किड्नी विक्रीमा............!

Image

काठमाडौं ।

‘मेरो किड्नी बिकाउमा छ कसैलाई चाहिन्छ भनी सम्पर्क गर्नु होला मलाई बेभार चलाउन धेरै गरो भएको हुनाले म किड्नी बेच्न खोजेको हो नेपाल सरकार सँग पनि मेरो अनुरोध नरोक्नाको लागि ।’ सम्पर्क नम्बर ........... ब्लड ग्रुप A+

किड्नी बेचेरै परिवार चलाउन बाध्य भएका घटना सुनिँदै आएका हुन्। किड्नीको अवैध कारोबारमा संलग्न गिरोह नै संलग्न भएको पनि सुनिन्छ । अवस्था यस्तो पनि आयो, ‘कसैले आफ्नै किड्नी विक्रीको सार्वजनिक सूचना निकाल्ने बाध्यता छ ।’ शुरूको सूचना नवलपूरको कावासोतीका एक व्यक्तिले केही दिन अगाडि आफ्नै किड्नी विक्रीमा राखेको सूचना केही दिनदेखि सामाजिक सञ्जालमा समेत देख्न सकिन्छ। हाम्रो सम्पर्कमा आएका कावासोतीका ३८ वर्षीय पुरुषले आफू कठिन आर्थिक अवस्थाबाट गुज्रिएको र विकल्प नभएपछि किड्नी विक्रीको सूचना निकालेको बताए । ‘आर्थिक अवस्था सुधार्न म सानो गाडी किनेर देशमै केही गर्ने कोशिश गरें, सफल नभएपछि विदेश(दुबई)पनि गएँ तर केही गरे पनि अवस्था सुध्रिएन र यो सोच मनमा आएको हो,’ उनले भने। उनी तीन वर्ष अगाडि दुबई गएर दुई महिना अगाडि मात्र नेपाल फर्किएका हुुन्। डेढलाख खर्चिएर विदेशिएका उनले तीन वर्षमा ऋण सकिनुको सट्टा उल्टो थपिएको बताए। ‘डेढ लाख खर्च गरेर दुबई गएको हुँ, महिनामा ८०० दिराम कमाइ हुने, जाँदा लागेको ऋण, घरमा गाडीको किस्ता तिरेर घर खर्च धानुँला भनेको थिए तर भएन,’ उनले भने, ‘उल्टो घरमा श्रीमतीले भएको गाडी २ लाखमा विक्री गरेर, ऋण थोपरेर कुवेत गइन्, अहिले सम्पर्कमा पनि छैनिन्।’ उनले गाडी किन्दा सहकारीबाट ऋण लिएको बताए। मासिक १४ हजार रुपैयाँ सहकारीको किस्ता छ। २ छोरासहित सुकुम्बासी वस्तीका बस्दै आएको बताउने उनले भने, ‘व्यभारबाट बाहिर आउने सफल नभएपछि गएको वर्ष आत्महत्याको कोशिश गरेको हुँ तर बाँचियो, अब श्रीमतीले छाडेर गई छोराका लागि भएपनि बाँच्नुपर्ने छ।’ सामान्य लेखपढ गर्न सक्ने योग्यताका उनलाई किड्नी विक्री गर्दा कति पाइन्छ भन्ने थाहा छैन, कहाँ विक्री हुन्छ र कसले किन्छ पनि थाहा छैन तर किड्नी बेचेपछिको योजना सहितको सपना भने उनीसँग छ । ‘किड्नी बेचेर ऋण तिर्छु, भत्किन लागेको घर मर्मत गर्छु, बचेको पैसाले सानो गाडी किनेर कपडाको व्यापार गर्छु, ’उनले भने। किड्नी विक्री गर्न मिल्ने वस्तु होइन, यो त दान गर्ने कुरा हो त्यो पनि निश्चित प्रक्रिया र नाताभित्र मात्र दान गर्न मिल्छ, यसरी सार्वजनिक सूचना राख्नु त गैरकानूनी कार्य हो नि ? भन्ने प्रश्नमा उनले भने, ‘थाहा छ तर वाध्यता छ, मेरो अंगमा मेरो अधिकार छ, मेरो समस्या कसले समाधान गर्ने ? किड्नी दुईटा छन्,एउटा नभए पनि बाँचुला तर समस्या बोकेर कति दिन बाँच्ने ?’ । सूचना राखेपछि उनलाई प्रहरीले सोधपुछको लागि लगेको बताए। आइतवार प्रहरीले सोधपुछ पछि छाडेको बताउने उनले आफूले प्रहरीसँग पनि यही समस्या दर्साएको बताए।

Tags: