लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ प्यालेसद्वारा बिरुवा वितरण

Image
काठमाडौं– लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ प्यालेसले कागतीका विरुवा वितरण गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ३ घिमिरे गाउँमा रहेको सम्पूर्ण कृषि सहकारी संस्था लिमिटेडलाई कागतीका झण्डै २ सय वटा विरुवा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष कोषराज गिरीले बताए । सहकारीले ती बिरुवा गाउँका किसानलाई वितरण गर्ने गिरीले जनाएका छन् । सहकारी संस्थाका अध्यक्ष परशुराम दाहाललाई ती बिरुवा हस्तान्तरण गरिएको क्लबकी कोषाध्यक्ष चिजन पौडेलले बताइन् । क्लब अध्यक्ष गिरीले क्लबका सबै सदस्यको सक्रियताका कारण छोटो समयमै धेरै सामाजिक काम गर्न सकिएको भन्दै सबैप्रति आभार व्यक्त गरे । अध्यक्ष गिरीले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताएका छन् । क्लबले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्दैै आएको संस्थाका उपाध्यक्ष अनिल शर्माले बताए । बागबजार काठमाडौंमा रहेको डि–डास योकोसो एजुकेशनल कन्सल्टेन्सी प्राइभेट लिमिटेडका सञ्चालकसमेत रहेका शर्माले सामाजिक काम गर्नु आफैंमा चुनौती भए पनि सबैको सहकार्यले सम्भव भएको बताएका छन् । शर्माले केही समयअघि गौरादह–३ झापामा रहेको धिमधिमे युवा क्लवलाई खेलकुदका सामग्री वितरण गरिएको जानकारी दिए । संस्थाका सचिव राजु नेपालले सामाजिक कार्यमा सबैले आफ्नो ठाउँबाट सकेसम्म योगदान गर्ने गरेकाले संस्थाले सोचेअनुसार काम गर्न सम्भव भएको बताए । डिल्लीबजार काठमाडौंमा रहेको रिच एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशकसमेत रहेका नेपालले क्लबले योजना नै बनाएर काम गरिरहेको बताए। आयोजक संस्थाकी सदस्य तथा भक्तपुरको भक्तपुर अस्पतालकी डाक्टर डा. रोजी थपलियाले संस्थाले सामाजिक भावनालाई प्राथमिकतामा राखेकाले सबै पक्षबीच राम्रो समन्वय भएको बताइन् । उनले केही समयअघि क्यान्सर पीडित काठमाडौंकी अप्सरा आचार्यका लागि आर्थिक सहयोग उपलब्ध गराइएको जनाएकी छिन् । उनले विपतमा परेका मानिसलाई सहयोग गर्नु संस्थाको उद्येश्य भएको पनि बताइन् ।
Tags: