आफ्नै असक्षमता र दिशाहिनताले राजनीतिक दल संकटमा परे : नेता खनाल

Image
काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले नेपाली राजनीति दिशाहिन भएको बताएका छन्। पत्रकार अमृतनाथ तिमल्सिनाद्वारा लिखित ‘समृद्धि सरोकार’ पुस्तकको शुक्रवार ललितपुरमा आयोजित लोकापर्ण कार्यक्रममा नेता खनालले संकटमा रहेको राजनीतिक दल सच्चिनुपर्ने बताए। उनले दिशाहिन राजनीतिलाई जनताले पनि नपत्याउने अवस्थामा गएको बताए। ‘जनताले राजनीतिक दललाई जनताले पनि नपत्याउने अवस्थामा आएको छ, ’ उनले भने, ‘यसको कारण आफै भित्रको दिशाहिनता र असक्षमता हो, राजनीतिक दल अरुको कारणबाट नभइ आफैबाट तर्सिनुपर्ने बेला आएको छ ।’ उनले यो राजनीतिक संक्रमणबाट राजावादी सल्बलाउन खोजेको तर सफल नहुने बताए। उनले भने, ‘ रछ्यानमा फालिएका एजेण्डालाई बोकेर, ३० वर्ष मुलुकलाई बन्दक बनाउने राजावादी सल्बलाउन खोजेका छन्, तर सफल हुने नुसोंचे हुन्छ।’ उनले विचारका आधारमा वामपन्थी मिल्दा अचम्मको परिवर्तन भएको भन्दै अब पनि मिल्नुको विकल्प नरहेको बताए। उनले अर्थतन्त्र संकटमा परेको र सरकारको काम प्रभावकारी नभएको बताए। उनले भने, ‘भन्दा सरकार विरुद्ध बोल्यो भन्ने होेला, बास्तविकता जे हो, त्यो बोल्नुपर्छ, देश कहाँ जान्छ, डरलाग्दो स्थिति छ, बेलैमा जिम्मेवार भएर सोच्नुपर्छ।’ सोअवसरमा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले राज्यले शिक्षा र स्वास्थ्यलाई राज्यले पहिलो प्राथमिकता दिएर आफैमा जिम्मेवारी लिनुपर्ने बताइन्। ‘शिक्षा र स्वास्थ्यलाई संविधानमा पनि समेटिएको छ तर व्यवहारमा त्यसको महसूस भएको छैन,’ उनले भनिन्, ‘शिक्षा र स्वास्थ्य निःशुल्क भए मात्रै पनि धेरै कुरामा सुधार हुन्छ, तीनै तहका सरकारबाट यसमा पहल हुनुपर्छ ।’ उनले आर्थिक विषयको आधार कृषि भएको तर त्यसमा सुधार हुन नसकेको बताइन्। कृषिमा आत्मनिर्भर बन्दै जलस्रोत,पर्यटन, उद्योग लगायतमा सुधार भए समृद्धिको बाटोमा अगाडि बढ्न सकिने उनको भनाइ थियो। नेकपा एमालेकी केन्द्रीय सदस्य तथा सांसद सुनिता बरालले समृद्धिलाई मूल मुद्दा बनाउनु पर्ने बेला आएको बताइन्। उनले भनिन्,‘ अब निरास भएर बस्ने होइन, सबै मिलेर पहल कदमी अगाडि बढाउनुपर्छ ।’ सोअवसरमा पुस्तकका लेखक तिमल्सिना, बामपन्थी नेता माधव पौडेल, पत्रकार डिल्ली आचार्य, सागर न्यौपाने लगायतले धारणा राखेका थिए।      
Tags: