कोष ‘कोखदेखि शोकसम्म : प्रधानमन्त्री, ९ लाख श्रमिक समेटिए

Image
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कोषले श्रमिकलाई सुरक्षित बनाउन थालेको बताएका छन् । छैटौं सामाजिक सुरक्षा कोष दिवसको कार्यक्रममा बोल्दै उनले सम्पूर्ण नागरिकको कोखदेखि शोकसम्म कोषले सुविधा दिन थालेको बताए । सामाजिक सुरक्षा कोषमा स्थानीय तहसमेत जोडिन थालेको र यसले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई पनि आकर्षित गर्न थालेको बताउँदै उनले कोषको सुविधा धेरै नेपालीले लिन थालेको बताए । यसमा पछि परेका मजदूरसमेत जोडिन थालेको भन्दै योे ठूलो उपलब्धि भएको बताए । सरकारले सामाजिक सुरक्षा कोषका समस्या समाधान गर्दै जाने र श्रमिकमैत्री बनाउन लागिपरेको उनको भनाइ छ । सरकारले सामाजिक सुरक्षा कोषलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरूप अघि बढाउने कुरामा कुनै कमी हुन नदिने उनले बताए । उनले अर्थतन्त्रका समस्या समाधान गर्न सरकारले पहल गरिरहेको पनि बताए । उनले लघुवित्त, सहकारी, बैंक ब्याजसँग सम्बद्ध तमाम समस्या सहजीकरण गर्दै अगाडि बढ्ने विश्वास दिलाए । ‘हिजो मात्रै सुकुमबासी, स्वबासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाउन सर्कुलर गरिएको छ,’ उनले भने । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले स्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘अस्थायी र करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धताअनुसार काम अन्तिम चरणमा पुगेको छ । स्वीकृतिको लागि अर्थतन्त्र मन्त्रालयमा फाइल पठाएका छौं । यसलाई सरकारले अगाडि बढाउँछ,’ उनले भने । धेरै मुलुकमा आर्थिक संकट परेको बेलामा सामाजिक सुरक्षा कोषले मुलुक बचाएको इतिहास रहेको प्रसंग पनि उनले उल्लेख गरे । उनले कोषमा जम्मा भएको रकम परिचालन गरी रोजगारी सृजना गर्नु आवश्यक रहेको बताए । सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर ब्याज खान स्थापना नभएको बताए । उनले श्रम ऐनले दिएका अधिकार प्रयोग गरेर सम्पूर्ण रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने काममा श्रम मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेपालको लागि अन्तरराष्ट्रिय श्रम संगठनका निर्देशक नुमान ओजकानले सामाजिक सुरक्षा कोषले सम्पूर्ण श्रमिकलाई सुरक्षा दिने बताए । अनौपचारिक तथा औपचारिक क्षेत्रका सम्पूर्ण श्रमिकलाई समेट्ने भएकाले कोषले प्रदान गर्ने विविध योजनाको लाभ लिन सकिने बताए । सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिक समेटिए योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ९ लाख श्रमिक समेटिएका छन् । ती योगदानकर्ताबाट हालसम्ममा ४४ अर्ब ८५ करोड ११ लाख रुपैयाँ संकलन भएको कोषले जानकारी दिएको छ । योगदानकर्ता ले कोषमा वृद्धावस्था सुरक्षा योजनामा सबैभन्दा बढी ३७ अर्ब ३५ करोड ७१ लाख ४६ हजार रुपैयाँ जम्मा गरेका छन् । त्यसपछि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब २९ करोड २७ लाख रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा २ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ र अतिरिक्त योगदानमा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रकम संकलन भएको छ । संकलित रकमबाट कोषले २ अर्ब १७ करोड ७६ लाख रुपैयाँ प्रतिफल आर्जन गरेको जानकारी दिएको छ । कोषमा जोडिएका ९ लाखभन्दा बढी योगदानकर्ता मध्ये हालसम्ममा ९३६ जनाले कर्जा सुविधा लिएका छन् । उनीहरुले विभिन्न कर्जा सुविधाबापत १ अर्ब ७५ करोड ६० लाख रुपैयाँ कर्जा लिएका छन् । कोषले ९ हजार ७४४ जनालाई १ अर्ब ७२ करोड ४७ लाख ४२ हजार रुपैयाँ विशेष कर्जा दिएको बताएको छ । १७ जनालाई २ करोड ८९ लाख ३३ हजार रुपैयाँ घरकर्जा र ३ जनालाई २३ लाख ६४ हजार शैक्षिक कर्जा प्रवाह गरेको छ ।
Tags: