सञ्चार सहकारीको १२औं साधारणसभा सम्पन्न

Image
पोखरा – सञ्चार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथिको रूपमा सहकारीका जेष्ठ सदस्य सुवेदार मेजर यामबहादुर रानाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रको उद्घाटन गरेका थिए। पोखराको न्यूरोडस्थित सहकारीको आफ्नै भवनमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष विनोद ढुंगानाले पछिल्लो समय केही सहकारीमा देखिएको वित्तीय संकट र व्यवस्थापकीय कमजोरीले सहकारी प्रति आम बचतकर्ताको धारणा बदलिएको बताए। उनले त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर संस्थामा देखिए पनि सञ्चालक समितिको व्यवस्थापकीय कौशलका कारण कठिन र चुनौतिपूर्ण समयलाई पार लगाएर शेयर सदस्य र बचतकर्ताको बचतलाई सुरक्षित गर्न सफल भएको बताए। उनले भने, ‘हामीलाई शेयर सदस्य र बचतकर्ताको निकै ठुलो साथ र भरोसा मिल्यो, हामीप्रति उहाँहरुको विश्वास र उहाँहरु प्रति हामी जिम्मेवार भएकै कारण संस्थाले नियमित कारोबार गरिह्यो र कुनै पनि बचतकर्ता निराश हुनुपरेन ।’ सबैको साथले सञ्चारले आफ्नो गरिमा जोगाउन सफल भएको जनाउँदै उनले संस्थालाई अझ मजबुत बनाउन आगामी आ.व देखि सञ्चालक र व्यवस्थापकले ऋण सुविधा लिन नमिल्ने व्यवस्था गरिएको पनि जानकारी दिए । जिल्ला सहकारी संघ कास्की सञ्चालक धनराज पूरीले सहकारीले नीति नियम भित्र रहेर कारोवार गर्दा समस्या भोग्नु नपर्ने भन्दै सञ्चालक देखि बचतकर्ता शेयर सदस्य सबैले आर्थिक अनुशासनलाई पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सञ्चालक सचिव पवित्रराज तिवारीले आगामी कार्ययोजना सहितको प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष युवराज खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी लेखा समितिको वार्षिक प्रतिवेदन संयोजक गणेश पराजुलीले प्रस्तुत गरेका थिए । सो अवसरमा सहकारीमा कार्यरत बजार व्यवस्थापक सनम नेपालीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पाँच हजार सहित सम्मान गरिएको थियो । संस्थामा ४ सय ५४ शेर सदस्य रहेका छन् भने शेयर पुँजी ८ करोड ५६ लाख २५ हजार रहेको व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।  
Tags: