अमेरिकन च्याम्बर्स अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ

Image
काठमाडौं – अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायहरूको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सन्राइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्ने बताइएको छ । एमच्यामका स्थापक अध्यक्ष अजित विक्रम शाहको योगदानलाई सम्मान गर्दै उनलाई संस्थापक अध्यक्षको रूपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रूपमा कार्यसमितिमा रहने बताइएको छ । श्रेष्ठले आफू नेतृत्वको टिममा उर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यवसायिक हितका लागि काम गर्ने बताए । उर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम संबन्धित बिभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तरराष्ट्रिय सम्मेलन तथा मेलाहरुमा सहभागी हुने बताए । साधारण सभाले अघिल्लो कार्यसमितिका कोषाध्यक्ष र सचिवले प्रस्तुत गरेको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । साधारण सभाको सहजीकरण एमच्याम सचिवालयका प्रमुख अमिरराज थापाले गरेका थिए ।    
Tags: