मार्सल आर्ट केन्द्रमा जुडो, केन्दो र जिमन्यास्टिक प्रतियोगिता सम्पन्न

Image
काठमाडौं– बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, नयाँ बजारमा आज जुडो, केन्दो र जिमन्यास्टिक प्रतियोगिताको अन्तिम चरणका खेल सम्पन्न भएका छन् । २९ औँ महानगर दिवसको अवसरमा पारेर विभिन्न उमेर समूह र तौलमा खेल खेलाइएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वाना स्थान हासिल गर्ने विजेतालाई महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पदक र प्रमाण प्रदान गरेकी थिइन् । त्यस क्रममा बोल्दै उनले भनिन्, ‘पूर्ण प्रतिस्पर्धामा रहेका दुई खेलाडी, खेलपछि पूर्ववत् आत्मीय सम्बन्धमा हुन्छन् । खेल क्षेत्रको यो अनुशासन र गुण सबैले सिक्नुपर्छ । खेलमा रहेका बालबालिकाले यो गुणलाई जीवनमा अपनाउनु पर्छ ।’ खेल क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति, योजना र कार्यक्रम तर्जुमा गरेको बताउँदै डंगोलले, यसबाट राष्ट्रिय स्तरमा खेल खेल्ने खेलाडी उत्पादन हुने अपेक्षा राखेको बताइन् । त्यस क्रममा वडा नं। १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनले भनिन्, ‘जापानमा खेलाइने केन्दो खेल नेपालमा यहाँ मात्र प्रशिक्षण दिइन्छ । प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरुलाई अवसर दिनका लागि प्रयास गर्नु पर्ने अवको आवश्यकता हो ।’ त्यस क्रममा सञ्चालक समितिका सदस्य लक्ष्मीरत्न तुलाधरले भने, ‘मार्सल आर्ट केन्द्र परीक्षण सिद्ध भइसकेको छ । यसलाई प्राथमिक कार्यक्रमका रुपमा राखेर महानगरपालिकाले खेलको विकास र खेलाडी उत्पादनमा उल्लेख्य काम गर्न सक्छ ।’ केन्द्रमा खेलाइने खेलमध्ये केन्दो नेपालमा अन्यत्र कहीँ पनि प्रशिक्षण हुँदैन । महानगरपालिकाले खेलका प्रशिक्षकलाई यातायात खर्च दिने गरेको छ । यस्तै जुडोका लागि ५ सय रुपैयाँ, केन्दोका लागि ३ सय रुपैयाँ र जिम्न्यास्टिकका लागि १ हजार रुपैयाँ प्रशिक्षण शुल्क लिने गरेको छ । अहिले यहाँ जुडो खेलमा ४५ जना, जिम्न्यास्टिकमा ३७ जना र केन्दोमा १५ जना खेलाडीले प्रशिक्षण लिइ रहेकोे केन्द्रका प्रमुख दिनेशराज शर्माले बताए। यहाँबाट उत्पादन भएका खेलाडीहरु राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिस्पर्धामा विजेता बनेका छन् । फुपु ल्हामु खत्री जुडो खेलको साफ गोल्ड मेडलिस्ट हुनुहुन्छ । त्यस्तै रमेश मगरले साफ ब्रोन्च मेडल, उमेश मगरले थाइल्याडमा सम्पन्न इन्टरनेशनल ब्रोन्च मेडल र सुमिता मगरले यमनमा सम्पन्न एशियन च्याम्पियनसिप ब्रोन्च मेडल र दीपक श्रेष्ठले साफ सिल्भर मेडल प्राप्त गर्नुभएको खेलका मुख्य प्रशिक्षक धर्मकुमार श्रेष्ठले जानकारी दिए। केन्दोतर्फ शान्ति भण्डारी, अमित चौधरी, शैलेन्द्र कार्की, कमला लामा र दिपेश डंगोलले अन्तरराष्टिय स्तरमा सम्पन्न खेलमा स्थान हासिल गरेका थिए। यी खेलहरु सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया, थाइल्याण्डलगायत देशमा सम्पन्न भएका थिए । खेलहरु विहान साढे ६ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने गरेको छ । के हो मार्सल आर्ट केन्द्र ? नेपालको काठमाडौं र जापानको मात्सुमोतो नगरका बिचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भयो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँ बजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो । १ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले केन्द्रमा आंशिक क्षति पुग्यो । क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग ग¥यो । यसमध्ये जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट २० लाख येन प्रदान गरिएको हो । मात्सुमोतो नगरले समय समयमा केन्दो खेलका लागि आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ ।    
Tags: