
काठमाडौं– पत्रकार अमृतनाथ तिमल्सिनाको पुस्तक ‘समृद्धि सरोकार’ सार्वजनिक भएको छ। पुस्तकको शुक्रवार एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले ललितपुरमा लोकापर्ण गरेका हुन्।
विकाश पत्रकारिता, राजनीतिक र समाज विश्लेषणमा कलम चलाउँदै आएका तिमल्सिनाले फरक फरक विषयमा समृद्धिलाई केन्द्रमा राखेर पुस्तक प्रकाशनमा ल्याएका हुन्। उनको यो सातौं कृति हो ।
लोकापर्ण कार्यक्रममा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पुस्तकले सामाजिक संस्कृतिलाई बोक्ने उल्लेख गर्दै तिमल्सिनाको पुस्तकले समाजका हरेक पक्षलाई समेटेको बताए।
नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले लेखक तिमल्सिनाको पुस्तकले समृद्धिका सवालमा बहस सृजना गरेको र पुस्तकमा उठान गरिएका कुराले परिवर्तनलाई पछ्याएको बताइन् । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद सुनिता बरालले तिमल्सिनाले विद्यार्थीले राजनीतिसँगै विकास र समृद्धिका सवाललाई पनि अगाडि बढाउन प्रेरणा मिलेको बताइन्। बामपन्थी नेता माधव पौडेलले बामपन्थी आन्दोलनले समृद्धिलाई बिर्सिएको बेला तिमल्सिनाको पुस्तकको ती सन्दर्भलाई झक्झकाएको बताए ।
पत्रकार डिल्ली आचार्यले तिमल्सिनाले पत्रकारितामा विकासका सवालमा कलम चलाउँदै आएको र विकास पत्रकारितामा वकालत गरेको बताए । पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले तिमल्सिनाको पुस्तकले विकासका सरोकारलाई उठान गरेको यस अघिका उनका पुस्तकले पनि समृद्धिलाई उठान गर्दै मागदर्शन गरेको बताए।लेखक तिमल्सिनाले पुस्तकमा आफूले उठान गरेका विषय आफ्नो अनुभव, अध्ययन, विभिन्न सन्दर्भमा बहसको विषय बनेका विषयवस्तु र समृद्धिका सम्भावनाका क्षेत्रमा केन्द्रीत रहेको बताए।
पुस्तकमा शिक्षा, दिगो विकास, पत्रकारिता, आर्थिक सवाल, सहकारी, कम्युनिष्ट आन्दोलन, राजनीति, स्थानीय तह, स्वास्थ्य, एमसीसी, हाइट्रोजन लगायतका २७ वटा आलेख समेटिएको छ। पुस्तकको प्रकाशन अर्थ मिडिया ग्रुपले गरेको हो।