‘नेपालमै किन लगानी गर्ने ?,’ अर्थमन्त्रीले भने, ‘यसको जवाफ हामीसँग छ’

Image
काठमाडौं – अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा. महतले भने, ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।’ लगानीको वातावरण बनाउन के गर्नुपर्छ भन्ने कुरामा सरकार जानकार रहेको उनको भनाइ छ । ‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौं,’ अर्थमन्त्री महतले भने, ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र छन् । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको छ ।’ लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतीजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको उनको भनाइ छ । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित भएर आउने उनले बताए । ‘हामी लगानी सम्मेलन अगावै नेपालको सार्वभौम साख मूल्याङ्कन (कन्ट्री रेटिङ) को काम सक्छौं । सबै खालका समस्या र चुनौती हटाउन लागिपरेका छौं,’ विकास साझेदारसँगको छलफलमा अर्थमन्त्री महतले भने । छलफलमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले लगानीकर्ताले गर्ने प्रतिबद्धताअनुसारको लगानी प्राप्तिका लागि नीतिगत र प्रक्रियागत सुधार गरिरहेको जानकारी दिए । उनका अनुसार तेस्रो लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले आन्तरिक तयारी तीव्र पारेको छ । ‘सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक र कार्यान्वयन समितिको बैठक बसिसकेको छ । सार्वजनिक–निजी साझेदारीमा नेपालमा लगानी गर्नका लागि के कस्ता कानुनी र प्रक्रियागत समस्या समाधान गर्न आवश्यक छ भन्नेबारे छलफल भएको जनाइएको छ । सम्मेलनका क्रममा सोकेसमा राखिने आयोजनाको पूर्वतयारीका विषयमा पनि छलफल भएको थियो ,’ उनले भने । अगामी वैशाख ९ र १० गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारको तयारी छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । निर्देशक समितिको पहिलो बैठक मङ्सिर १० गते र कार्यान्वयन समितिको पहिलो बैठक मङ्सिर १९ गते बसेको थियो । प्राविधिक समितिको बैठक भने अझै बस्न सकेको छैन । सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी गर्ने वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने काम निर्देशक समितिको रहेको बताइएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीन छाता संस्थाका अध्यक्ष सदस्य छन् ।
Tags: