अन्तरजातिय विवाह गर्ने जोडीलाई १ लाख

Image
राज्यश्वोर मल्ल मुगु– मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडी लाई प्रोत्साहन स्वरुप १ लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देवीकृष्ण कामीको जोडीलाई अन्तर जातिय विवाह गरे वापत प्रोत्साहन रकम दिइएको हो। छाँयानाथ रारा नगरपालिकाको आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम अनुसार नगर प्रमुख स्वरोजगार कार्यक्रम अन्तरर्गत अन्तरजातिय विवाह गर्ने जोडीलाई पहिलो पटक प्रोत्साहन रकम उपलब्ध गराइएको हो । सोरु गाँउपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ वर्षीय देवीकृष्ण कामीबीच गत माघमा आपसी सहमतिमा विवाह भएको थियो। २ वर्ष लामो प्रेमसम्बन्ध पछि राजीखुसीलेआफूहरुले विवाह गरेको रञ्जिताले बताइन् । आफू नेपालगञ्जमा उपचार गर्न गएको बेला देवीकृष्णसँग चिनजान भएको र फोनमा कुरागर्दागर्दै प्रेममा परेको रञ्जिताले बताइन्। ‘दुबैको सहमतिमा भागेर माघ १३ आफनो घरमा विवाह भएको हो, दुबै जना खुसी छौं, अहिले माइतीमा पनि स्वीकार्नु भएको छ, ’ उनले भनिन्। ससुरालीले स्वीकार गरेको र आउन अनुरोध गरेकोले समय मिलाएर जाने योजना बनाएको देवीकृष्णले बताए । छायाँनाथ रारा नगरपालिकाले अन्तरजातिय विवाह गर्ने जोडीलाई १२ औं नगरसभामा दलित नीति पास गर्दै अन्तरजातिय विवाह गर्ने जोडीलाई १ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउने नीति पास गरेको थियो । ‘यसका बारेमा हामीलाई थाहा थिएन, थाहा पाएपछि निवेदन दियौं, रकम पाउँदा खुसी छौं,’ देवीकृष्णले भने । उनीहरुलाई नगरपालिकामा नगरप्रमुख विष्णुकुमार भामले प्रोत्साहन रकम हस्तान्तरण गरेका थिए। रञ्जिताले कक्षा १२ मा अध्ययन गर्दै रहेको र प्रोत्साहन रकम उनको उच्च शिक्षामा खर्चिने देवीकृष्णले बताए। सामुदयिक सद्भाव कायम गर्नुका साथै जातिय विभेद अन्त्यका लागि अन्तरजातिय विवाह गर्ने प्रत्येक जोडीलाई १ लाख रकम उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख भामले बताए । अन्तरजातिय विवाह गर्ने कामीको जोडीलाई नगर उपप्रमुख ऐश्वर्य मल्ललेले फूल माला लगाएर सम्मान गरेकी थिइन् ।
Tags: