काठमाडौंको फोहोर व्यवस्थापन गर्न ‘जेरो वेस्ड कन्सेप्ट’ प्रभावकारी हुन्छ : नेता सिंह

Image
काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको बताएकाछन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ड कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौं भनेर सब प्रोग्राम बनाएँ । पैसा पनि छुट्याएँ, एक्स्पर्टहरु लगाएँ, डिजाइन पनि गरें । पछि कुरा उठेछ, यस्तो राम्रो काम गर्यो भने त प्रकाशमानलाई भोट बढ्छ भनेर त्यो कार्यक्रम नै भएन ।’ यसबाट आफूले मात्र राम्रो काम गर्छु भन्दैमा जनताले त्यसमा समर्थन नगरेमा नहुँदो रहेछ भन्ने अनुभव हासिल गरेकोसमेत बताए । अर्को एक प्रसंगमा उनले राजनीतिक वा विकास निर्माणको काम मात्र नभई घरायसी समस्याबारे पनि आफूलाई जानकारी दिए ती समस्या समाधान गरिदिने आश्वासन समेत दिए । समस्याबारे जानकारी भए वडा, प्रदेश र प्रतिनिधि सभाका सबै तहका जनप्रतिनिधिहरु मिलेर समाधान गर्न तत्पर रहेको बताउँदै उनले भने, ‘तपाईंहरुको समस्या हामीलाई भन्नुपर्यो । हामीसँगै बसेर समस्यालाई समाधान गर्छौं ।’ काठमाडौंमा रहेको बेला बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा शुक्रबार र सोमबार आफू पुग्ने गरेको भन्दै उनले कुनै समस्या आए आफूलाई जानकारी दिन आग्रह गरे । उनले भने, ‘खाली पोलिटिकल, पूर्वाधार विकास, ढलको समस्या मात्र होइन, तपाईंहरुको घरमा, छोरीको पढाइलेखाइमा, स्कलरसिपको बारेमा भन्नुपर्यो । भनेपछि न हामीलाई थाहा हुन्छ । घरैपिच्छे के प्रबलम छ भन्ने कुरा त हामीलाई थाहा हुँदैन नि त । तर तपाईंहरुले जनप्रतिनिधिहरुलाई विश्वास गरेर भन्नुपर्यो ।’
Tags: