सडकमा फोहोर फ्याँक्नेलाई समुदायले नै अस्वीकृत गर्नुपर्नेमा जोड

Image
काठमाडौं–सार्वजनिक स्थल र सडकमा फोहोर फ्याँक्नेलाई समुदायले नै अस्वीकृत गर्ने अभियान शुरू गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । विगत ५ वर्षदेखि सञ्चालन भइरहेको ललितपुर चक्रपथ र मुख्य सडक सरसफाई तथा सुन्दरता अभियानको १९२औं कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो बताएका हुन्। ललितपुर महानगरपालिका वडा नं २ सानेपामा शनिवार आयोजित कार्यक्रममा ललितपुर महानगरपाालिका वडा नं. २ का अध्यक्ष राजेश महर्जनले ५ वर्षदेखि जनचेतना अभियान चलाउँदा पनि नसुध्रनेलाई स्थानीय समुदायले आफ्नो आफ्नो ठाउँबाटै त्यस्ता व्यक्ति पहिचान र समुदायमा अस्वीकृत र बहिष्कार गर्नुपर्ने बताए । कार्यक्रममा स्थानीय संघसंस्थाका प्रतिनिधि, सानेपा प्रहरी प्रभाग, स्थानीय बासिन्दा र विभिन्न सरोकारवाला समेत गरी ६० जनाको सहभागिता रहेको अभियानका फोकल पर्सन लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए। ललितपुर चक्रपथको बाहिरी ट्रयाकमा रहेको इन्द्रायणी हाईटदेखि शुरू गरेर बल्खु पुलतर्फको खण्डमा अभियानका क्रममा सफाई गरिएको थियो । सहभागीको टोलीले बिहान ७ः३० देखि ९ बजेसम्म धुलो उठाउने, जाम भएको माटो सफा गर्ने र फोहोर हटाउने काम गरेको थियो । सङ्कलन गरिएको करीब ५ टन फोहरलाई ट्रकद्वारा ढुवानी गरी व्यवस्थापन गरिएको थियो। कार्यक्रममा अभियानका सल्लाहकार एवं नेप्सेम्याकका अध्यक्ष टिकाराम दाहालले समुदायको सक्रियता र तदारुकता बेगर अभियानले मात्रै शहर सफा स्वच्छ र सभ्य नहुने बताउँदै स्थानीय समुदाय जागरुक हुनुपर्नेमा जोड दिए। दाहालले फोहोरमुक्त सडक र गल्लीहरू सभ्यताको प्रतिक भएकोतर्फ समुदायको ध्यान जानुपर्नेमा जोड दिएका थिए। यो अभियान २०७५ माघ १२ मा शुरू भई हरेक शनिवार बिहानको साढे एक घण्टा ललितपुरका सडक सफा गर्दै नियमित सञ्चालनमा छ । यो अभियान ललितपुरको फोहर व्यवस्थापनमा क्रियाशील ८ ओटा कम्पनीको संयुक्त आयोजनामा सञ्चालित छ । सरसफाई अभियानले ललितपुर चक्रपथलाई धुलोमुक्त मात्र नभै सौन्दर्य र सरसफाईको संरक्षण गर्ने सामूहिक दायित्वको स्मरण गराउने काम पनि गरेको अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले बताए । वातावरण संरक्षणप्रति समुदायको प्रतिबद्धताको प्रतिबिम्बको रूपमा र अन्यत्रसमेत यस्ता प्रयासको लागि सकारात्मक उदाहरणको रूपमा प्रस्तुत भइरहेको गेलालले बताए।
Tags: