आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण

Image
काठमाडौं – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले पूर्ण स्तनपान प्रवद्र्धनका लागि आमा समूहलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । केन्द्रले टोखा नगरपालिकासँग समन्वयमा गरेको उक्त कार्यक्रममा ७५ जनाको सहभागिता थियो । आमा र बच्चाको स्वास्थ्य सुधार गर्ने तथा कुपोषणजन्य रोगबाट बचाउने विषयमा जनचेतना जगाउने, स्तनपानको महत्व बारे जनचेतनामूलक स्वास्थ्य शिक्षा प्रदान गर्ने तथा मातृ शिशु मृत्युदर घटाउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी प्रदान गरिनुका साथै स्वस्थ जीवनशैली अन्तर्गत शरीरलाई हित गर्ने आहार विहारको विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रममा मुख्यतया स्तनपानको तरिका, महत्त्व, बच्चालाई आमाको दूधबाट प्राप्त हुने पोषणको बारेमा आमा समूहलाई जानकारी दिइएको हो । सो अवसरमा केन्द्रबाट स्तनपायी आमाकालागि प्रदान गरिने सेवाहरूको विषयमा समेत चर्चा गरिएको थियो । पूर्ण स्तनपान प्रवर्द्धनका लागि जिल्ला आयुर्वेद काठमाडौँबाट ६ महिना सम्मका सुत्केरी आमाहरूका लागि निःशुल्क औषधि वितरण गरिनुका साथै सो सम्बन्धमा परामर्श समेत दिइन्छ ।
Tags: