पर्यटकका आधार : हिमाल, हिउँ र हिमनदी
आङकाजी शेर्पा |
नेपाल कृषिप्रधान देश भए पनि कृषि क्षेत्रमा गुणात्मक, आधुनिकीकरण र व्यावसायीकरण नहुँदा अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । उपलब्ध स्रोत र साधनका आधारमा आवधिक योजनाहरुमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आए पनि अहिले आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । सरकारले कृषिलाई आर्थिक विकासको आधार भनिरहँदा पर्यटन क्षेत्र पनि समृद्व नेपालको आर्थिक विकासको प्रमुख पक्ष हो । एक मुठी माटोसमेत निर्यात नगरी अर्बौँ डलर भित्र्याउन सक्ने पर्यटन क्षेत्रको विकास रोजगार र आर्थिक विकाससँग जोडिन्छ । पर्यटन क्षेत्र उद्योगका रुपमा विकास हुँदै यसैबाट गरिबी निवारण, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन हुँदै आएको छ ।
राष्ट्रिय पहिचान बढाउन पनि योगदान गर्ने पर्यटन क्षेत्रलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिन्छ । नेपाल प्राकृतिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त पहिचान भएको देश भएकाले यहाँ पर्यटनका अपार सम्भावना छन् । पर्यटन गतिशील र तीव्र रुपमा विकास भएको एक प्रतिस्पर्धी क्षेत्र भए पनि पर्यटकको कुल आगमन संख्या र पर्यटकबाट हुने लाभको हिस्सा भने नेपालले एकदमै कम पाउने गरेको छ । तुरुन्तै प्रतिफल पाउने क्षेत्र मानिएको पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिँदै नेपाललाई पर्वतारोहण, पदयात्रालगायत साहसिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता छ । भूकम्प र कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्र अहिले लयमा फर्किएको छ ।
भूकम्प र कोरोना महामारीले सबैभन्दा बढी प्रभावित हिमाली पर्यटन क्षेत्र चलायमान भएको छ । देशमा ठूला–ठूला चेन होटल भित्रिएका छन् । नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई उडानले नयाँ रेकर्ड राख्न थालेको छ । नेपाल भित्रिने पर्यटकको संख्याले समेत इतिहासकै सर्वाधिक रेकर्ड राखेको छ । हिमाली दस्तुर वापत सरकारलाई प्राप्त हुने राजस्व बढेको छ ।
सरकारले यस वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएसँगै नेपाली पर्यटन जगत्मा नयाँ उत्साहको सञ्चार हुन पुगेको छ ।
सन् २०२३ को १० महिनामा नेपाल भित्रिने पर्यटकको संख्या आठ लाख नौ हजार ६७८ पुगेको छ । हाल अन्तर्राष्ट्रियतर्फ दैनिक झन्डै १५ हजार यात्रुले ओहोर–दोहोर गरिरहेका छन् । सन् १९४९ मा नीतिगत निर्णय भएर सन् १९५० देखि सुरु भएको पर्वतारोहणमा सन् २०२३ मा सबैभन्दा बढी आरोहीले सगरमाथा शिखर टेकेका छन् । एक सिजनमा सगरमाथाबाट मात्रै ७० करोड रूपैयाँ हिमाली दस्तुर सङ्कलन भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले हालै नेपालका प्रमुख हिमाली पर्यटकीय क्षेत्रमा गरेको अवलोकन भ्रमणले नेपालका हिमालको थप अन्तर्राष्ट्रिय प्रचार भएको छ । उहाँको भ्रमणले संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथामा नै जलवायु परिवर्तनको चपेटामा परेको सन्देश प्रवाहित गरेर उक्त एजेन्डालाई कोप–२८ मार्फत स्थापित गर्ने नेपालले अवसर पाएको छ ।
पर्वतीय पर्यटन जलवायु परिवर्तनका कारण अधिक मात्रामा हिउँ पग्लिँदा सङ्कटमा देखिएको छ । गुटेर्रेसले विश्वको शिखर सगरमाथा क्षेत्रबाट हिमाल, हिउँ र हिमनदी बचाउन जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायमा आह्वानसमेत गरेका छन् । सरकारले कृषि, जलविद्युत्, र पर्यटनमध्ये पर्यटनलाई नै पहिलो प्राथमिकता दिएर योजनासहित अगाडि बढ्नु पर्दछ । पर्यटन विकासको लागि सबैभन्दा ठूलो चुनौती भनेकै आधारभूत पूर्वाधारको कमी हो । पूर्वाधार विकास गर्न सके धेरै पर्यटक आगमन बढाउन सकिन्छ । राम्रो नीति भएमा ठूलो लगानीबिना नै प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने क्षेत्र हो पर्यटन । नेपाल जस्तो भूपरिवेष्टित र विकासोन्मुख राष्ट्रका लागि पर्यटन विकासको अनिवार्य सर्त हो । पर्यटन क्षेत्रको विकासले आर्थिक वृद्धि भई सम्पूर्ण नेपालीको जीवनस्तर उकासिन्छ । नेपाल र नेपालीले विश्वभर प्रसिद्धि पाउँछन् । पर्यटन क्षेत्रमा द्रुत गतिमा विकास हुनसके यही रोजगारीको आधार बन्छ र लाखौँ युवा बिदेसिनु पर्दैन । एक पटक नेपाल आउने विदेशी पर्यटकले नेपालको विज्ञापन गर्ने वातावरण बनाउन सरकार र निजी क्षेत्र एक भएर लाग्नुपर्छ । सरकारको नीति विकास र प्रवद्र्धन गर्ने मात्रै नभई लगानीमैत्री र पर्यटकमैत्री हुनुपर्छ ।
विविध समस्या
सरकारले विसं २०८० को दशकलाई नेपाल भ्रमण दशक र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा मनाउने वार्षिक नीति तथा कार्यक्रममा समेटेको छ । तर, सरकारसँग पर्याप्त राष्ट्रिय ध्वजावाहक नहुँदा विदेशी मुद्रा विदेशी हवाई कम्पनीहरुले नै लगिरहेका छन् ।
पर्यटकले भ्रमण गर्ने राष्ट्रको राष्ट्रिय ध्वजावाहक जहाजलाई बढी विश्वास गर्छन् । अहिले नेपाल वायुसेवा निगमसँग १५ वटा वाइडवडी जहाज भएको भए २५–३० लाख पर्यटक भित्र्याउन समस्या हुँदैनथ्यो । निगमलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन र सिधा उडानमार्फत लाखौँ पर्यटक भित्र्याउन निगमले थप जहाज खरिद गर्नु आवश्यक छ । पर्यटकले सिधा उडान, सस्तो हवाई भाडा र विश्वासिलो सुनिश्चित यात्राका लागि सम्बन्धित देशको हवाई सेवा रोज्ने भएकाले निगमसँग अहिले उपलब्ध जहाजको संख्या बढाउनुको विकल्प छैन । सरकारले पर्यटक उद्गम हुने देशसँग थप हवाई सेवा सम्झौता गर्ने, नयाँ हवाई प्रवेश बिन्दु तय गर्ने, नयाँ हवाई मार्ग प्रयोगका लागि छिमेकी राष्ट्रहरुसँग समझदारी एवं सम्झौता गर्ने योजना अघि बढाउनुपर्छ ।
पूर्वाधार विकास र सञ्चालन
सर्वाेच्च शिखरलगायत अन्य धेरै साहसिक पर्यटनका अवसर, हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको धरोहरलगायत विविध कारणले नेपालमा करोडौं पर्यटकको आगमन हुनुपर्ने देखिन्छ । तर हाम्रो अपुरो व्यवस्थापन, यातायातलगायतको पूर्वाधारको कमी, प्रचार प्रसारमा कमजोरी लगायत विविध कारणले पर्यटकको आगमन आशा गरेको अनुरूप वृद्धि हुन सकिरहेको छैन ।
नेपालको पर्यटनको विकासका लागि पूर्वाधारमा लगानी सबैभन्दा आवश्यक पक्ष हो । निजीक्षेत्र, निजी र सार्वजनिक क्षेत्रको साझेदारी तथा वैदेशिक लगानीबाट यस्ता पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छ । खासगरी हवाईस्थल र हवाई उडानलाई प्रभावकारी बनाउनु आवश्यक छ । पर्यटन क्षेत्रलाई देश विकासको प्रमुख आधार बनाउन पूर्वाधारको विकासको समेत उत्तिकै भूमिका छ । आर्थिक उन्नतिको आधार बन्ने ठूलो सपना देखेर अर्बाैँको लागतमा निर्माण भएका भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे अब सरकारले सोच्नैपर्छ । विमानस्थल सञ्चालनमा देखिएको समस्या र हवाई रुटको समाधान गर्न सरकार क्रियाशील हुनुपर्छ । दुई वटा नयाँ विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउन विमानस्थलमा विजनेस खोज्ने जिम्मेवारी र विकल्पबारे छलफल अघि बढ्नुपर्छ ।
हिमालमा असर
नेपालको पहिचान हिमाल हो । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई हिमाली मुलुक भनेर चिन्छन् । हिमाल बिग्रँदा, त्यसको असर पहाडी र तराई क्षेत्रमा पनि देखिन्छ । अध्ययनका अनुसार हिमाल बिग्रेको अनुपातको धेरै गुणा बढी असर पहाड र तराईमा पर्ने अध्ययनले देखाएको छ । हालै प्रकाशित एक प्रतिवेदन अनुसार सन् २१०० सम्ममा हिमाली क्षेत्रको हिउँ एक तिहाइभन्दा बढीले क्षति हुने प्रक्षेपण गरिएको छ ।
बढ्दो उच्च तापमान यही क्रममा रहने हो र विद्यमान कार्बन उत्सर्जनलाई घटाउने ध्याउन्नमा विश्व समुदाय नलाग्ने हो भने हिमाली क्षेत्रबाट करिब दुई तिहाइ हिउँ नै रित्तिने सम्भावना छ । विगतमा जाडोयाममा हिउँले हिमालका डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन् । हिमालमा हिउँको मात्रा घट्दै जाँदा जङ्गली फलफूल बेमौसममा नै फुल्न र फल्न थालेका छन् । पृथ्वीमा अहिले १.२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भइरहेको अध्ययनले देखाए पनि हिमाली क्षेत्रमा भने योभन्दा बढी तातो भइरहेको छ । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन हुँदै गएपछि हिमाली भेगमा बसोबास गर्नेहरु थातथलो छोड्न थालेका छन् । जलवायु परिवर्तनले हिमालमा हिउँ जम्न छाडेको, समयमा हिउँ र पानी नपर्ने समस्या बाक्लिँदै गएको छ । जलवायु परिवर्तनबाट हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका गर्दै हिमाल, हिउँ र हिमनदीको संरक्षणमा सरकार गम्भीर हुनु आवश्यक छ ।
सङ्कटमोचन
हिमालको प्रवद्र्धन गर्न सकेमा पर्यटनबाटै समृद्धि सम्भव छ । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्चालु पर्यटक नै पर्वतीय पर्यटक हुन् । पछिल्लो समय एकातर्फ दक्ष पर्वतारोही, सहयोगी, भरिया शेर्पासमेत विदेश पलायन हुन थालेका छन् भने अर्काेतर्फ कयौँ हिमक्षेत्रहरु खुला नहुँदा पर्यटन प्रर्वद्वनमा समेत असर पर्दै आएको छ । नेपालको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन मनासलु क्षेत्रसहित तत्काल थप हिमाल आरोहणका लागि खुला गर्नुपर्छ । सरकारले मनासलु क्षेत्रलाई खुला गर्नासाथ सिजनमा ९० हजार पर्यटक त्यहाँ पुग्छन् ।
पर्यटक आवागमन बढाउन र विदेशी मुद्रा आर्जनका लागि सरकारले आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्थासहित नयाँ हिमाल आरोहणका लागि खुला गर्नु आवश्यक छ ।
नेपालमा पाँच हजार आठ सय मिटरमाथिका एक हजार ७९२ वटा चुचुरा छन् । तीमध्ये ४०८ वटा आरोहणका लागि खुला गरिएका छन् । हाल एक हजार ३८४ वटा हिमाल आधिकारिक रुपमा खुला गरिएका छैनन् । नेपाल र चीनको बीचमा २५७ र नेपाल भाररबीच २८ वटा चुचुरा रहेका छन् । नेपाल र चीनको सिमानामा रहेका सबै चुचुरा खोल्न सरकारलाई सुझाव दिँदै आएका छौँ । आठ हजार मिटर उचाइका १४ वटा हिमालमध्ये आठ वटाले मात्रै विश्व पर्वतारोहण महासंघको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेकाले थप छ हिमाललाई समेत सूचीकृत गर्नुपर्ने चुनौती हामी सामु छ ।
पर्यटन व्यवसाय सेवामूलक व्यवसाय मानिन्छ यसलाई राजनीतिबाट मुक्त राख्नुपर्छ । पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्र धान्न सकिन्छ, समग्र पर्यटन क्षेत्रको विकास आजको आवश्यकता भएको भन्दै राजनीतिक मुद्दालाई छाडेर विकास निर्माणमा लाग्नुपर्ने देखिन्छ । विकासका लागि स्वच्छ राजनीति हुनुपर्ने भए तापनि राजनीतिले नीति कार्यान्वयनलाई फितलो बनाइदिन्छ । यद्यपि, पर्यटन क्षेत्र अहिले पनि व्यावसायिक बन्न भने सकेको छैन । पछिल्लो समय व्यवसायमै राजनीतीकरण हुँदा यो क्षेत्र विकृतिको दलदलमा फसेको छ, जसका कारण व्यवसायी–व्यवसायीबिचमै समन्वय नहुँदा अस्वस्थ प्रतिस्र्धा बढेको छ । राजनीतिक दलहरु विकास तथा पूर्वाधार निर्माणमा जिम्मेवार नहुँदा सरकारी योजना समयमै अगाडि बढ्न सकेका छैनन् ।
जति बढी पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिन्छ, त्यति नै बढी रोजगारीका अवसर सृजना हुन्छन्, विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । पर्यटकको संख्यामा वृद्धि गर्न सके यससँग सम्बन्धित होटल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, प्याराग्लाइडिङ, पर्वतारोहण, हस्तकला, पदयात्रा लगायत अन्य पर्यटन व्यवसाय चलायमान हुन्छ । जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थप लाभान्वित हुन वर्तमान पर्यटन ऐन २०३५ संशोधन गर्न आवश्यक छ । पर्यटन क्षेत्रका नीतिमा सहजता ल्याउँदै पर्यटन उद्योगको विकास र विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधीकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास र क्षेत्रमा लगानी बढाउन सरकारले ध्यान दिन आवश्यक छ ।
पर्यटन क्षेत्रको विकासबाट राष्ट्रिय आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन क्षेत्रको प्रर्वद्धन मार्फत संख्यात्मक तथा गुणात्मक रुपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्ने कार्यको पनि थालनी गरिनु पर्छ ।
नेपाल संघीय ढाँचामा प्रवेश भइसकेको परिप्रेक्ष्यमा समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचना निर्माण गर्ने, नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाई लागू गर्न सरकारले ध्यान दिनुपर्छ । पर्यटक आगमन बढाउन भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने, पर्यटन विविधीकरण तथा गुणस्तरमा वृद्धि, परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने, व्यावसायिक, दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यको पहिचान, प्रवद्र्धन तथा बजारीकरणमा समेत जोड दिनु आवश्यक छ । पदयात्रा मार्गहरु जोगाउने र वैकल्पिक पदयात्रा मार्गहरुको खोज, पहिचान र विकासमा स्पष्ट नीति हुनुपर्छ । पर्यटकको आगमन संख्या, बसाइ अवधि, प्रतिपर्यटक खर्च आदि बढाउन पर्यटकीय सम्पदा र वस्तुको विविधीकरण तथा विकास गर्दै विश्व पर्यटन बजारमा बजारीकरण गर्नुपर्छ भने दक्ष जनशक्ति विकासमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।
सरकारका तर्फबाट नीति निर्माण र पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ भने निजी क्षेत्रको गुणस्तरीय सेवा दिने र बजारीकरणमा विशेष ध्यान जानुपर्छ । संघीय ढाँचा अनुसार प्रादेशिक तहसम्मको पर्यटन प्रवद्र्धनका लागि नयाँ संरचना निर्माण गर्ने, नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेशअनुकूल हुने गरी नयाँ पर्यटन नीति बनाई लागू गरिनुपर्छ । हवाई सेवा सक्षम र बनाउनुपर्छ । पर्यटन व्यवसायमा दक्ष जनशक्ति अनिवार्य तयार गर्नुपर्छ । पर्यटकलाई आवश्यक वस्तु तथा सेवाको उत्पादनमा राज्य अग्रसर हुनुपर्छ । पर्यटकको सुरक्षा र उद्धारमा राज्य सक्षम बन्नुपर्छ । जसले गर्दा प्रत्येक पर्यटकले फर्केर नेपाल घुम्दा त्यहाँ सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकियोस् । पर्यटन उद्योगको विकास तथा व्यावसायिकता हासिल गर्न राज्यले पर्यटन व्यवसायको सुरक्षा र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । पर्यटन एउटा व्यवसाय तथा उद्योग भएकाले सरकार एक्लैले बल गरेर यसको विकास हुन सक्दैन । यसका लागि निजी क्षेत्रको संलग्नता आवश्यक हुन्छ ।
– शेर्पा पर्यटन व्यवसायी हुन् । (नेपाल आर्थिक पत्रकार समाज –सेजनको स्मारिका ‘अर्थनीति’ म्यागजिनमा प्रकाशित)