– कविता शर्मा

मेरो छोरा आफ्नै रोजाईको विद्यालय पढिरहेको थियो । समय निकालेर एक बिहान म उसको विद्यालयमा पुगें । आहा कस्तो रमाईलो, उसले पढ्ने एउटै कक्षा कोठामा शारिरिक अपाङ्गता भएका दृष्टिविहिन, कान सुन्न र बोल्न नसक्ने सबै खाले बालबालिकाले आफ्नै परिभेषमा पढ्न पाएका थिए , कक्षा कोठामा शिक्षिकले कसैलाई साङ्केतिक भाषामा कम देख्नेलाई कक्षाको अघिल्लो सिटमा राख्नुभएको थियो । सुनाईमा समस्या भएकाले कानमा सुन्ने मेसिन लगाएका थिए, ह्वीलचेयर प्रयोग गर्ने विद्यार्थीकोलागि कक्षा कोठासम्म जाने र्याम ठुलो ढोका भएको, शौचालय जानको लागि कुनै समस्या नभएको भित्रसम्म ह्वीलचेयर जाने कस्तो व्यवस्थित ! कसैलाई लौन मलाई सहयोग गर भनेर हारगुहार गर्नै नपर्ने । प्रत्येक कक्षा कोठामा अब के हुन्छ , अबको कक्षा कस्को हो प्रष्ट बुझ्न सक्ने गरि पटक पटक भनिरहनुभएको थियो । त्यसमा पनि साथीहरूले पाइला पाईलामा सहयोग गरिरहने न त ब्रेल किताबको अभाव नत स्लेट स्टाटसको समस्या, नत भौतिक संरचनामा पुग्न नै समस्या ।

यता अर्को भवनमा बौद्धिक अपाङ्गता भएकाहरूको लागि के गर्न सक्छन् कसरी यिनीहरुको दैनिक जीवनयापनमा सजिलो होस् भनेर व्यवसायिक कक्षाको व्यवस्था गरिएको थियो । त्यसमा बालबालिकासँगै अभिभावक पनि आहा कस्तो राम्रो व्यवस्था गरेको राज्यले, साँच्चै समावेशी शिक्षाको अवधारणा अनुरुप व्यवस्था गरेको । राज्यले साँच्चै बुझेको रहेछ, जसरी नै बालबालिका एक अर्कामा फरक फरक हुन्छन् तिनमा फरकपन शारिरिक मानसिक, सामाजिक, आर्थिक, साँस्कृतिक आदि रुपमा अभिव्यक्त भएको हुन्छ । हुन पनि राज्य आफैलेसबै बालबालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित हुने घोषणा रहेको छ नि । सबै बालबालिकाको पंक्तिमा केटाकेटी, साङ्ग–अपाङ्ग, धनी–गरिव, छिटो सिक्ने –ढिलो सिक्ने लगायत सबै पर्दछन् भन्ने कुरा राज्य र समाजले बुझेको छ । अपाङ्गता भएका बालबालिकाहरूका आफ्नै किसिमका सक्षमता तथा सिमितताहरू हुन्छन भन्ने पनि बुझेकाछन् ।

नेपालको संविधान २०७२ लगायत राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरमा भएका घोषणाहरूबाट शिक्षालाई बालबालिकाको मौलिक हकको रुपमा स्थापित गरेको कुरा कस्तो ठ्याक्कै व्यवहारमा पाइएको । हाम्रो देश बहुसाँस्कृतिक बहुभाषिक बहुजातीय भौगोलिक विविधता रहेको मुलुक हो । सबै किसिमको फरकपनलाई सम्वोधन, सम्मान एवं आत्मवोध गरि सोही अनुसारका कार्यक्रमको छनोट एवं कार्यान्वयनको व्यवस्था मिलाउन नसकेसम्म शिक्षामा सवैको पहुँच सुनिश्चित गर्न सकिदैन । त्यसैले प्रत्येक विद्यालय समुदायलाई सबै किसिमका बालबालिकाहरुका आवश्यकतालाई स्वीकार एवं सम्मान गर्ने कार्यमा जिम्मेवार बनाउनका लागि समाबेशी शिक्षा पद्दतीलाई एक प्रमुख मार्गदर्शन एवं रणनीतिका रुपमा लिइएको हो भन्ने कुरा राज्यले बुझेको छ । मेरो राज्यले कस्तो राम्रो व्यवस्था गरेको । समावेशी शिक्षाका विषयमा शिक्षा मन्त्रालयले सरोकारवालाहरुको सहभागितामा २०५९ सालमा नेपालको सन्दर्भमा समावेशी शिक्षालाई परिभाषित गरेको छ , त्यसलाई पनि अक्षरस पालना गरेको ।

राज्य त सबैको मेरो जस्तो होस् समावेशी शिक्षा भन्नाले सबै बालबालिकाहरूकालागि विभेद रहित वातावरणमा बहुसाँस्कृतिक भिन्नतालाई सम्मान गर्ने, आफ्नै समुदायमा जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने शैक्षिक पद्धतिको विकास प्रक्रिया हो भन्ने बुझेको छ । यसले विद्यालयमा समुदायको स्वामित्वलाई महत्व दिँदै बालबालिकाको आवश्यकता अनुकुल उपयुक्त वातावरण र सहयोग पाएमा सबैले सिक्न सक्दछन् भन्ने मान्यतामा विश्वास गर्छ ।

समाहित शिक्षा पद्धतिले राष्ट्रिय एवं स्थानीय तहमा कुनै पनि परिस्थितिजन्य कारणले शैक्षिक अवसरबाट वञ्चित रहेका एवं विद्यालयमा रहेर पनि आवश्यकता अनुकुल उपयुक्त वातावरण र सहयोगको अभावमा विद्यालय छाड्ने खतरामा परेका बालबालिकाको पहिचान गर्नुका साथै सम्पूर्ण बालबालिकाको सामाजिक, साँस्कृतिक र शैक्षिक आवश्यकतालाई पुरा गर्ने बालकेन्द्रित शिक्षणसिकाइ प्रक्रिया अवलम्वन गर्न प्रोत्साहन गर्छ भन्ने कुरा मेरो राज्य व्यवस्थाले बुझेको छ ।

समावेशी शिक्षा सम्बन्धी केही मान्यताहरु छन्। साँच्चै यि मान्यता छन् नि ति पनि कार्यान्वयनमा ल्याएको छ ।
– सबै बालबालिकाको आफ्नै समुदायमा शिक्षा पाउने अधिकारको स्वीकृती ।
– सबै बालबालिकाले सिक्न सक्दछन् भन्ने धारणा र विश्वास ।
– समुदायिक÷स्थानीय संलग्नता र स्वामित्व ।
– सबै बालबालिकाको गुणात्मक शिक्षामा समतामुलक पहँुच ।
– अवसरको समानीकरण र समता ।
– बालबालिकामा भएको विभिन्नताको (लिङ्ग, जात, जाती, भाषा, अपाङ्गता, आदि) सम्मान ।
– सबै किसिमका बालबालिकाको आवश्यकता सम्बोधन गर्ने शैक्षिक संरचना, प्रणाली र विधिको सुनिश्चितता ।

‘लगातार परिमार्जन भइरहने गतिशील प्रक्रिया’ मेरो देशको शिक्षा मन्त्रालयले यसै भनेको त होइन । मेरो देशको कानुन जसलाई मैले पुजा गर्छु, सबैकुरा कानुनको अधिनमा रहेर गर्छु । यही कानुनले आज अपाङ्गता भएकालाई अधिकार दिएको छ । हुन त समावेशी शिक्षाका बारेमा नेपालको संविधान–२०७२ मा पनि कम व्यवस्था कहाँ छ र । जहाँ भनिएको छ :

– नेपालको संविधान– २०७२ को धारा ३१ (१) प्रत्येक नागरिकलाई आधारभुत शिक्षामा पहँचको हक हुनेछ ।
– धारा ३१ (२) प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिकसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
– धारा ३१ (३) अपांगता भएका र आर्थिकरुपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।
– धारा ३१ (४) दृष्टिविहिन नागरिकलाई ब्रेललिपी तथा बहिरा र स्वर वा बोलाईसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानून बमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ
– धारा ३९ बाल अधिकार अन्तर्गत असहाय, अनाथ, अपांगता भएका द्वन्द पीडित विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ ।
-धारा ४२(३) अपांगता भएका नागरिकहरुलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मान पूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ ।

यसरी मेरो देशको संविधानमा लेखे पछि नपाउने कुरा कहाँ हुन्छ र ? वौद्धिक अपाङ्गता भएको आप्mनो छोराले व्यवसायिक तालिम लिँदै गर्दासँगै बसेकी आमाको अनुहारको खुसीको कुनै सिमा थिएन । कान सुन्न र बोल्न नसक्ने छोरीलाई घर नजिकैको स्कुलमा पढाउन पठाएकोमा दङ्ग थिइन् । ह्वीलचियर लिएर विद्यालयमा जाँदै गरेको आफ्नो सन्तानलाई वाई गर्दै गरेकी आमाको बच्चा अपाङ्गता भयो भन्नेमा कुनै गुनासो थिएन । सबै सेवा सुविधा अरु सरह त छ नि मत ढुक्क छु कुनै गुनासो छैन । आहा मेरो देश म यही देशकी नागरिक भएकोमा यति खुसी थिएँ ।

यत्तिकैमा छोराले भन्यो ,‘मम्मी यता फकाईदिनुस् , म यता फर्किन्छु ’ म झस्याङ्ग भएँ । हिजो छोरालाई शौचालय लैजाँदा थचक्कै भएर पछाडिको भाग दुखेर हैरान थिए मज्जाले पटुका बाधेर तेलले मसाज गरि नदुख्खने औधषि खाएर सुतेको म, यि सबै कुरा त सपना पो देखिएको रहेछ । फेरि त्यही दैनिकी अब छोरोलाई कसरी विद्यालय पठाउने ? विद्यालयको संरचना अपाङ्गतामैत्री छैन ,उमेर बढ्दो छ । कसरी शौचालयसम्म आफै जान सक्ने होला म जस्तै धेरै आमाको समस्या हो यो सोंचे मैले देखेको सपना विपनामा भए त ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय