‘नेपाल अन्तराष्ट्रिय व्यापार मेला’ बिहीवार देखि, मेलाको तयारी पूरा

Image
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला’को तयारी पूरा भएको जानकारी दिएको छ । हरेक वर्ष महासंघले आयोजना गर्दै आएको मेला कोभिड महामारीका कारण नियमित थिएन । महासंघले मङसिर १४ देखि १८ गतेसम्म मेलाको आयोजना गर्दैछ । मेला सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ । आयोजकका अनुसार उक्त मेलाका लागि अधिकाशं स्टल बुकिङ भैसकेकाछन् । मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशहरुको सहभागिता रहने छ। मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल’ पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने बताइएको छ । मेलामा चीनका ५५, भारतका ३०, बंगलादेश र पाकिस्तानका ८÷८ स्टल रहने छन् । २१० स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार हुने आयोजकको अपेक्षा छ । मेला अवलोकन गर्न ५० रुपैयाँ टिकट दर तोकिएको तर आइएमई पे डाउन लोड गरेका अवलोकनकर्ताले निःशुल्क अवलोकन गर्न पाउने बताइएको छ । नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो । नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न एक सशक्त माध्यम बन्दै आएको आयोजकको भनाइ छ । मेलामा नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विस्वास आयोजकको छ । सो अवसरमा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल एवं बिजनेश म्याचमेकिङ कार्यक्रम समेत राखिने बताइएको छ । उक्त छलफल कार्यक्रममा कृषि, जडिबुटी, औषधि, हस्तकला एवं दैनिक उपभोग्य वस्तुका विषयमा छलफल हुनेछ । मेलामा आइएमई पे प्रमुख प्रायोजक रहने छ भने इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी प्रा.लि. रहनेछ । सह प्रायोजक हेरिटेज फ्लोरिङ कार्पेट र आइएमई ग्रुप रहने बताइएको छ । मेलामा इन्टरनेट पाटनरको रुपमा मर्केन्टाइल कम्युनिकेशन प्रा.लि. रहने छ ।  
Tags: