अर्थतन्त्र सुधारमा सरकार–निजी क्षेत्रको एक मत : सहकार्यको खाँचो छ

Image
काठमाडौं – अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै मञ्चमा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामुहिक सहकार्यमा जोड दिए । कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पुर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समुहले अवान्छित फाइदा उठाउन खोजिरहेको बताए । अहिलेको व्यवस्थाप्रति स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भन्दै खड्काले सरकार जिम्मेवारीसाथ प्रस्तुत हुने बताए । अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उनले चाडै अर्थतन्त्र लयमा फर्किने दावि समेत गरे । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पूँजिबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उनको भनाइ छ । कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरे । बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बंैकले फिर्ता गराउने उनको प्रतिबद्धता छ । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बढी लिएको ४ अर्ब ७६ करोड ब्याज फिर्ता गराएको स्मरण गराए । उनले बैंकहरुले बढी ब्याज लिए भनेर तथ्य भन्दा बाहिर गएर गुनासो नगर्न समेत सबैलाई आग्रह गरे । उनले बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सहयोग गरिरहेको बताए । आर्थिक शिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरुले प्रोभिजन बढाउनु पर्ने भएकाले राष्ट्र बैंकले टाइट गरेको बताए । ‘खराब कर्जा नबढोस भनेर टाइट गरेको हो,’ उनले भने, ‘दक्षिण एशियाको तुलनामा नेपालमा खराब कर्जा कम छ ।’ अहिले जसले काम नगरेपनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको भन्दै उनले यसो गर्नुको अर्थ नभएको बताए । काम कोही पनि नगर्ने दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कन नहुने उनको भनाइ छ । कार्यक्रममा बैकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर १ प्रतिशतले घटेको बताए । अहिल बैंकको आधारदर ( बेसरेट) एकल अंकमा रहेको जानकारी गराए । उनले ब्याजदर अझै घट्दै जाने समेत जानकारी गराए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने सरकार, राष्ट्र बैकले स्विकार गर्नुपर्ने बताए । यसलाई स्विकार गरेर समाधानमा जानु पर्ने उनको भनाइ छ । उनले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचको आधारमा भन्दा विज्ञताको आधारमा हुनुपर्ने बताए । उनले अहिलेको अवस्थामा राष्ट्र बैंक माईक्रोम्यानेजमेन्ट तिर लागेको बताए । अझै पनि अर्थतन्त्र सुधारका लागि जे गर्छन पशुपतिनाथले पाउँछन् भनेर बस्न नहुने उनको भनाइ छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलको प्रकृयाका कारण लगानी भित्रन नसकेको बताए । नेपालमा माइक्रो र स्मल ईन्टरप्राइजेजमा ध्यान दिनु पर्ने सुझाव उनको छ । साना उद्यमीको रक्षा गर्न सके त्यसले अर्थतन्त्रमै योगदान पुग्ने उनको भनाइ छ । कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले जमानी बस्नेलाई कालोसुचीमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । ५ विधामा ६ पुरस्कृत, १ जनालाई फेलोसिप कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ५ विधामा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । एक जनालाई फेलोसिप प्रदान गरेको छ । सेजनले प्रत्येकवर्ष प्रदान गर्ने सेजन अवार्डबाट यसवर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको उक्त अवार्ड प्रदान गरिएको हो । यस्तै क्लिकमान्डुकर्मी राजेश बर्मालाई सेजन डिजिटल मिडिया अवार्डले पुरस्कृत गरेको छ । जसको राशी ५० हजार रहेको छ । त्यस्तै भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ । सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । यस्तै सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैयाँको हो । त्यस्तै एक लाख राशीको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ । कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ सार्वजनिक गरेको छ ।
Tags: