राष्ट्रियसभामा डा. सम्वाहाङफेको चर्चा,  भन्छन्, ‘पार्टीले योगदानको मूल्यांकन गरेर उपयुक्त निर्णय लेला’

Image
काठमाडौं– निर्वाचन आयोगले माघ ११ मा राष्ट्रिय सभा सदस्यको लागि निर्वाचनको मिति सार्वजनिक गरेसँग आकांक्षीको बारेमा चर्चा शुरू भएको छ । आयोगको कार्य तालिका अनुसार पुस २३ गते मनोनयन दर्ताको कार्यक्रम छ । द्विसदनात्मक सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक तिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गते बाहिरिँदै छन् । ५९ सदस्यीय राष्ट्रियसभामा पहिलोपटक गोलाप्रथाद्वारा ६ वर्षे कार्यकाल निर्धारण भएको समूह बिदा हुँदै छ । विशेष गरी अब राष्ट्रियसभामा कसको उपस्थिति हुने भन्ने कुरामा सत्तारुढ घटक तिर ध्यान तेर्सिएको छ । सरकार समर्थित हरेक दलले आफ्ना उम्मेदवारको दाबी गरिरहेका बेला नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सह–इन्चार्ज डा.देउमान सम्वाहाङफेको सम्भावना बलियो देखिएको छ । पार्टीभित्र लोकप्रिय छबि बनाएका सम्वाहाङफे पटक पटक उपयुक्त भूमिकाको खोजीमा देखिन्छन्। पार्टी विभाजन नहुँदै नेकपा नेकपा एमालेको कानून विभाग सहइन्चार्ज र एमाले माओवादी एकीकरण पछि बनेको नेकपामा पनि कानून विभाग हेरेको अनुभव रहेका सम्वाहाङफेले नेपालको संविधानसभा(२०६४) को संरचनामा समावेशी दृष्टिकोणमा विद्यावारिधी गरेका छन्। पार्टीमा बलियो गरी आफ्नो विचार राखेर चर्चामा आउने गरेका सम्वाहाङफेलाई राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्ने सन्दर्भका प्रश्न गर्दा आफू सम्भावनाभन्दा बाहिर नभएको बताए। ‘अहिले नै त्यस्तो निर्णय भइसकेको त होइन तर पार्टीमा महत्वपूर्ण जिम्मेवारीमा रहेको र विगतदेखिको योगदानका आधारमा सम्भावना अनौठो होइन्, ’ उनले भने, ‘राष्ट्रियसभामा मेरो उपस्थितिले पार्टीको उपस्थितिलाई थप बलियो बनाउन र संस्थागत रुपमा एजेण्डालाई अगाडि बढाउन भूमिका खेल्छ।’
Tags: