मङ्सिर २१ र २२ मा एनबीआईको ‘जिम्मेवार व्यवसाय सम्मेलन’

Image
काठमाडौं – राष्ट्रिय व्यावसायिक पहल –नेशनल विजनेश इनिसियटिभ (एनबीआई)को चौथो ‘जिम्मेवार व्यवसाय सम्मेलन’ मङ्सिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । सम्मेलनमा बदलिँदो परिस्थिति र उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सकिन्छ भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाका ११ ओटा विषयमा विभिन्न प्रस्तुतिमार्फत छलफल गरिने आइतवार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । समाज विधाअन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय उर्जासम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवद्र्धन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् । कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, सिंगापुर, जापानलगायत देशका विज्ञ तथा वक्ताहरूको प्रस्तुति रहने बताइएको छ । ३० भन्दा बढी वक्ता रहने यस सम्मेलनमा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधि, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रको सहभागिता रहने राष्ट्रिय व्यवसायिक पहलले जानकारी दिएको छ । विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषयमा छलफल गर्न सम्मेलन अझ बढी सान्दर्भिक हुने आयोजकको विश्वास छ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट सम्मेलनको प्राज्ञिक साझेदार छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरूको सहकार्य रहने बताइएको छ ।  
Tags: