नवराजलाई न्याय, २३ लाई जन्मकैद, प्रेमिकालाई २ वर्ष जेल

Image
काठमाडौं – अन्तरजातीय विवाह गर्न खोज्दा रुकुमका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जन्मकैदको फैसला भएको छ। अन्तरजातीय विवाहको विषयलाई लिएर तीन वर्षअघि रुकुमको सोती गाउँमा नवराजसहित ६ जनाको हत्यामा संलग्न भइ पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैद, तीनजनालाई जातीय छुवाछुटमा दुई वर्ष कैद र आठ जनालाई सफाइ दिइएको रुमक जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले जानकारी दिए। जातीय छुवाछुतमा दोषी ठहर भइ दुई वर्ष जेल सजाय पाउनेमा युवतीकी आमासहित अरु दुईजना छन्। जिल्ला न्यायाधीश खड्कबहादुर केसीको इजलासमा मुद्दाको अन्तिम सुनुवाई भएको हो। ०७७ साल जेठ १ जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए। दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराजसहित उनका साथीलाई लेखेटेर हत्या गरेका गरेका थिए। हत्यापछि शव भेरी नदीमा बगाइएको थियो। घटनामा ६ जनाको ज्यान जाँदा १२ जना घाइते भएका थिए। नवराज विकसहित घटनामा उनका साथीहरु लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो। घटनामा संलग्न रहेको भन्दै ३४ जनालाई प्रतिवादी बनाउँदै रुकुम(पश्चिम जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। प्रतिवादीहरू विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा सजाय माग दाबी गरिएको थियो।  
Tags: