किसानलाई अलैंची भित्र्याउने चटारो

Image
ताप्लेजुङ– ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले मध्यभागमा अलैंची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ । अलैंची सङ्कलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए । अलैंची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए । मुख्य याम भएकाले चाडपर्वमा पनि अलैंची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए । तिहार अलैंची बगानमै मनाउने उनको योजना छ । फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैंची टिप्न, छोडाउन र सुकाउनमै दसैँ बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैंची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उहाँले बताउनुभयो । अलैंची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैंची भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती गर्दै आएका छन् । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । ताप्लेजुङमा प्रतिमन (४० किलो) खलैँची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ । अलैंची बगानमा रोजगारी फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैंची बगानमा पूर्ण राई अलैंची टिपाइमा व्यस्त छन् । उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैंची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन्। दसैँ सकेलगत्तै राई घरबाट निस्किएका हुन् । बिहान उठेपछि अलैंची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्कन्छन्। उन साँझ–बिहानको खाना खाजा पनि अलैंची बगानमै खान्छन् । बिहान र दिनभरि टिपिएको अलैंचीको थुङ्गा बगान नजिकै रहेको अलैंची सुकाउने भट्टीमा जम्मा गर्छन्। दिनभरि टिपिएको अलैंचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ । पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैंची टिप्न फुङ्लिङ पुगेका हुन्। गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैंची बगानमा आइपुगेको नरप्रसाद राईले बताउँछिन् । उनी तिहारसम्मै बगानमै बसेर अलैंची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त हुनुहुन्छ । देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैंची बगानमा रोजगारी गर्न थालेका हुन् । अलैंचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन रू. ५०० देखि रू.७०० सम्म ज्याला दिने गरेका छन् । रासस
Tags: