देउसीभैलोबाट सङ्कलित रकम भुकम्पपीडितलाई

Image
ललितपुर – नेप्सेम्याक ग्रुपका कर्मचारीहरूले देउसी भैलो खेलेर सङ्कलन गरेको १ लाख ११ हजार १११ रुपैयाँ रकम जाजरकोट भुकम्पका पीडितका लागि हस्तान्तरण गरिएको छ । बुधवार नेप्सेम्याक ग्रुपका अध्यक्ष टिकाराम दाहाल नेतृत्वको प्रतिनिधि मण्डलले उक्त रकम ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितमार्फत हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भने, ‘कर्मचारीले रमाइलो गरेर सङ्कलन गरेको रकम रमाइलो नै गरेर खर्च गर्ने चलन पनि हुन्छ तर देशको अर्को भागमा नागरिकले दुख पाइरहेको बेला हामी कसरी रमाइलो गर्नु बरु यो रकम भूकम्पपीडितलाई थोरै भए पनि राहत हुन्छ भनेर हस्तान्तरण गरिएको हो ।’ सहयोग रकम ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पण्डितले देश भित्र नागरिकमा भएको सङ्कट आफैलाई परेको हो भन्ने मानवीय भावना सबै नागरिकमा हुनुपर्ने बताए । नेप्सेम्याकले गरेको सहयोगले अरुलाइ पनि प्रेरित गर्नुपर्नेमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले बताए । जिल्ला प्रशासन कार्यालयमा बुधवार नेप्सेम्याक ग्रुपका सञ्चालक लक्ष्मीप्रसाद गेलाल, ग्रुपका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरे, कर्मचारी युनियनका अध्यक्ष सोमनाथ ढकाल, युनियन प्रतिनिधि तुल्सीराम सिटौला, शिव गिरी लगायतको उपस्थिति थियो ।
Tags: