युवालाई आयआर्जनमा जोड्न बतासको तालिम कार्यक्रम

Image
काठमाडौं– बतास फाउण्डेशनद्वारा युवालाई व्यावसायिक तालिम मार्फत आयआर्जनका क्रियाकलापहरुमा संलग्न गराउने उद्देश्यका साथ कार्यक्रम संचालन गरिरहेको बताइएको छ। युएसएड तयार नेपालसँगको सहकार्यमा तुल्सीपुर उपमहानगरपालिका दाङ्ग र दुल्लु नगरपालिका दैलेखमा विपद जोखिम न्युनीकरण र उत्थानशील समुदाय निर्माणका लागि सामाजिक उद्यमशीलता परियोजनाअन्तर्गत ७० जना तालिम सञ्चालन गरेको बताइएको छ । तालिम कार्यक्रमका समग्र क्रियाकलापहरु अगस्ट २०२३ देखि शुरु भएका हुन् । तालिम कार्यक्रम अप्रिल २०२४ सम्म संचालन हुने बताइएको छ । तालिममा सहभागी १९ जना स्थानीय महिला तुल्सीपुर उपमहानगरपालिकाको प्लाष्टिकजन्य फोहोर व्यवस्थापन र पुर्नउत्पादन गतिविधिको तालिममा छन् भने १२ नर्सरी उत्पादन संबन्धि तालिममा र १३ जना केराको थामबाट फाइबर उत्पादन र अन्य २६ जना भवन इलेक्ट्रिसियन विषयको तालिम दुवै पालिकामा सक्रियतापूर्वक सहभागीता जनाइरहेका छन् । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन प्रणालीलाई व्यबस्थित र दीर्घकालिन उपयोगिता अन्तर्गत सीप र ज्ञानसँग जोडी र सर्कुलर इकोनोमी समाधान मार्फत स्वस्थ वातावरण प्रवर्दन र पर्यावरणलाई प्रत्यक्ष सहयोग पुग्ने उद्देश्यका साथ तालिम संचालित रहेको संस्थाले जानकारी दिएको छ । तालिममा फोहोर व्यवस्थापन अभ्यास, पुनः प्रयोगका लागि अवसर र महिलाका लागि सरकारी सहयोगलाई समेत समेटिएको छ । कार्यक्रमले महिलाहरूले व्यवसायिक परियोजनाका रूपमा काम गर्न सक्ने र फोहोर व्यवस्थापनमा सहभागिता बढाउन सक्ने गरी पुर्नउत्पादनका लागि अवधारणाहरू पहिचान गरी महिलाहरुकै अग्रसरतालाई बढावा दिइएको छ । तालिम कार्यक्रमका लागि बतास फाउण्डेशनले राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गरी फिल्ड तहमा प्राविधिकहरु परिचालन गराएको बताइएको छ । सहभागी महिलाहरूमध्ये धेरैले घरमा उचित फोहोर व्यवस्थापनको अभ्यास नगरेको र अनुचित फोहोर फाल्ने परिणामबारे आफू अनभिज्ञ रहेको जानकारी दिएका छन् । तालिमले आफ्ना लागि आँखा खोल्ने काम गरेको र उचित फोहोर व्यवस्थापन अभ्यासको महत्व बारे समेत आफूहरुले जानकारी प्राप्त गरेको उनीहरुको भनाइ छ । घरमा प्लाष्टिकजन्य फोहोरमैला सबैभन्दा बढी उत्पादन हुने र फोहोरमैलाको उचित व्यवस्थापनमा महिला नै सबैभन्दा अनभिज्ञ रहेको उनीहरुले बताए । संस्थाले यस विषयले घरायसी तहबाट सुरु गरी फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा रोचक छलफल गराएको थियो । कार्यक्रमका विविध चरणहरुमा तुल्सीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, सुशासन तथा संस्थागत विकास समिति संयोजक धर्मराज वली लगायतका वक्ताहरुले यो परियोजनाले नगरको प्लाष्टिक व्यवस्थापन गरी महिलाहरुका लागि आम्दानी गर्न सफल हुने विश्वास व्यक्त गर्दै यसका लागि आफूहरुले आवश्यक स्रोत साधन व्यवस्थापन र समन्वयका काममा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरे । सरसफाइ तथा फोहोर व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले उपमहानगरको समग्र प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनमा यस परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने र उपमहानगरको तर्फबाट मिल्दो सबैखाले सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्। उपमहानगर उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखा प्रमुख राजु श्रेष्ठले महिलाद्दारा व्यवस्थापन गरिने फोहोर र त्यसबाट आयआर्जन समेत गर्न सकिने भएकाले लघु उद्यम स्थापना र विकासका लागि तुल्सीपुर उपमहानगरपालिका हरसहयोग गर्न तत्पर भएको जानकारी दिए। युएसएड तयार नेपालका तुल्सीपुर संयोजक श्रमलाल चौधरीले महत्वपूर्ण परियोजनामा सबै सरोकारवालाहरुसँग सहकार्य गरी कार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै परियोजनाको अपनत्व लिन तुल्सीपुर उपहमानगरले विषयको गाम्भीर्यतालाई हेरी बजेट विनियोजन लगायत र आयस्तर बढाउन महिलाहरूसँग मिलेर महत्वपूर्ण परियोजनाहरू सिर्जना गर्न समेत अनुरोध गरे । तालिममा बतास फाउण्डेशनका राष्ट्रिय व्यवस्थापक उद्धवराज अवस्थीले महिलाहरूलाई उनीहरूले समुदायमा फोहोर व्यवस्थापन र पुर्नउत्पादन मार्फत आफ्नो आयस्तर बढाउने अवसरहरूबारे छलफल गराएका थिए । बतास फाउण्डेशन आफ्नो स्थापनाकालदेखि मानवीय सेवा क्षेत्रमा काम गर्दै आइरहेको उनको भनाइ छ । उनले युएसएड तयार नेपालसँगको सहकार्यमा यस परियोजना मार्फत स्थानीय तहमा खेर गैरहेका र स्थानीय सरकारलाई व्यवस्थापनमा निकै व्यवधान भइरहेका वस्तुबाट व्यवसाय स्थापना गरी आम्दानी बढाउने र उक्त व्यवसायले प्रत्यक्ष परोक्ष रुपमा विपद् जोखिम न्यूनीकरण एवं पर्यावरणमा योगदान पुर्याउने लक्ष्य लिएको बताए । तुलनात्मकरुपमा सानो लगानीमा उपमहानगरपालिका भित्रको प्लाष्टिकजन्य वस्तुको व्यवस्थापनमा सबैभन्दा राम्रो उदाहरणका रुपमा यो परियोजना शिद्ध हुने र यसको प्रभाव महत्वपूर्ण हुने विश्वास समेत उनले व्यक्त गरे । यस परियोजनाको लक्ष्य लघु उद्यमहरू स्थापना गरी महिला केन्द्रित आर्थिक सशक्तिकरण अभिवृद्धि गर्नु भएको बताइएको छ । समुदायहरूमा प्लास्टिकको फोहोर कम गर्र्नेे र कम आय भएका क्षेत्रमा प्लास्टिकको फोहोर पुर्नउत्पादन मार्फत प्लास्टिक प्रदूषण र महिला सशक्तिकरणको मुद्दालाई सम्बोधन गर्ने अभियानलाई थप विकास गर्नु समेत कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । प्लास्टिकजन्य उत्पादनको मूल्य श्रृंखला चक्र वा क्षमतालाई सुदृढ गर्नु पनि यसको अर्को उद्देश्य रहेको संस्थाको भनाइ छ ।
Tags: