काठमाडौं–मस्को हवाई सम्पर्क स्थापित गर्ने संयुक्त पहल गर्न चेम्बर–रुसी महासंघ एकमत

Image
काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपाल भ्रमणमा रहेको रुसी महासंघका व्यावसायिक प्रतिनिधिबीच भेटवार्ता भएको छ । भेटवार्तामा दुई मुलुकबीच संयुक्त लगानी एवं व्यापारिक साझेदारी गर्नेबारे छलफल भएको बताइएको छ । सो क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं र मस्कोबीच सीधा हवाई सम्पर्क स्थापित गर्नका पहल गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘नेपाल रुसबीचको कुटनीतिक सम्बन्ध बलियो छ, सयौं नेपाली विद्यार्थी इन्जिनियरिङ, चिकित्सा लगायतका विषय अध्ययनका लागि जाने गरेका छन्, रुसबाट पनि वार्षिक १० हजारको हाराहारीमा नेपाल घुम्न आउने गरेको सन्र्दभमा सीधा हवाई सम्पर्क सञ्जाल बढाउन सकियो भने दुवै मलुकलाई फाइदा पुग्छ ।’ नेपालको कृषि, पर्यटन, उद्योग एवं आईटी क्षेत्रमा लगानीको उच्च सम्भावना रहेको अध्यक्ष मल्लले बताए । रुसी लगानीको प्रतिफल सुनिश्चत गर्नका लागि चेम्बरले पहल गर्ने उनको भनाइ थियो ।सो अवसरमा हवाई सम्पर्क स्थापित गर्नका लागि दुवै देशका सरकारसमक्ष संयुक्त पहल गर्नुपर्ने रुसी महासंघका प्रमुख एलेक्जेण्डर एल रेवासले बताए । दुई मुलुकबीच अन्य व्यापारिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने उनको भनाइ थियो । टोलीले नेपालमा उत्पादन हुने चिया र यसको विश्वबजार बारे चासो राखेको थियो ।  
Tags: