‘नमस्ते पे’लाई ‘आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’

Image
काठमाडौं – नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवद्र्धित डिजिटल वालेट सेवा ‘नमस्ते पे’लाई ‘आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’को अवार्डले सम्मानित गरिएको छ । नमस्ते पेलाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनी लिमिटेडको निरन्तर प्रयास र नमस्ते पे ले आफ्नो स्थापनाको दिनदेखि नै नवप्रवर्तनात्मक विधुतीय भुक्तानीका समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ । मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेशनल बैंकिङ सिस्टम्स इन्टेलिजेन्स (आईबीएसआई) ले आयोजना गरेको थियो। आईबीएसआई विश्वको एक उत्कृष्ट वित्तीय प्रविधि (परम्परागत र नयाँ युग) अनुसन्धान, सल्लाहकार, र मिडिया कम्पनी हो। नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले नोभेम्बर २४,२०२३ मा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेका थिए। नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले प्रतिष्ठित विश्वव्यापी अवार्ड प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे । पोखरेलले थने, ‘यस अवार्डसँगै बैंक तथा डिजिटल शिक्षा हासिल गरेका मानिसहरूलाई मात्र नभई बैंकविहीन जनतालाई पनि वास्तविक वित्तीय समावेशीकरणमा आधुनिक सेवा प्रदान गरेर नगदरहित समाज निर्माण गर्नेतर्फ हाम्रो दायित्व बढेको महसुस गरेको छ।’ युएसएसडी च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधानको सुरुवातसँगै, ग्राहकहरूले डिजिटल लेनदेन गर्दा बिना इन्टरनेट पनि *500# डायल गरेर वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन् जसले उपभोक्ताहरूका लागि डिजिटल वित्तमा खुला पहुँच प्रदान गरेको छ। नमस्ते पे ले रिक्वेस्ट मनी सुविधामार्फत पीटूपी उधारो सेवा उपलब्ध गराएर उपभोक्ताहरूलाई प्रदान गर्ने सुविधाहरूमा नवीनताको पहलकर्ता समेत भएको छ र उपभोक्ताहरूलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन ‘स्पिलिट बिल’ जस्ता सुविधाहरू पनि ल्याएको बताइएको छ।
Tags: