मुगु सामूहिक हत्या घटना : पक्राउ परेका आरोपित दुई जना सार्वजनिक

Image
राज्यश्वोर मल्ल मुगु– मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको छायाँनाथरारा नगरपालिका–७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथरारा–६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई शुक्रवार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो। शाहीलाई कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगरबाट र बोहरालाई उनकै घर मन्दुबाट शुक्रवारै नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भिम ढकालले बताए । प्रहरीका अनुसार बोहराले हत्याको योजना बनाएका थिए । मृतकका श्रीमान् दीपक बोहरालाई राम्रो कमाइ गर्ने कतारस्थित कम्पनीमा आफूलाई भिसा पठाइदिन गोपालले आग्रह गरेका थिए । दीपकले सोही कुरा अस्वीकार गरेको रिसिईबीका कारण उनको परिवारको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराज शाहीलाई भेटी मृतकसँग १०÷१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका थिए । कात्तिक ५ गते सुर्खेतबाट हिँडेका गोर्खराज ६ गते मुगु पुगेका थिए । कात्तिक ७ गते हत्यामा आरोपित दुई जना स्थानीय एक सामुदायिक विद्यालयमा लुकीछिपि बसेका थिए । ८ गते राति ९ बजे उनीहरू मृतकको घर पुगी ढोका खोल्न लगाएर हत्या गरेका थिए । उनीहरूले खुकुरीले टाउको र घाँटीमा प्रहार गरेर श्रीदेवी बोहरासहित ४ जनाको हत्या गरेका थिए । मारिसकेपछि उनीहरूले मृतकसँग भएको १ थान मोबाइल, कानमा लगाएको रिङ, घाँटीको तिलहरी लुटपाट गरेका थिए । घटनापछि कात्तिक ९ गते गोर्खराज शाही मुगु र जुम्लाको सिमानासम्म पैदल हिँडेर त्यसपछि सुर्खेततर्फ बसमा भागेका प्रहरीको अनुसन्धानको क्रममा खुलेको डीआईजी ढकालले बताए । घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय मुगु, कर्णाली प्रदेश केनाईन शाखा खटिएका थिए । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी ढकाल पनि घटनास्थल मुगुमै खटिएका थिए । कात्तिक ८ गते घरमै २६ वर्षीया श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज‚ ६ महिनाका छोरा रहर र ७ वर्षीया छोरी अप्सराको शव भेटिएको थियो ।
Tags: