सरकार कसको बन्यो,किन बन्यो, राष्ट्रिय सभालाई किन चासो ? –सांसद अनिता देवकोटा
नारायण न्यौपाने | काठमाडौं – राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्छन् । उनले सरकारमा को आयो आएन, बजेट कस्तो ल्याइयो, महाभियोग र अविश्वासको प्रस्ताव किन भन्ने विषयमा राष्ट्रियसभाले वास्ता नराख्ने भएकाले त्यसरी बेग्ला–बेग्लै तोकेर जिम्मेवार बनाएमा निरन्तर र समयमै कानून निर्माण हुने विचार प्रकट गरे । सदस्य देवकोटाले भने, ‘विकास कसरी गर्ने, बजेट कहाँ हाल्ने अनि सरकार गठन र विघटनको काम उसले गर्छ । कानून समयमै निर्माण गर्ने हो भने विधेयक निर्माणको सम्पूर्ण काम राष्ट्रियसभाबाट हुनुपर्छ भन्ने पाटोबाट बहस चलाइनुपर्छ ।’ विसं २०४३ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेकी उनीसँग नेपाल महिला सङ्घ दाङको अध्यक्ष, महिला सङ्घकै केन्द्रीय सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य, दोस्रो संविधानसभा सदस्य भई काम गरेको अनुभव छ । देशमा भएका विभिन्न घटनाका कारण प्रतिनिधिसभा लामो समयसम्म अवरुद्ध भएको विगतका घटना सुनाउँदै उनले कानून निर्माणको प्रमुख थलो मूल जिम्मेवारी र कर्तव्यबाट प्रभावित हुँदा राज्य सञ्चालनमा पर्न सक्ने असरलाई समयमै सम्बोधन गर्न आवश्यक रहेको धारणा राखिन् । माथिल्लो सदनमा प्रतिनिधित्व गराउँदा विषयविज्ञको चयन गरिनुपर्ने सुझाव दिँदै उनले दललाई चुनावमा सहयोग गरेको, आफन्त र पीडितका नाममा जिम्मेवारी दिने सोच राखिए सभा ‘डम्पिङ साइट’ बन्न सक्ने खतराको चेतावनी दिइन् । बजेट विनियोजन र अवसर प्रदानका विषयमा सरकारले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच विभेद गरेको आरोप लगाउँदै नेत्री देवकोटाले हालसम्मका सबै सरकारले धेरै ठाउँ र विषयमा विभेद गरेकाले सांसद कानून निर्माणमा मात्रै केन्द्रित भएको बताइन्। राष्ट्रियसभालाई प्रतिनिधिसभाको छायाँका रूपमा मान्न नसकिने स्पष्ट गर्दै सदस्य देवकोटाले भनिन्, “केही अभ्यासले त्यो देखाएको हुनसक्छ, त्यसलाई सुधार्नुपर्छ, तर यहाँ सरकारले बरु छायाँ बनाउन खोजेको छ ।” जनता र राष्ट्रहितलाई शिरमा राखेरमात्र विधि निर्माण गरिनुपर्नेमा जोड दिँदै उनले भनिन्, “सबैको साझा भएकाले देश निर्माणमा राजनीतिक दल, जनप्रतिनिधि, राज्य र राष्ट्र लाग्नुपर्छ । सरकारमा को छ–छैन गौण विषय हो ।” बनाइएका कानून कार्यान्वयनको प्रभावकारिता परीक्षण र मापन हुनुपर्नेमा जोड दिँदै नेत्री देवकोटाले कानून तर्जुमा सबैको स्वामित्व कायम गराउँदै बनेका कानून कार्यान्वयनमा सरकारको तदारुकताको खाँचो औँल्याउनुभयो । राष्ट्रियसभामा आफ्नो छवर्षे कार्यकाल पूरा गरी तीन महिनापछि बाहिरिन लाग्नुभएकी सदस्य देवकोटाले ‘सांसदसँग रासस संवाद’मा सभाको गरिमालाई प्रभावकारी तुल्याएर दू्रतगतिमा कानून निर्माण गर्ने आफ्नो सोच पूरा हुन नसकेको प्रतिक्रिया दिइन्। उनले भनिन्, “द्रुतगतिमा काम गर्न सकिएको भए यसबेला सङ्घीयतासँग जोडिएका सबै कानून निर्माण भइसक्नुपथ्र्याे, त्यो भएन । तथापि, बुद्धि, बर्कत र विवेकले भ्याएसम्म कोसिस गरियो । यस अवधिमा सकेजति राम्रो गरियो, नराम्रो भने गरिएन भन्नेमा पूर्ण विश्वास छ ।” संविधानअनुकूल बनाइनुपर्ने कतिपय कानून उपसमिति संयोजकका हैसियतले जिम्मेवारीकै बखत सम्पन्न गरेको विवरण सुनाउँदै उनले मुलुक सङ्घीयतामा प्रवेश गरिसकेपछि कानून बनाउने र अधिकार प्राप्तिका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहबीच दोषारोपणकै अवस्था रहेको बताइन्। कानून निर्माणमा सरकारको अग्रसरताका लागि बारम्बार घचघच्याएको प्रसङ्ग सुनाउँदै सदस्य देवकोटाले प्रधानमन्त्रीसँग छलफल गरी सरकारको प्रतिबद्धता लिइए पनि परिणाम देखिने गरी प्रगति हासिल हुन नसकेको गुनासो गरिन्। प्रतिनिधिसभाबाट प्राप्त विधेयक छिटो टुङ्ग्याउनुपर्ने कानूनी व्यवस्थासँगै सरकारको समेत दबाब खेप्नुपरेको घटना सुनाउँदै उनले राष्ट्रियसभाबाट गएका विधेयक भने लामो समयसम्म अड्किने प्रवृत्तिको तीतो अभ्यास र अनुभूति झेल्नुपरेको भनाइ राखिन् । सङ्घीय संसद्ले स्थानीय तह र प्रदेशलाई साधनस्रोत र कानूनमार्फत बलियो बनाउनतर्फ विशेष पहलको खाँचो औँल्याउँदै नेत्री देवकोटाले त्यसका लागि अधिकार र कार्यक्षेत्र स्पष्ट गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजका सबै तह र तप्का सक्रियपूर्वक लाग्नुपर्छ भनिन् । सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध जोडिएको कानून निर्माण भए पनि प्रधानमन्त्रीको नेतृत्वमा रहने अन्तरसम्बन्ध परिषद्को बैठक नियमित र ठोस हुन नसकेको बताउँदै सदस्य देवकोटाले कानूनको गति पनि धिमा रहेको गुनासो गरिन्। उनले भनिन्, “सरकार कानूनभन्दा सरकार बनाउने, टिकाउने तथा प्रधानमन्त्री र मन्त्री बन्ने एवं बनाउने प्रतिस्पर्धामै सीमित रहन पुगेको छ ।” सङ्घीयताको पूर्ण कार्यान्वयन र जनहितका लागि तालिका बनाएर काम गर्न संसद् र सरकारलाई सुझाव दिँदै नेत्री देवकोटाले प्रतिनिधिसभा विघटन भएको अवस्थामा स्थायी सदनलाई पन्छाएर पत्रकार सम्मेलनमार्फत बजेट सार्वजनिक गरिनु व्यवहारिक नभएको टिप्पणी गरिन् । उनले भनिन्, “यस्तो बेला संविधान हेर्ने नभई असल अभ्यासको सुरुआत गर्न सक्नुपथ्र्याे । मुलुकलाई समृद्धितर्फ लैजान कानूनी पाटोबाट साझा र एकल अधिकारका प्रश्न टुङ्ग्याएर अब अघि बढ्नुको विकल्प छैन ।” नेत्री देवकोटाले निष्ठा, कुण्ठा र आक्रोशलाई बेलैमा सम्बोधन नगरिँदा हुने विस्फोटनबाट पुग्ने क्षति निकै भयवह र आकलन गर्न नसकिने भएकाले भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, रोजगारी सिर्जना र उद्योग कलकारखाना स्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिइन्। सङ्घ, प्रदेश र स्थानीय तहलाई सुदृढ तुल्याउन विशेष समिति गठन तथा महिला अधिकारका सम्बन्धमा सङ्कल्प प्रस्तावमा सरकारबाट भएको प्रतिबद्धता कार्यान्वयनको खाँचो औँल्याउँदै सदस्य देवकोटाले कानून निर्माणमा राष्ट्रियसभामा सत्ता र प्रतिपक्षको व्यवहार कहिलै महसुस नभएको प्रतिक्रिया दिइन्। एक प्रश्नको जवाफमा उनले भनिन्, “मतदाता, समाज र अभिभावकले पठाएको संस्थाको गरिमा र शिर निहुर्याउने काम गरिनँ । जतिसके राम्रो गरेँ । राजनीतिबाट यो मेरो विश्राम होइन, भूमिका र परिवेशानुसार कामबाट सन्तुष्टि छ ।”