नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

Image
काठमाडौं – बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले किओस्क मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले किओस्कमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुविधासँगै अब ग्राहकले आफ्नो अनुकुल समयमा कार्यालय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्न सक्ने बताइएको छ । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्वस्फूर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरुले पूर्ण रूपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जानकारी दिएको छ । हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याएको बताइएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । नबिल बैंकसँग हालसम्म १८ लाखभन्दा बढी ग्राहक संख्या पुगेको छ ।
Tags: