हजारौं सुविधा अनलाइनमार्फत भेट्न ‘मेरो रिजर्भेसन’

Image
काठमाडौ – पोल्याण्डमा एसएमएस सर्भिस फर यु कम्पनीले सुरु गरेको ‘मेरो रिजर्भेसन’ नेपालमा ‘मेरो रिजर्भेसन प्राली’मार्फत पनि सुरुवात गरिएको छ । बिहीवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा पनि कम्पनी दर्ता गरी आधिकारिक रूपमा सुरुवात गरिएको जानकारी दिइएको हो । मेरो रिजर्भेसन एउटा यस्तो प्लेटफर्म हो जहाँ हजारौं कम्पनीका रिजर्भेसन सम्बन्धी अनलाइन वेबसाइटहरू भेट्न सकिन्छ । कम्पनीहरूको ब्यानर वेबसाइट राख्न अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरेको बताइएको छ । मेरो रिजर्भेसनबारे जानकारी दिँदै संस्थापक मित्रलाल पार्धेले लाखौँ रुपैयाँ अनलाइनमा खेर गएको रकम आफ्नो देशमा भित्र्याउन सकिने र हजारौँ नेपालीहरूको अवसर हुने दाबी गरे । ‘मेरो रिजर्भेसनभित्र सयौँ बुकिङ वेबसाइटहरू छन् । सयौँ सपिङ वेबसाइटहरू छन् । सयौँ टुर प्याकेजहरू छन् । लाखौँ होटेलहरू खोज्न सकिन्छ,’ उनले भने, ‘सयौँ जहाजहरू विभिन्न अनलाइन वेबसाइट मार्फत खोज्न सकिन्छ । स्क्याइ स्क्यानर बुकिङ होटेल लुक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धीका सामान किन्ने वेबसाइट खोज्न सकिन्छ । हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाइटहरूले अनुमति पाएका छन् ।’ मेरो रिजर्भेसन विभिन्न कम्पनीहरूको वेबसाइट राखिदिने एउटा घर भएको पार्धेले बताए । १७ वर्ष देखि युरोपमा बस्दै आएका पार्धेले अनलाइनबाट परिवर्तन सम्भव छ स्वरोजगार सम्भव छ भन्ने देखेर करिब ४ वर्ष देखिको खोजी बाट आजको अवस्था आएको जानकारी गराएका थिए । छिट्टै एप्स लन्च गर्ने पनि जानकारी गराइएको थियो । यसको प्राविधिक पाटो बारे लङटेल मिडिया प्रालिका सफ्टवेयर विज्ञ विपिन बज्राचार्य र सुनिता शाक्यले जानकारी गराएका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै पर्यटन बोर्डका बजार प्रबन्धक लक्ष्मण गौतमले अब हरेक देशमा फ्रिल्यान्सरमार्फत मानिसहरूलाई स्वरोजगार बनाउने अभियान तीव्र हुने विश्वास व्यक्त गरे । कार्यक्रममा मेरो रिजर्भेसनका लागि नेपालका तर्फबाट ब्रान्ड एम्बास्डर नियुक्त भएका प्रसिद्ध गीतकार लोकराज अधिकारीलाई प्रमाण पत्र र सम्झौता पत्र हस्तान्तरण गरिएको थियो । उक्त प्लेटफर्म मार्फत शून्य लगानीमा स्वरोजगार बन्न सकिने अर्थोपार्जन मार्फत दैनिकीलाई सहज बनाउन सकिने नवीनता सोच भित्र्याएका कारण आफू जोडिएको अधिकारीले बताएका थिए । गीतकार अधिकारीले मेरो रिजर्भेसनको प्रचारात्मक गीत पनि लेखेका हुन् । कार्यक्रममा इनास युरोपका संयोजक प्रकाश तिवारी,चलचित्र निर्देशक ऋषि लामिछाने, हब रेमिटका सिईओ राम बेल्वासे लगायतले मेरो रिजर्भेसनको सफलताको शुभकामना दिँदै यसको प्रचार प्रसार सबैतिर पुगेमा नेपालमा आर्थिक क्रान्तिमा मद्दत पुग्ने भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी दयाराम पाण्डेले गरेका थिए । सहभागीले राखेका जिज्ञासाको जवाफ संस्थापक पार्धे र प्रबिधिक पाटो हेरिरहेका बज्राचार्यले दिएका थिए ।
Tags: