भरतपुरका घर घरमा स्वास्थ्य सेवा, मेयर दाहालद्धारा कार्यक्रमको उद्घाटन

Image
भरतपुर – भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य शुरू भएको छ । स्वास्थ्यकर्मीहरूले विशेष गरी नसर्ने रोग लागेका बिरामीलाई सेवा दिने बताइएको छ । बुधवार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरेकी हुन्। प्रमुख दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन्। कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन्। यस कार्यक्रममा समस्या देखिएका बिरामीको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उनले बताइन् । उनले भनिन्, ‘थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।’ यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ । दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ । यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिइन्। उनका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ । करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको बताइएको छ। स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ । महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् । वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
Tags: