अन्तरराष्ट्रिय व्यापार मेला शुरू, लगानीको वातावरण बनेको छ : सभामुख

Image
काठमाडौं – सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन क्षेत्रमा लगानी गर्ने वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा शुरू गरेको ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को उद्घाटन कार्यक्रममा उनले विदेशी लगानीकर्ताले लगानी फिर्ता गरेर लैजाने क्रममा आफ्नो ध्यानाकर्षण भएको बताए। उनले भने, ‘म विदेशी लगानीकर्तालाई आग्रह गर्छु, अहिले नेपालका लगानीको वातावरण बनेको लगानी फिर्ता गर्ने होइन लगानी विस्तार गर्नुस्।’ प्रदर्शनी कक्ष निर्माणको लागि केन्द्रस्तरमा मात्र नभएर सातै प्रदेशमा प्रदर्शनी कक्ष निर्माणका लागि आफूले सरकारको ध्यानाकर्षण गर्ने बताए। मेलाले नेपाली उत्पादनलाई अन्तरराष्ट्रिय बजारमा स्थापित गराउने बताए । विदेश उत्पादकलाई पनि नेपालमा लगानी र बजार विस्तारमा सहयोग गर्ने महत्वपूर्ण अवसर रहेको बताए। कोभिडले थलिएको अर्थतन्त्र सुधार्न, नेपाली उद्यमीको मनोवल बढाउन र लगानीमैत्री वातावरण बनाउनको लागि मेला सहयोगी हुने उनको भनाइ थियो। मेला नेपालको पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अवसरको रुपमा आफूले लिएको उनको भनाइ थियो। आयात बढिरहेको वर्तमान परिपेक्षमा यस्ता मेलाले निर्यात प्रवद्र्धनमा भूमिका खेल्ने उनको भनाइ थियो। निकासीका लागि ढुवानी महंगो र उत्पादनका लागि कच्चा पदार्थको समस्या रहेको विद्यमान समस्याका बारेका आफू जानकार रहेको भन्दै उनले सबै उत्पादन नभए पनि पस्मिना लगायतका उत्पादनको निर्यात बजार विस्तारमा व्यवसायीले ध्यान दिन आवश्यक रहेको उनले बताए। उनले निर्यातयोग्य उत्पादनका सन्दर्भमा थप छलफल गरेर अगाडि बढ्नुपर्ने बताए। हरेक वर्ष महासंघले आयोजना गर्दै आएको मेला कोभिड महामारीका कारण नियमित हुन सकेको थिएन । महासंघले बिहीवारदेखि सोमवारसम्म मेला आयोजना भइरहेको छ । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल’ पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहेको छ। मेलामा चीनका ५५, भारतका ३०, बंगलादेश र पाकिस्तानका ८/८ स्टल छन् । मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला अवलोकन गर्न ५० रुपैयाँ टिकट दर तोकिएको तर आइएमई पे डाउन लोड गरेका अवलोकनकर्ताले निःशुल्क अवलोकन गर्न पाउने बताइएको छ । नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना भएको हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो । मेलामा आइएमई पे प्रमुख प्रायोजक रहेको छ भने इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी प्रा.लि. रहेका छन् । सह प्रायोजक हेरिटेज फ्लोरिङ कार्पेट र आइएमई ग्रुप रहेको बताइएको छ । मेलामा इन्टरनेट पाटनरको रुपमा मर्केन्टाइल कम्युनिकेशन प्रा.लि. रहेको छ ।
Tags: