरहेको यो महोत्सव पोखराको मात्र नभई समग्र राष्ट्रको पर्यटन प्रवर्द्धनको उद्देश्य रहेको आयोजकको भनाइ छ। पर्यटन प्रवद्र्धनमा सडक महोत्सवको महत्वपूर्ण योगदान रहेको नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालिको टुवोर्ग वियर र द नेपाल डिष्ट्रिलरी प्रालिको नुड भुड्का, सह प्रायोजकमा सिग्नेचर हुस्की, खुकुरी रम र कोका कोला रहेका छन् भने यस महोत्सव प्रवर्द्धकमा नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् रहेका छन् ।
Tags: