कांग्रेसका युवा नेता विमल ज्ञवालीलाई पितृ शोक
काठमाडौं – नेपाल सांस्कृतिक महासंघका केन्द्रीय सदस्य, नेपाली कांग्रेस सत्यवती–काठमाडौं सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी विमल ज्ञवालीलाई पितृ शोक परेको छ । ज्ञवालीका बुवा पिताम्बर ज्ञवालीको गत आइतवार ७८ वर्षको उमेरमा निधन भएको हो ।
पूर्व जनप्रतिनिधि तथा समाजसेवी ज्ञवाली केही समयदेखि अस्वस्थ थिए। उनका श्रीमती, ४ छोरा १ छोरी छन्। संघीय सांसद तथा कांग्रेस नेता चन्द्र भण्डारीले ज्ञवालीको निधनले मर्माहत भएको बताएका छन्। ज्ञवालीको निधनले जिल्ला पार्टीमा ठूलो क्षति पुगेको उनको भनाइ छ । ज्ञवालीको निधनमा पार्टी जिल्ला सभापति खिलध्वज पन्थी, जिल्ला समन्वय समितिका सभापति दोर्ण खत्री, तरुण दल केन्द्रीय सदस्य कृष्ण खरेल, महासमिति सदस्य अमृत ज्ञवाली, महाधिवेशन प्रतिनिधि तुलसी पाण्डेय, भानु सुवेदी, सन्तोष केसी, प्रदेश सदस्य डा. प्रकाश ढकाल लगायतले भेटेर र पत्रमार्फत शोक व्यक्त गरेका छन्।
यसैबीच नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले दुःख व्यक्त गरेको छ । शनिवार दिवंगत भएका ज्ञवालीको निवासमा आयोजित शोकसभामा क्षेत्रीय सभापति पारिश्वर ढकाल, सत्यवती गाउँपालिका सभापति विष्णुप्रसाद भण्डारी, प्रदेश ‘क’का सचिव लिला क्षेत्री, सत्यवती–५ का सभापति नेत्र क्षेत्री, सत्यवती–६ का सभापति छवि भट्टराई लगायतले माला र फोटो अपर्ण गर्दै श्रद्धाञ्जली दिएका थिए ।
त्यस्तै सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेय, उपाध्यक्ष निरमाया तरामु, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य मोति भण्डारी, नेपाली कांग्रेस गुल्मी–काठमाडौं सम्पर्क समितिका सभापति ज्ञानबहादुर कार्की, समाजसेवी तथा कांग्रेस नेता योगराज कँडेल, पत्रकार कविराज भुसाल, नेकपा एमाले सत्यवती–५ वडा कमिटी लगायतले शोक व्यक्त गरेको बताइएको छ ।