सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Image
काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकोले लगानी बढाउन संयुक्त अरब इमिरेट्स–युएईका लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्वरद्वारा संयुक्तरूपमा दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गरेका हुन् । सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो । सो अवसरमा युएईका अर्थ राज्यमन्त्री अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताए। उनले नेपाल र युएईबीच सुमधुर सम्बन्ध रहेकोले व्यावसायिक सम्बन्ध पनि बलियो बनाउंदै लैजान तयार रहेको विश्वास दिलाए। सोही फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गरे। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताए। अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफनै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे । दुबई चेम्बरका अध्यक्ष तथा कार्यकारी प्रमुख मोहमद लूताहले महासंघको सहकार्यमा सम्मेलन आयोजना गर्नु सुखद भएको बताए। साथै आगामी दिनमा पनि लगानी व्यापार विस्तार गर्न महासंघसंग सहकार्य गरिने उनको भनाइ थियो। महासंघको लगानी तथा अन्तरराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा लगानी सम्भावना बारे प्रस्तुति दिएका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।    
Tags: